‘कोराना संक्रमित हुनु अपराध होइन, सकारात्मक धारणाको विकास गरौं’


     नर्मला कँडेल    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित




विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) हाम्रो परिवारमा पनि थाहा नै नदिई प्रवेश गर्यो । स्वास्थ्य सतर्कताको बारेमा सचेत रहेर सतर्कता अप्नाउँदा अप्नाउँदै पनि कहाँ नेर के गल्ति हुन पुग्यो ठम्याउनै गाह्रो भो । त्यसो त कतिपय राजनीतिक जिम्मेवारीका हिसाबले बैठकहरुमा उपस्थिती हुनै पर्ने अवस्था आउँछ । कोभिड–१९ रोकथामका कतिपय कुराहरु ध्यान दिदा दिदैपनि कुन समय कसरी कोरोना भाइरस शरीरमा छिर्यो पत्तै भएन ।

म गत असोज २८ गतेको दिन विहानैदेखी कार्यक्रमहरुमा जानु पर्ने भएकाले घरमै हल्का शारीरिक व्यायाम गरेर घरको कामधन्दा सकेर निस्किएँ । राजनीतिक रुपमा प्राप्त जिम्मेवारीले गर्दा त्यहि काममा केही दिनदेखि ब्यस्त थिएँ । पसल तिरपनि ध्यान दिन पाएकी थिइन । त्यसपछि पनि दुई÷तीन वटा बैठकमा सहभागी भएँ ।

हामी श्रीमान श्रीमती पनि एक दुई ठाउँमा जानुपर्ने भएकाले त्यहाँ पुगेर फर्केदै गर्दा मलाई हल्का जाडो भएको महसुस भयो र गाडीको एसी बन्द गरेँ तर जाडो कम भएन, बरु झनै जाडो बढेजस्तो हुन थाल्यो । कामको चापले तनाव भएर पो हो कि भन्ने सोंचेर घरमा गएर आराम गरें । तर मैले सोचे जस्तो जाडो कम भएन । मलाई विस्तारै ज्वरो आउन थाल्यो, निकै असहज महसुस हुँदै गयो । टाउको पनि निकै फुट्ला जस्तो गरी दुख्यो । अघिपछि सामान्य बिरामी हुँदा म औषधीको प्रयोग खासै गर्दिनथेँ तर अहिलेको अवस्था केही जटिल हुँदै गएको भान भयो । फेरिपनि चिसो मौसमले गर्दा पो हो की भन्ने लाग्यो र डाक्टर बद्रीलाई फोन गरेँ । उहाँलाइ सबै कुरा बताइसकेपछि उहाँले सिटामोल डबल डोज खाने र झोलको मात्रा बढी प्रयोग गर्ने सुझाव दिनुभयो । डा.बद्रीले तातोपानि खाइरहँदा पनि निको भएन वा ज्वरो घटेन भने अस्पताल आउन सल्लाह दिनुभयो । सोहि अनुसार गरिरहेँ, केहि जडिबुटी औषधीको प्रयोग पनि गरेँ । शरीरमा ज्वरो त घट्दै गयो तर शारीरिक शिथिलता भने निकै बढ्यो ।

केहि बेरको अन्तरमा मेरो जस्तै लक्षण मेरो श्रीमानलाई पनि देखिन थाल्यो । मन झन आत्तियो श्रीमान, श्रीमती दुबै जना एकैपटक विरामी हुँदा । उहाँले पनि डाक्टरको परामर्श लिएर डबल डोज सिटामोल खानुभयो, निधारमा पानी पटटी लगाएर ज्वरो कम गर्ने प्रयासमा लागिरह्यौँ । तीन दिन पछि ज्वरो कम भयो । तर जिऊ दुख्न भने छोडेन, निद्रा पनि लाग्न छाड्यो । हामीले सामान्य मानेको ज्वरो असमान्य हुँदै हामीलाई शिथिल बनाइरहेको थियो ।

मनमा अनेक आशंका उब्जियो । अन्ततः कोरोनाको परीक्षण गर्ने निधो गर्यौँ । पिसीआर पहिले नै गराउन खोजेका थियौँ तर सरकारी अस्पतालको भीडभाड र समयमै रिर्पोट नआउँदाको छटपटी केहि संक्रमित साथिहरुले सामाजिक सञ्जालमा राखेको देख्दा परीक्षणको लागि जान उत्ति मन लागेको थिएन । प्राइभेटमा छिटो र कम भीड हुने निष्कर्षसहित हामी दुई र छोरा लाइफ केयरमा डाइनोष्टिक प्रालिमा पुग्यौं । स्वाबको नमुना दिएको भोलिपल्ट कोरोनो पोजेटिभ रिर्पोट आयो । हामीले त मानसिक रुपमा स्वीकार गरिसकेका थियौँ, कतिपय लक्षणहरुले संक्रमणको पुष्टि गरेको पनि थियो तर बाबुमा कुनै संकेत थिएन । तर छोरालाईपनि पोजेटिभ देखियो ।

