वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ।
निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा चयन भएका छन्। चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवा अवस्था र कलात्मक यात्राको भूमिका निर्वाह गर्नेछन्। श्रेष्ठकी स्वर्गीय पत्नी यशोदा सुवेदीको भूमिकामा भने अधिकारी देखिनेछिन्। चलचित्रले श्रेष्ठको प्रेरक र संघर्षमय जीवनकथालाई पर्दामा ल्याउने तयारी गरेको छ।
यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता जीवनीपरक चलचित्र निर्देशन गरेर पहिचान बनाएका चाम्सले यस ऐतिहासिक चलचित्रको निर्देशन सम्हाल्न लागेका हुन्। हल्कारा, परानु र लाज शरणम् जस्ता चलचित्रमा सशक्त अभिनय गरेका त्रिपाठीलाई मदनकृष्णको भूमिकाका लागि छानिएको हो।चलचित्रमा मदनकृष्णको बाल्यकाल र समाजमा जातीय विभेद कायम रहेको समयमा भएको उनको अन्तरजातीय विवाहको कथा समेटिनेछ। यसका साथै पत्नी यशोदाको क्यान्सरसँगको संघर्ष र हरिबंश आचार्यसँग मिलेर बनेको ऐतिहासिक ‘महजोडी’ को कालखण्ड यस चलचित्रका मुख्य आकर्षण हुनेछन्।
चलचित्रले आम दर्शकलाई गहिरो भावना र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। ‘मदनकृष्ण श्रेष्ठको जीवनका विविध आयाम र कला यात्रालाई न्याय हुने गरी चलचित्र निर्माण गरिनेछ,’ निर्देशक चाम्सले भने। चलचित्रको अन्य प्राविधिक पक्ष र छायांकनको तयारी तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






