कात्तिकको अन्तिम तिर मलाई कोरोना संक्रमण भयो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) बाट सामाजिक दुरी कायम गर्न, मास्क र पञ्जा लगाउन तथा पटक÷पटक हात धुन तथा आवश्यक्ता अनुसार सेनिटाईजर लगाउन बारम्बार आग्रह गर्दै हिंड्ने र सामाजिक सञ्जालमा लेख्ने मध्ये मपनि हुँ । तर आफूले जानेका र विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) तथा सरकारले तोकेका स्वास्थ्यका प्रोटोकल पालना गर्दागर्दैपनि म यसबाट अछुतो रहन सकिन ।
नहुनु संक्रमण भइहाल्यो । अब के गर्ने ? म अलमल्ल परेँ । किनकी मेरो घरबेटी कडा छन् । उनीहरु पहिलेदेखि नै घरभाडामा बस्नेहरुले कोरोना सार्छन् भनेर त्रसित हुन्थे । बेलाबेला कराउन पनि आउँथे । त्यतिमात्र होईन विदेश बसेका छोराले घरभाडामा नदिन बारम्बार आफ्ना बुबालाई भनिरहन्थे । त्यसलेपनि मेरो मनमा त्रास सृजना गरिरहन्थ्यो । एकातिर कोरोना संक्रमण भएर आत्तिएको म अर्कोतिर अब कहाँ बस्ने भन्ने चिन्ताले सतायो । हुन त म आफैपनि सचेत थिएँ । मेरो कारण मेरी श्रीमती, साना छोरा र छोरी तथा घरबेटीसहित अन्य कसैलाईपनि सर्न दिन हुन्न भनेर सतर्कता अप्नाईरहेको थिएँ र अप्नाईरहन्थेँ पनि । तर सोंचेझैँ जिन्दगी रैनछ भनेझैं म आफू बसेको घर हुँदाहुँदै कहाँ बस्ने चिन्तामा थिएँ । कहिंकतैबाट मलाई संक्रमण भएको घरबेटीले थाहा पाए त घरबाट निकाल्छन् भन्ने डरले खायो । समाज रुपान्तरणका लागि लागेको म सबैलाई निडर भएर सार्वजनिक हुनुपर्छ भन्दै हिंड्ने मान्छु हुँ । तर अहिले आफैलाई पर्दा भने निरिह भएजस्तो लाग्यो ।
म सार्बजनिक हुन चाहन्थेँ । कोरोना भाइरसप्रति समाजमा देखिएको अफवाह र यसबाट हुने त्रास हटाएर मनोसामाजिक समस्या कम गर्ने अभियन्ता बन्न चाहन्थेँ । तर घरबेटीका कारण म त्यसो गर्न नसक्ने अवस्थामा पुगेँ । म आफै त्यस्तो अवस्थामा पुगेको होईन, मेरा आफ्नै बाध्यताहरु थिए । होईन भने म घरबाट निकालिन सक्थेँ । म आफै संक्रमित भएको बेला परिवार घर न घाटका हुन्थे । त्यसैले मैले कसैलाई नभन्ने निर्णय गरेँ र गाउँ जाने भनेर होटलको आईसोलेसन गएँ । यसरी ढाँटेर होटलको आईसोलेसन जानू मेरो रहर नभई बाध्यता थियो । किनकि मेरो कारणले परिवारको बिचल्ली नहोस्, घर न घाटको नहोस् भन्ने मात्र हो ।
होटल आईसोलेसनमा बसिरहँदा मलाई अलि बढी नै च्याप्यो । त्यसपछि अस्पताल भर्ना भएँ । मलाई श्वासप्रश्वासको समस्या छ । यो मेरो सानैदेखिको समस्या हो । मलाई थायराईडको पनि समस्या छ । त्यहि कारण मैले २ वर्षदेखि औषधी खाँदै थिएँ । त्यतिले नपुगेर अस्पताल पुगेपछि सुगरपनि देखियो । कोरोनामा यी तीन समस्या जटिलताका कारक हुन् । तर समयमै अस्पताल पुगेर उपचार गर्न पाएकाले ८ दिनपछि म निको भएँ । तर रिपोर्ट भने पोजिटिभ नै आएपछि पुनः हस्पिटलबाट घर फर्किन सकिनँ र होटल आईसोलेसन गएँ । म हस्पिटलबाट घर फर्किन चाहन्थेँ । घरमा सानो छोरा र छोरी छ । उनीहरुलाई भेटेर अंगालो हालेर माया गर्ने, काखमा खेलाउने रहर थियो । तर घरबेटीलाई सम्झिएँ र पुनः होटल आईसोलेसन फर्किएँ ।
कोरोना संक्रमितलाई योबेला माया, सद्भाव र सहयोग चाहिन्छ । स्याहारसुसारसँगै खानपीनमा ध्यान दिनुपर्छ । त्यसमाथि कोरोनासँगै श्वासप्रश्वास समस्या र थायराईडको समस्याले सिकिस्त भएपछि हस्पिटल पुगेको म सुगर थपिएपछि खानासमेत बार्न बाध्य भएँ । अब अलिक तंग्रिएको छु तर खानपीनमा ध्यान दिनुपर्छ । तर घर जानबाट बञ्चित भएर होटल आईसोलेसनमा फर्किएको मलाई स्याहार्ने कोहि छैनन् । त्यसैले भन्न मन लाग्छ, घरबेटीले समस्या बुझ्दैन घरभाडामा बस्नेहरुको । हो म त्यसैको भुक्तभुगी हुँ ।
कोरोना लुकाउनु हुँदैन भनेर भन्दै हिंड्ने सामाजिक अभियन्ता हुँ म । तर आज म आफै संक्रमण लुकाएर बस्नुपरेको छ । यो समाज र घरबेटीका कारण म बाध्यतामा परेँ । तर म यो समाजलाई भन्न चाहन्छु,‘घर भाडामा बस्नेहरुपनि मान्छे हुन्, उनीहरुलाईपनि मानवीयताको आँखाले हेरौं । समस्या पर्दा अन्यत्र शरण लिन जानुपर्ने बाध्यतामा नपारौं । अबदेखि अन्य घरभाडामा बस्नेले मैले भोगेजस्तै समस्या भोग्न नपरोस् । सबै मिलेर बसौं तर संक्रमण सर्न नदिन सचेत भएर सतर्कता अप्नाऔं । स्वास्थ्यका प्रोटोकल पालना गरौं । जय होस् ।
खुल्न नचाहेका संक्रमितसँग कुराकानीमा आधारित, प्रस्तुती : सन्देश श्रेष्ठ
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






