सन्देश श्रेष्ठ
पोखरा, मंसिर १
पर्यटनको राजधानी पोखरादेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्म विश्व शान्ति ध्यानमय पदयात्रा हुने भएको छ । विश्व शान्तिको कामना गर्दै मानिसको मनमा शान्ति, प्रेम, करुणा र सकारात्मक चेतनाको विकास गर्ने उद्देश्यसहित २ सय २० किलोमिटर लामो पोखरा–लुम्बिनी विश्व शान्ति ध्यानमय पदयात्रा हुने भएको हो । पोखरा–२३ बराङबाट मंसिर ३ गते विहीबार शुरु हुने पदयात्रा मंसिर १२ गते लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर समापन हुने मनोक्रान्तिका प्रवर्तक तथा डा.योगी विकासानन्दले जानकारी दिए ।
विकासनन्द फाउन्डेसन विश्व परिवारको आयोजनामा हुने पदयात्रामा ४५जना पदयात्रीहरु सहभागी हुने जनाइएको छ । बराङस्थित आश्रममा बस्दै आएका १५ साधक÷साधिका तथा यसअघि साधना गरिसकेका ३० जना गरेर कुल ४५ जना साधक÷साधिका पदयात्रामा सहभागी हुने डा.योगीले जानकारी दिए । ‘आफ्नो लागि साधना, अरूका लागि सेवा’ भन्ने नारासहित पोखरा–लुम्विनी विश्व शान्ति ध्यानमय पदयात्रामा १४ वर्षिय बालकदेखि ७८ वर्षिया बृद्धा आमासम्म सहभागीता हुनेछन्–उनले भने ।
१० दिन लामो पदयात्राका लागि तालिका तय भइसकेको पदयात्रामा सहभागीसमेत रहेका योग प्रशिक्षक डिलाराम लामिछानेले जानकारी दिए । उनका अनुसार बराङबाट शुरु हुने पदायात्रीलाई पोखरा विरौटामा एक औपचारिक कार्यक्रम गरेर विदाई गरिएपछि स्याङ्जाको मुडीखोलामा पुगेर बास बस्नेछ । दोस्रो दिन मुडीखोलाबाट शुरु हुने पदयात्रा छ्याङ्छ्यााङ्दी मन्दिर, ५ गते वालिङको भकुण्डे, ६ गते मालुङ्गा उत्तरवाहिनी क्षेत्र, ७ गते आर्यभञ्ज्याङ र ८ गते ओशो ध्यान केन्द्र प्रभास पुग्ने उनले जानकारी दिए । मंसिर ९ गते प्रभासबाट शुरु हुने पदयात्रा सो दिन पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, १० गते बुटवलबाट भैरहवा, ११ गते भैरहवाबाट लुम्बिनी र १२ गते लुम्बिनीमा पुगेर विशेष कार्यक्रम हुने उनले बताए ।
पदयात्राका क्रममा पदयात्रीले आफ्नो हिंडाईको चाल, स्वासप्रस्वासको चालमा ध्यान गर्दै पदयात्रा गर्नेछन् । त्यसबाहेक ठाउँठाउँमा विभिन्न स्थानमा योग, ध्यान र विशेष प्रवचनसमेत सञ्चालन हुने सह–संयोजक खगेन्द्र पराजुलीले जानकारी दिए । विशेष प्रवचनमा डा.योगीले विशेष प्रवचन दिने उनले बताए ।
अन्तिम दिन मङ्सिर १२ गते दिउँसो ३ बजे लुम्बिनीमा विशेष ध्यान तथा विश्व शान्ति दीप प्रज्वलन गरी पदयात्राको औपचारिक समापन गरिने डा.योगीले जानकारी दिए । पछिल्लो समय मानिसमा बढ्दै गएको मानसिक तनाव, चिन्ता, भय, निराशा, एक्लोपन, अनिन्द्रा र भावनात्मक असन्तुलनलाई ध्यानको माध्यमबाट जीवनमा खुशी ल्याउनु पदयात्राको प्रमुद्ध उद्धेश्य रहेको उनको भनाई छ । मानिसले बाहिरी सुख, सुविधा र समृद्धि प्राप्त गरे पनि मनमा शान्ति नहुँदा जीवनमा वास्तविक आनन्द अनुभूति गर्न सक्दैन,उनले भने,‘त्यसैले मनलाई बुझ्ने, विचारलाई नियाल्ने, भावनालाई स्वीकार गर्ने र वर्तमान क्षणमा सचेत रहने अभ्यासले व्यक्तिको जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सक्छ । त्यसका लागि योग र ध्यान आवश्यक छ । ध्यानका लागि पदयात्रा महत्वपूर्ण भएको प्रत्येक वर्ष हामीले आयोजना गर्दै आएका छौं ।’
विकासनन्द फाउन्डेसन विश्व परिवारले पोखरा–२३, बराङस्थित मनोक्रान्ति आश्रम सञ्चालनमा ल्याएको छ भने यहाँ योग र ध्यान सञ्चालन हुँदै आएको छ । आश्रममा चारमहिने ’मनोक्रान्ति इन्लाइटेन्मेन्ट इन्टेन्सिभ कोर्ष’, गाभा मेडिटेसन शिविर, विभिन्न तहका योग तथा ध्यान प्रशिक्षण, हिप्नोसिस मास्टर क्लास, सुपर लर्निङ, मनोक्रान्ति स्मार्ट योग र महाकुण्डलिनी ध्यान साधनालगायत कार्यक्रम सञ्चालन हुँदै आएको डा.योगीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १ मंसिर । तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको…







