मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०८३ मा प्रकाशित




हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीधाम पुगेपछि सम्पन्न भएको छ ।

मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यको सत्सङ्कल्पमा कात्तिक ८ गतेबाट सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए । “देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ । उक्त जल गण्डकीमा अर्पण गर्नेछौँ”, प्रवक्ता प्रपन्नाचार्य भने । उनका अनुसार रथयात्राको स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।

रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु भएको छ । महायज्ञको पहिलो दिन बिहान गौशालामा सामूहिक गौपूजा, गण्डकी पूजन र बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिएको प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए । कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्नेछ । त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ । बिहान दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिएको छ । मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान गरिने बताए ।

“प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएका आत्माहरूको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको हो”, उनले भने । उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गरे । सो विराट महायज्ञको एक उद्देश्य नेपालमा वैदिश विश्वविद्यालय स्थापना गर्नु पनि रहेको स्वामी कमलनयनाचार्यले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।