सन्देश श्रेष्ठ
पोखरा, साउन २५
गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानविन हुने भएको छ । गखेपले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतोको छानविन गर्न गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ३ सदस्यीय छानविन समिति बनाएको हो ।
मन्त्री स्तरीय निर्णयले बनेको छानविन समितिको संयोजकमा मन्त्रालयका सचिव डा.शेषनारायण पौडेल रहेका छन् भने सदस्यमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला रहेको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले जानकारी दिईन् । छानविन समितिलाई ५ दिनको समय दिइएको छ । छानविन समितिलाई छिटोभन्दा छिटो छानविन गरेर प्रतिवेदन बनाउन भनिएको छ,मन्त्री गुरुङले भनिन्,‘त्यसका लागि कार्यादेश बनिरहेको छ ।’
पदक वितरणमा भएको अनियमितताबारे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि ध्यानाकर्षण भएको मन्त्री गुरुङले बताईन् । उहाँकै निर्देशनमा छानविन समिति बनेको हो,उनले भनिन्,‘पदक वितरणमा भएको अनियमिततालगायत सबै विषयमा छानविन गर्न भन्नुभएको छ । सोहि अनुसार छानविन समिति बनाएका छौं ।’
छानविन समितिका संयोजक तथा मन्त्रालयका सचिव शेषनारायण पौडेलले साउन २९ गते सम्मको म्याद राखेर छानविन गर्न जिम्मेवारी दिएको जानकारी दिए । यद्वपी समितिको कार्यादेश बन्ने क्रममा रहेको उनको भनाई छ । हामीलाई दिइएको समयसीमा भित्र छानविन गर्ने प्रयास गर्छौं,उनले भने,‘पदक वितरणको कार्यविधी हेरेर सो अनुसार भएनभएको, पदक सिफारिस गर्दा अप्नाएको पारदर्शितालगायतबारे सबै केलाएर प्रतिवेदन तयार गर्छौं ।’
सेटिङमा पदक वितरण गरेको आरोप लागेका शर्मा भने यता छानविन समिति बनेपछि काठमाडौं हान्निएका छन् । छानविन समितिलाई सहयोग गर्नुको सट्टा उनी दशौं राष्ट्रिय खेलकुदको बैठकमा सहभागी हुन भन्दै काठमाडौं गएका हुन् । साउन २८ गते बस्ने बैठकमा सहभागी हुन उनी ४ दिन अघि नै काठमाडौं गएपछि मन्त्री रेखा गुरुङले चासो राखेकी छन् । मन्त्री गुरुङले आफैले फोन गरेर पदक वितरणमा भएको लापरवाही र मिलेमतोको विषय चर्किरहेका बेला त्यसको समाधानमा खटिन छाडेर किन काठमाडौं गएको भनेर सोधेको बताएकी छन् । ‘जवाफमा केहि पनि नबोली फोन काट्नुभयो’–उनले भनिन् । तर छानविन समिति बनेपछि सदस्य सचिव निलम्वनमा पर्छन् कि पर्दैनन् भन्ने अन्यौल देखिएको छ । त्यसबारे मन्त्री परिषदले नै निर्णय गर्नुपर्ने समितिका एक सदस्यले बताए ।
गखेप सदस्य सचिव श्रीधर शर्माले सेटिङमा पदक वितरण गरेको आरोप लागेको छ । उनले पदक सिफारिस समितिको निर्णय विपरित पदक वितरण गरेको, आफ्नो मान्छेलाई पदक दिएको, कार्यविधि विपरित पदकसँगै रकमसमेत वितरण गरेकोलगायतका आरोप लागेको छ ।
गखेपले वितरण गरेको पत्रकारितातर्फको पदक गखेपका वर्तमान सल्लाहकार तथा संघसंस्था समन्वय उपसमिति संयोजक केशव पाठकलाई प्रदान गरिएको छ । पदक सिफारिस समितिका आमन्त्रित सदस्य पाठकले आफैलाई पदक सिफारिस गरेर पदक लिएका हुन् । उनले जुन आर्थिक वर्ष २०८१÷८२ को पदक लिएका छन् त्यो वर्ष उनी गखेपको बोर्ड सदस्य तथा निमित्त सदस्य सचिवसमेत भएका थिए । सदस्य सचिव श्रीधर शर्मा चीन भ्रमणमा गएका बेला पाठक निमित्त सदस्य सचिव बनेका थिए ।
त्यतिमात्र होईन पदक सिफारिस समितिका आमन्त्रित सदस्य द्वय हरि पराजुली र चित्रबहादुर थापालेसमेत आफ्नो संघलाई पदक दिलाएका थिए । पराजुलीले आफू निवर्तमान अध्यक्ष रहेको भूतपूर्व खेलाडी मञ्च र थापाले आफू अध्यक्ष रहेको ह्याण्डबल संघलाई पदक दिलाएका हुन् ।
