चित्र भित्रको आगो


     सुमन थापा "सङ्गम"    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




आँखा छोपेर न्यायमुर्ति हुनु ,
गान्धारी बन्नु जस्तो मात्रै हो भने ,
पहाडको छाती चिरेर निस्कने ज्वालामुखीले 
ढुङ्गा माटो मात्र जलेर बग्नु हो भने..

प्रलयको विध्वंस-
पानी जलाएर आगो हुनु हो 
रातमा सुतेको सूर्यलाई बिउँझाएर आगो बाल्नु हो
म त्यही आगो भएर 
जलेको लाश हुँ 
म त मरें एकपटक 
मरि नै गएँ तर ….।

सहनशीलताको बाँध फुटेर आगो भएकी छु
क्यानभासको चित्र भित्रको आगोले जलेर 
खरानी भएकिछु
मृत्यु हुनु- 
तिमीबाट टाढा हुनु मात्र होइन
तिम्रा खुनी हातहरूलाई चिनाउन 
धर्तिमा उभिन नसक्नु मात्र होइन

हेरिरहेछु-
उखुबारीको झाडीबाट उखुकै डाँठ भएर/ पात भएर
उम्कन खोज्दा मडारीएको भुइँ भएर ।

तिमी जिउँदो मरिरहेछौ,
स्वतन्त्र कैदी भएर मरि रहेछौ ,
उमंग बिहिन बाँचेर मरि रहेछौ,
पलपल मरिरहेछौ,
कुनै धर्मग्रन्थ/ दर्शन/ सिद्धान्तले ,
प्राण भर्न सक्दैन अब तिमीलाई ।

ओ न्यायमुर्तिहरु हो
म उही चित्र भित्रकी आगो निर्मला हुँ
चिन्यौ कि अब ?

(श्रष्टा परिचय : सुमन थापा “सङ्गम” ,नेपालगन्ज (बाँके )
संग्रह : २०७५ माघ ३ गते छोरीहरूले थाहा नै नदिई  उपहार स्वरुप दिएको प्रकाशित संग्रह “माइतीघरको फूल” कविता संग्रह
पुरस्कार : “देश ब्यापी कविता प्रतियोगिता गोकर्णेश्वर” प्रदेश नं ५ बाट पुरस्कृत।- सम्पादक)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।