काठमाडौँमा आज यस वर्षकै बढी चिसो


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित




काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ”, मौसमविद् सापकोटाले भन्नुभयो । यस वर्ष काठमाडौँको तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ ।

मौसमविद्का अनुसार अब केही दिन मौसम सफा हुने भएको छ । दिनभर घाम लागे पनि बिहानबेलुका बढी चिसो महसुस हुने बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । अपराह्न प्रदेश नं १ लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।