गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्वित,निर्देशन उल्लङ्घन गरेको आरोप


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८३ मा प्रकाशित




सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एन प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्वन गरेको छ ।

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा २ बमोजिम उक्त संस्थाको गतिविधि निलम्वन गरिएको जनाएको हो । मन्त्रालयले जारी गरेको सूचनाअनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिइ सञ्चालनमा रहेको एन प्याब्सनले ऐनको दफा ५ बमोजिम मन्त्रालयबाट जारी निर्देशन पटकपटक पालना नगरेको तथा संस्थाका पदाधिकारीले स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका कार्य गरेको पाइएको छ ।

सो विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षसँग गत असोज २३ गते छलफल गरी ऐन तथा मन्त्रालयबाट २०८३ मङ्सिर १२ गते जारी निर्देशनबमोजिम कार्य गर्न आग्रह गरेको थियो । सो आग्रहबमोजिम कार्य गरेको नदेखिएकाले ऐनको दफा ५ बमोजिमको निर्देशन पालना नगरेको भन्दै दफा ६ को उपदफा २ अनुसार अर्को निर्णय नभएसम्मका लागि संस्थाको गतिविधि निलम्वन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी भएपछि उक्त संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत स्पष्ट पारेको छ । सो सङ्गठनमा विवाद उत्पन्न भएपछि सुवास न्यौपाने र गीता राणा क्षेत्री नेतृत्वका समानान्तर कार्यसमिति सञ्चालित भएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।