भारतीय पत्रकार अर्नबलाई रिहा गर्न उच्च अदालतद्वारा अस्वीकार


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




कार्तिक २४ काठमाडौं । आत्महत्या दुरुत्साहनको मुद्दामा प्रहरी हिरासतमा रहेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ ।

आत्महत्या दुरुत्साहनको मुद्दामा एक सातादेखी हिरासतमा रहेका पत्रकार अर्नवलाई मुम्बईको उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको हो ।

भारतको रिपब्लिक टेलिभिजनका संस्थापक समेत रहेका ४७ वर्षीय अर्नबलाई स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि बाध्य पारेको आरोप छ ।

मुम्बई उच्च अदालतले आफ्नो फैसलामा भनेको छ– अनर्बले चाहेको अवस्थामा न्यायालयमा जमानतको लागि आग्रह गर्न सक्नेछन् ।

अर्नबको जमानतलाई लिएर सम्बन्धित न्यायालयलाई चार दिनभित्र निर्णय लिने निर्देशन दिएको उच्च अदालतले बताएको छ ।

अर्नब गोस्वामीले हिरासतमा रहँदा आफूमाथि कुटपिट भएको र दुर्व्यवहार गरिएको आरोप लगाएका छन् । उनले आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकले आत्महत्या गर्नुपूर्व लेखेको सुसाइड नोटमा आफूले पाउनुपर्ने पाँच करोड ४० लाख नपाएकोले आत्महत्या गर्नुपरेको लेखेको सञ्चारमाध्मयले बताएका छन् ।  

अर्नब गोस्वामीको यो मुद्दा यसअघि बन्द भइसकेको भए पनि महाराष्ट्र सरकारले हालै मात्र यो घटनामा थप अनुसन्धानको लागि निर्देशन दिएको थियो ।

नेपाल–भारत सीमा विवादको बेला गोस्वामीले कांग्रेस नेता मिनेन्द्र रिजालसँग लिएको भिडियो अन्तर्वार्ता नेपालमा खुबै भाइरल भएको थियो । गोस्वामीको अस्वाभाविक प्रस्तुतीको विरोध गर्दै र नक्सा प्रकरणमा सरकारको समर्थन गर्दै रिजालले कडा शव्दमा जवाफ फर्काएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।