एकै परिवारका श्रीमान, श्रीमती र छोरा तीनै जनालाई कोरोना देखिएपछि निकै तनाव अनुभव गर्यौँ । फेरी पनि जे नहुनु थियो त्यो त भइसकेको थियो । अब आत्तिएर भन्दा पनि आत्मबल बलियो बनाएर कोरोनासँग लड्नुको विकल्प थिएन ।

स्वाब दिउञ्जेलसम्म लक्षण नदेखिएको छोरालाई दुईदिन पछि भने ज्वरो आयो । एकनासको ज्वरोले उसलाई पनि निकै शिथिल बनायो । एकै परिवारका तीन सदस्य कोरोना भाइरससँग जुध्दा र बन्द कोठा भित्रको एकै दैनिकीमा दुईहप्ता लामो समय बस्दा मनमा अनेक कुरा आउने गर्थे तर मानसिक रुपमा कमजोर हुन नदिन हामी उत्तिकै सजक थियौँ । बाबुमा ज्वरो केही कम भएपछि शान्तिको अनुभव गर्यौं ।

कोरोना संक्रमण देखिएपछि अनेक कुराहरु सुनिन थाले, स्वभाविक पनि हो विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले मानिस आतंकित बनेको छ । हरेक दिन सञ्चार माध्यममा संक्रमित र मर्नेको संख्यालाइ जोड दिएर प्रशारण हुँदा कोरोनानै काल हो भन्ने सोचाइले धेरैलाई झस्काइरहेको छ । आफूलाई नपरेसम्म अरुको पीडा नबुझ्ने मानवीय स्वभाव नै हो । असहज र कठीन अवस्थमा मानिसको एक मिठो वचनले जीवनको लय बदलिन सक्छ, ऊर्जा मिल्न सक्छ तर शारीरिक र मानसिक रुपमा कमजोर भइरहेको अवस्थामा केही अमानवीय व्यवहारले चोट पुर्याउँछ तर यो समाजमा केही पात्र र प्रवृत्र्ति असहजतामा पीडा दिन तम्सिरहन्छ । संक्रमणको शिकार भइरहँदा हामीले पनि अनेक कुरा सुन्यौँ तर सहज रुपमा लियौं, त्यसबाट बिचलित भएनौँ ।

यसबीच समाजमा खराब मात्र होइन असल मानिसहरु अझ धेरै छन् भन्ने बुझ्न पायौँ । भौतिक रुपमा एक अर्काको अघि उभिन नसके पनि प्रविधिको प्रयोगले भर्चुअल रुपमा धेरैको आत्मीय मनहरुको साथ हामीलाई मिलिरह्यो । हाम्रा आफन्त इष्टमित्र साथीभाइ शुभचिन्तकको शुभभावनाले हामीलाई एउटै कोठा भित्रको पट्यारलाग्दो समय पनि सहजै रुपमा विताउने ऊर्जा बनिरह्यो । आज पनि हामी तीन जना आइसोलेशनममै छौं । दोस्रो पिसीआर दिएपछि कोरोना जित्छौं भन्ने आत्मविश्वासमा हामी ढुक्क छौं ।
अन्तमा कोरोना संक्रमित हुनु कुनै अपराध होइन । संक्रमितलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन सकियो भने यो कम हुँदै जान्छ यदि नकारात्मक रुपमा हेरियो भने धेरैले यसलाई लुकाउने छन् र भुसको आगो जसरी जताततै फैलिने छ । कोरोनाबाट आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं, नकारात्मक टिका टिप्पपणी गरेर संक्रमितको मनोवल गिराउने काम नगरौैं । स्वस्थ समाजमा बनाउन स्वस्थ मानसिकताको विकास गरौं । कोरोना विरुद्धको अभियानमा सक्रिय बनौँ ।

(कँडेल महिला नेतृ, सामाजिक अभियन्ता तथा महिला पर्यटन व्यवसायी हुनुहुन्छ)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।