कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अर्घ दिई चारदिने छठ समापन


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०८३ मा प्रकाशित




सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । छठ समापनपछि आज छठ घाटमा प्रसाद वितरण गरिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछाने दम्पतीले गङ्गासागरस्थित छठघाटमा आइतबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

यसैबीच, आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै चार दिनसम्म मनाइने यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो ।

दुई दशकअघिसम्म पूर्वी तराई मधेसका केही जिल्लामा मात्र मनाइने छठ पर्व देशव्यापी बनेपछि यस वर्षदेखि कार्तिक शुक्ल सप्तमीका दिन आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ । यो पर्वमा सबै धर्मावलम्बीका साथै समुदाय पनि सहभागी हुने क्रम बढेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।