पोखरा बसपार्कका सुकुम्बासीले शुरु गरे आन्दोलन

- घण्टीमा हालेको भोट फिर्ता गर्न माग


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख २१

पोखरा बसपार्कका सुकुम्बासी आन्दोलित भएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा अनधिकृत रुपमा बनाइएका घर, टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि विरोधमा उत्रिएका पोखरा बसपार्कका सुकुम्बासीले सोमबार प्रदर्शन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाउन निस्केका उनीहरुले महानगर घेराउ गर्नुका साथै महानगर र सरकारबिरुद्द नारासमेत लगाए ।

पोखरा–८ सहिदचोकमा भेला भएका उनीहरुले वैकल्पिक व्यवस्था नगरी सार्वजनिक जग्गामा रहेका सुकुम्बासीका घर, टहरा नभत्काउन आग्रह गर्दै सुरुमा कास्की प्रशासनमा पुगेर ज्ञापन पत्र बुझाएका थिए । त्यसपछि वाईचोक, रत्नचोक, पृथ्वीचोकहुँदै नयाबजारस्थित महानगरको कार्यालय पुगेर घेराउ गरेका थिए । महानगर प्रमुख धनराज आचार्य कार्यालयमा नभेटिएपछि उनीहरुले प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई ज्ञापन पत्र बुझाएका उनीहरुले करीब एक घण्टा महानगर अगाडि नाराबाजीसहित धर्ना दिए ।

नाराबाजीका क्रममा उनीहरुले सरकारसँग भोट फिर्ता मागेका छन् । उनीहरुले ‘बालेन सरकार चाहिंदैन, गरीब मार्न पाईंदैन’, ‘चाहिंदैन, चाहिंदैन, बालेन सरकार चाहिंदैन’, ‘बालेन तेरो पाराले, दुःख पाए साराले’, ‘हाम्रो भोट फिर्ता गर’, ‘हामीलाई झुठो बोल्न आउँदैन, अर्कोपटक घण्टीले भोट पाउँदैन’, ‘३५ दिने सूचना खारेज गर’, ‘सुकुम्बासीमाथिको ज्यादती बन्द गर’, ‘डोजर आतंक बन्द गर‘, लगायतका नाराहरु लगाएका थिए ।

बालेनप्रति आशावादी भएर घन्टीमा भोट हालेको तर अहिले बालेनको नेतृत्वमा रास्वपाको सरकार बनेपछि सुकुम्बासीलाई लखेट्ने, डोजर आतंक मच्चाउने र गैरनागरिकजस्तो व्यवहार भएको भन्दै उनीहरुले आफूहरुको भोट फिर्ता गर्न माग गरे । नाराबाजीपश्चात धर्नामा बसेकाहरुलाई सम्बोधन गर्दै सुकुम्बासी नेता अर्जुन मल्लले विकासको आशमा देशभरका ४० लाख सुकुम्बासीले विश्वास गरेर घण्टीमा भोट हालेको बताए । तर अहिले तिनै सुकुम्बासीलाई लखेट्ने, उनीहरुको घरटहरामा डोजर चलाइएको बताउँदै उनले भने,‘हामीलाई यस्तो सरकार चाहिंदैन । हाम्रो भोट फिर्ता दिइयोस् ।’

भुमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले सुकुम्बासीको भोट पाएर जितेको बालेन र रास्वपाले अहिले आएर तिनै सुकुम्बासीलाई लात हानेको आरोप लगाए । भुमिहीन तथा सुकुम्बासीको पक्षमा काम गर्छ, विकास गरेर देशको मुहार फेर्छ भनेर पो भोट दिएका हौं,उनले भने,‘तर हामीबिरुद्ध नै आईलागेपछि अब जाईलाग्नुको विकल्प छैन ।’ उनले वैकल्पिक व्यवस्था गर्ने हो भने बसपार्क क्षेत्र छोड्न तयार रहेको बताए । तर डोजर आतंक मच्चाएर जबरजस्ती घर, टहरा भत्काए आफूहरु पनि चुप लागेर नबस्ने उनको चेतावनी थियो ।

पोखरा बसपार्क क्षेत्रमा करीब साढे चार सय सुकुम्बासी रहेको बताईन्छ । जहाँ केहिले निस्सासमेत पाइसकेका छन् । पोखराको पृथ्वीचोक नजिकै पोखरा बसपार्क बनाउन २०३२ सालमा २०५ रोपनी जमिन अधिग्रहण गरिएको थियो । तर विभिन्न समयमा त्यहाँ सुकुम्बासी बस्दै जाँदा अहिले २६ रोपनीमा मात्रै बसपार्क छ । बाँकी जमिन सुकुम्बासी र अनयले ओगटेका छन् । स्थानिय सुकुम्बासी बसपार्कको एक चौथाई जमिन दुषित रुपमा व्यक्तिको नाममा दर्ता गरेर लालपूर्जा लगेर महल ठड्याएको दाबी गर्छन् । त्यसैले सुकुम्बासी बस्ती हटाउनुपूर्व ती दुषित जग्गामा बनेका बहुतले भवन र घर भत्काउनुपर्ने उनीहरुको अडान छ । उसो त त्यहाँ पञ्चरत्न आयल स्टोर्स, बास्तोला कम्प्लेक्सलगायत पनि २०५ रोपनी क्षेत्रफलमै बनेका संरचना हुन् । यी पनि भत्काएर बसपार्क निर्माण गरिनुपर्ने संघर्ष समितिका सल्लाहकार ओमबहादुर पौडेलले बताए । ‘उनीहरुको जोगाएर सुकुम्बासीको मात्रै घर भत्काउने कुरा कदापी स्वीकार्य हुँदैन । यस्तो भएमा हामी आफै ती संरचना भत्काउँछौं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।