टान गण्डकीमा नयाँ नेतृत्व सर्वसम्मत बनाउने प्रयास


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०८३ मा प्रकाशित




पोखरा। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सर्वसम्मतिको प्रयास भइरहेको छ। अध्यक्ष कृष्णप्रसाद आचार्यले बुधबार दिउँसोसम्म सर्वसम्मत नेतृत्वको खाका तयार हुने सम्भावना रहेको बताए।
उनका अनुसार अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीको दाबी छ। त्यस्तै, प्रथम उपाध्यक्षमा वर्तमान द्वितीय उपाध्यक्ष मोहनप्रसाद सुवेदी र द्वितिय उपाध्यक्षमा वर्तमान महासचिव गोपालप्रसाद संग्रौलाले दाबी गरेका छन्। वर्तमान सहसचिव भूपेन्द्र कुमार लामाले सचिव, वर्तमान कार्यसमिती प्रकाश पौडेलले सह-सचिब र चन्द्रबहादुर भुजेलले कोषाध्यक्ष पदमा दाबी गरेका छन्।
‘नयाँ नेतृत्व सर्वसम्मत बनाउन हामी रातदिन खटिएका छौँ। सम्भवतः आज दिउँसोसम्ममा सर्वसम्मत नेतृत्वको खाका तयार हुनेछ,’ अध्यक्ष आचार्यले भने।
टान गण्डकीको ३३औँ वार्षिक साधारणसभा तथा १९औँ अधिवेशन बुधबार पोखरा–६, लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा हुँदैछ। अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
टान गण्डकी गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सक्रिय अग्रणी संस्थामध्ये एक हो। संस्थाले पछिल्लो समय दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको छ। कोभिड महामारीपछि ट्रेकिङ क्षेत्रमा दक्ष कामदारको अभाव देखिए पनि संस्थाले सञ्चालन गरेका निरन्तरका तालिमपछि अहिले त्यस्तो अभाव कम भएको छ।
संस्थाले नयाँ ट्रेकिङ गन्तव्यको पहिचान तथा प्रवर्द्धन, पदमार्गको संरक्षण र संवर्द्धन तथा बिग्रिएका ट्रेकिङ रुटको मर्मतसम्भार गर्दै आएको छ। पदमार्गको संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काममा पनि संस्था सक्रिय छ।
अध्यक्ष आचार्यको नेतृत्वमा टान गण्डकीले संस्थाका पूर्वअध्यक्ष हरि भुजेललाई पोखरा पर्यटन परिषद्को अध्यक्ष बनाउनसमेत सफल भएको थियो। पोखरा पर्यटन परिषद् गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूको छाता संस्था हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।