काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा


     एभरेस्ट आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित




काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि सोमबार भने काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव शून्य डिग्री मापन भएको थियो ।

मौसमविद् समीर श्रेष्ठका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “अबको केही दिन तापक्रम घटबढ भइरहनेछ ।” श्रेष्ठले भन्नुभयो,“मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।” पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ । –– (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।