पदक सिफारिस समितिका संयोजक तथा सदस्यहरुले आफूहरुले पदक वितरणका लागि कसेको नाम पनि सिफारिस नगरेको जिकीर गर्दै आएका छन् । तर सदस्य सचिव शर्माले भने सिफारिस समितिकै आधारमा पदक वितरण गरेको दाबी गर्दै आएका छन् । उनले सिफारिस समितिको निर्णय पुस्तिकामा ंयोजकसहित अन्य सदस्यहरुको हस्ताक्षर रहेको दाबी गर्दै देखाउने गरेका छन् । तर सिफारिस समितिका संयोजक मदन केसीलगायतले त्यसलाई अस्वीकार गर्दै आएका छन् । संयोजक केसीले आएका आवेदनहरुको प्रारम्भिक छनौट गरेर थप आवेदन माग्न सुझाव दिएको बताए । हामीले आवेदन थप गर्न दिएको सुझावलाई निर्णयमा नलेखी पदक वितरण गर्ने भनेर लेख्न लगाएछन्,उनले थपे,‘कित त्यो निर्णयमा गरेको हस्ताक्षर किर्ते हो, कि चाहिं पहिल्यै हस्ताक्षर गर्न लगाएर सदस्य सचिव शर्माले आफू अनुकुल निर्णय लेखेका हुन्, यसको छानविन हुनुपर्छ ।’
गखेप सदस्य सचिव शर्माले जेनजी आन्दोलनका बेला पदक सिफारिस समितिको बैठक बसेको भनेर अनौठो दाबी गर्दै आएका छन् । देशभर जेनजी आन्दोलन चलेको दिन भदौ २३ गते पहिलो बैठक बसेको तथा भदौ २४ गतेको तोडफोड र आगजनीपश्चात देशभर कफ्र्यु लागेको दिन भदौ २५ गते दोस्रो बैठक बसेको उनको दाबी छ । उनको दाबीमा स्वयम् पदक सिफारिस समितिका संयोजक तथा सदस्यहरु सहमत छैनन् । पोखरासहित देशभर कफ्र्यु लाग्नुका साथै गखेपको कार्यालय रहेको पोखरा रंगशाला बन्द रहेका दिन बैठक बस्नै नसक्ने उनीहरुको जिकीर छ । तर माईन्यूट पुस्तिकामा हस्ताक्षर देखेपछि उनीहरु आफै चकित् परेका छन् ।
उसो त पदक वितरणमा भएको गल्ती सदस्य सचिव शर्माले स्वीकारी सकेका छन् । गत विहीबार बोलाइएको पदक सिफारिस समितिको बैठकमा शर्माले गल्ती स्वीकार्दै माफी मागेको पदक सिफारिस समितिका संयोजक मदन केसी, सदस्यहरु हरि पराजुली र चित्रबहादुर थापाले बताएका हुन् । उनले पदक वितरणमा गल्ती भएको प्रति माफी मागेर पुनः गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाउँदै २०८२÷८३ को पदक सिफारिस समितिमा पुरानै सदस्य तथा संयोजक दोहो¥याउने भनेर फकाउने प्रयास गरेका थिए । जसलाई पदक सिफारिस समितिका सदस्यहरुले स्वीकारेर ‘हामी मिल्यौं’भन्न थालेका छन् । सोहि दिन पत्रकारसँग कुरा गर्दै संयोजक केसीले भनेका थिए,‘सदस्य सचिव ज्यूले माफी मागेर गल्ती नदोहो¥याउने भन्नुभयो, पुरानै पदक सिफारिस समितिलाई निरन्तरता दिने भनेपछि कुरा मिल्यो ।’
पदक वितरणमा भएको सेटिङ मात्र होईन, आर्थिक अनियमितता भएको पनि आशंका बोर्ड सदस्यहरुले गरेका छन् । पदक प्राप्त गरेका केशव पाठकले नै पदक खरिद गरेर ल्याएको, पदक खरिदमा कमिसन खाएको मात्र होईन, पदक लिन जाँदाको दैनिक भत्ता (यातायात, खाना र बस्ने) खर्चसमेत कुम्ल्याएको स्रोतको दाबी छ । यसबारे पनि छानविन हुने छानविन समितिका एक सदस्यले बताए । उनले भने,‘यी सबै कुराको हामी छानविन गर्छौं ।’
गखेपले खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा साही, आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, अन्र्तराष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन, असिम शेरचन, क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु र संघसंस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई २०८१÷८२ को खेलकुद पदक वितरण गरेको थियो । त्यसबाहेक सर्वोत्कृष्ट प्रदेश खेलबाट गण्डकी प्रदेश टेनिस संघलाई नगद १ लाख २० हजारसहित सम्मान गरिएको थियो भने गण्डकी प्रदेश ह्याण्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघलाई उत्कृष्ट खेल संघ घोषणा गर्दै नगद ९०÷९० हजारसहित सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लम्जुङ–पोखरा सम्पर्क समितिको ३३ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ…






