विभिन्न संघसंस्थामा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका व्यवस्थापकले कोेभिड–१९ का कारण स्रोतसाधन र व्यवस्थापनलगायत विविध क्षेत्रमा समस्या झेल्नुपरेको बताएका छन् ।
कोपिला नेपालद्वारा कोभिड– १९ का कारण संस्थाका व्यवस्थापनको काममा उत्पन्न चुनौतीका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले सिमित स्रोत साधनबाट कर्मचारीको सेवा सुविधा, सुरक्षाामको व्यवस्थापन चुनौतीपूर्ण भएको बताएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका उपनिर्देशक नितु गर्तौलाले अहिलेको अवस्थामा आफू सुरक्षित रहेर प्राप्त जिम्मेवारीलाई पूरा गर्न निकै चुनौती रहेको धारणा राखे । कार्यक्रममा नजाँदा पनि नहुने र जाँदा सङ्क्रमण भइहाले त्यसको जिम्मेवार आफै हुनुपर्ने अवस्थाले मानसिक रुपमा बोझ भएको बताए ।
विकास नेपालका अध्यक्ष बुद्धिबहादुर थापाले संस्थाका पूर्वनिर्धारित सबै कार्यक्रमको ढाँचा नै बदल्नुपरेको र कर्मचारी व्यवस्थापनको समस्या रहेको धारणा राखे । उनले केही कर्मचारीले घरबाटै काम गरेको भए पनि कार्यक्षेत्रमै पुगेर काम गर्ने कर्मचारीलाई भने स्वास्थ्य सुरक्षाका लगायतका कारणले व्यवस्थापन गर्न कठिन भएको बताए ।
इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले जिम्मेवारी वहन गर्दा सङ्क्रमणको जोखिमले मानसिक रुपमै असर पारेको धारणा राख्नुभयो । प्रदेशका ११ जिल्लाका प्रतिनिधिको स्वास्थ्य सुरक्षादेखि अन्य पक्षको व्यवस्थापन अहिले निकै चुनौती रहेको उनको भनाइ थियो ।
कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले कोभिड–१९ को समयमा सडकबाट विक्षिप्त अवस्थाका महिला उद्धार गर्नुपर्दा सङ्क्रमणको जोखिम र व्यवस्थापनको समस्या रहेको बताए ।
कार्यक्रममा एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन कविता पौडेलले सिमित स्रोत साधन र चुनौती लिएर कोभिड –१९ र अन्य बिरामीको उपचारमा निरन्तर खट्नुपर्दा आफ्नो कारण परिवारका सदस्य पनि जोखिमको घेराभित्र रहेको अनुभव सुनाए। राइट फर चिल्ड्रेनका रमेश खड्काले संस्थाका गतिविधि सञ्चालन गर्न नपाउँदा र दातृ निकायबाट बजेट समेत नआँउदा पठन पाठनदेखि कर्मचारीलाई जागिरमा राख्नेकी नराख्ने भन्ने समस्या रहेको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।