सिन्धुपाल्चोकका महाकाव्यकार न्यौपानेलाई देवकोटा पुरस्कार


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने ‘महाकवि देवकोटा पुरस्कार’बाट सम्मानित भएका छन । नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सिर्जना र प्रकाशनका क्षेत्रमा विशिष्ट योगदान दिएवापत न्यौपानेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । विसं २०२४ कात्तिक २८ गते सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट, कल्लेरी हाल बलेफी गाउँपालिका वडा नं २० मा जन्मिएका न्यौपानेका दर्जन हाराहारी महाकाव्य प्रकाशित छन् । ‘चन्द्रयुग’ बृहत्तर महाकाव्य रचना र प्रकाशनपछि थप चर्चामा रहनुभएको न्यौपानेले नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएका छन । लोकभाकाको ‘पालुवा’ खण्डकाव्य प्रकाशन गरेर साहित्य यात्रामा उदाउनुभएका न्यौपानेका कथा, निबन्ध, नियात्रा, कवितासङ्ग्रह, समालोचना, उपन्यासलगायत चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् । न्यौपानेले नेपाली साहित्यका महाकाव्यकार र महाकाव्यको गहिरो अध्ययन अनुसन्धानसमेत गरेका छन । लामो समयसम्म शिक्षण पेशामा रहनुभएका न्यौपानेले छन्दोबद्ध कविता, नयाँ छन्दकै सिर्जना र मौलिकताका कारण नेपाली साहित्यमा अलग्गै स्थान बनाउन सफल भई यसअघि पनि थुप्रै सम्मान एवम् पुरस्कार प्राप्त गरेका छन। प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालले दश हजार रूपियाँ राशिको उक्त पुरस्कार वातावरणानुकूल भएपछि समारोह आयोजना गरी न्यौपानेलाई हस्तान्तरण गरिने जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।