ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी चयन भएका छन । टान गण्डकीको बुधबार पोखरामा सम्पन्न ३३ औं साधारण सभा तथा १० औं अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा सर्वसम्मत निर्वाचित सुवेदी निवर्तमान प्रथम उपाध्यक्ष हुन् ।
समितिको प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण संग्रौला, सचिवमा भुपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल सर्वसम्मत निर्वाचित भए ।
त्यस्तै, सदस्यहरुमा बलराम दाहाल, भुपेन्द्र गौतम, अजयराज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल चयन भएको निर्वाचन समितिका संयोजक डम्बरबहादुर के.सीले जानकारी दिए । समितिको दुई सदस्य मनोनयन गरिने निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
यसअघि अधिवेशनको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले टान गण्डकी देशकै उत्कृष्ट संस्था भएको बताए । यहाँको पर्यटन र ट्रेकिङ व्यवस्थापन देशकै नमूना भएको बताउँदै उनले भने,‘दोस्रोमा बल्ल कोशी र बागमती पर्छ ।’ उनले टिम्स छिट्टै कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए । टिम्सको कानूनी आधार नभएकाले त्यसलाई आवश्यक पर्ने कानून संसोधन गरेर कार्यान्वयनमा लगिने उनको भनाई थियो ।
टानका केन्द्रीय अध्यक्ष सागर पाण्डेले टिम्स कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताए । पर्यटन वोर्डको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उनले भने,‘पर्यटन वोर्डको भूमिका भनेको पर्यटन प्रवद्र्धन गर्नु हो, तर पर्यटन वोर्ड अहिले पूर्वाधार निर्माणमा लागेको छ, यो उसको काम होईन ।’। नेपाल पर्यटन बोर्डका कार्यकारणी सदस्य सन्तोष पोखरेलले नयाँ सरकारले नयाँ सोचका साथ पर्यटनमा पनि काम गरिरहेको बताए । पर्यटनलाई माथि उकास्न पर्यटन बोर्डले विशेष पहलकदमी लिइरहेको बताउँदै उनले सहकार्यका कुनै पनि क्षेत्रमा पर्यटन बोर्ड हरहमेसा साथमा रहेको बताए
पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले सबै मिलेर पर्यटनलाई चलायमान गराउनुपर्ने बताए । सरकार, पर्यटन वोर्डसहित पर्यटनसँग सम्बद्ध संघसंस्थाले एकताबद्ध भएर आपसमा हातेमालो गर्दै अगाडि बढेमा मात्र सफलता मिल्ने उनको भनाई थियो । साथै उनले फ्लाई दुबईले पोखरा–दुबई उडान सञ्चालन गर्दा पोखरेली पर्यटन व्यवसायीहरुले सक्दो सहयोग गरिरहेको तर सरकारले भने वास्ता नगरेको गुनासो गरे । पोखरा–दुबई उडान सफल बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने उनको भनाई थियो ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले टिम्स अनिवार्य लागू गरिनुपर्नेमा जोड दिए । पर्यटकको सुरक्षा र राजस्वको सवाल भएकाले टिम्स अनिवार्य लागू गरिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा टान गण्डकीका पूर्व अध्यक्षहरुलाई दोषल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो भने पत्रकारितामार्फत योगदान दिने तीन पत्रकारलाई पनि सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २८ असोज । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा २ जना सदस्य…







