निरो र बाँसुरी अनि तालाबन्दी


     उपप्रा. रामप्रसाद सुवेदी    
     चैत्र १५ गते २०७७ मा प्रकाशित



थोपा निर्मल हुन पवित्र जलका चुम्दा त्रिसुली शिर

झस्किन्छन् किन दासझैं समयको गै दासढुङ्गा तिर

साँचेका सपना घना सहिदका खाल्डाहरूमा पुरी

सारा रोम जले जलोस् महलमा घन्का निरो बाँसुरी ।

यो कविता बैतडीकी हिरा भट्टको हो र मैले यसको एक टुक्कामात्र युट्युवबाट लिएको हो । उनले यसलाई देशको समसामयिक परिस्थितीलाई आधार बनाएर लेखेकी भए पनि त्रि.वि. विशेष गरी पृथ्वीनारायण क्याम्पसको महिनौ सम्मको तालाबन्दीमा यो कविता सान्दर्भिक लागेर जोडेको मात्र हो । निरो रोमका एक जना शासक थिए र कुनै वेला रोम आगलागी भएर दन्किरहेको वेला उनी अग्लो ठाउँमा बसेर सुरिलो स्वरमा बाँसुरी घन्काएर बसेका थिए । जति आगो दन्किन्छ उनले त्यतिनै चर्को स्वरमा बाँसुरी बजाउँथे । आगोको लप्काले आफ्नो राज्य रोम दन्कदा पनि उनलाई कुनै मतलव थिएन, उनी केवल बाँसुरीको धुनमा मस्त थिए ।

अहिले हजारैँ विद्यार्थीको पठनपाठन भै रहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पृथ्वीनारयण क्याम्पसको हालत यस्तै रोम निरो र बाँसुरीको जस्तै नै रहेको छ । कहिले कहाँ कतिवेला तालाबन्दि हुन्छ थाह नै हँुदैन । वार्ता, छलफल र सहमति भन्दा पनि मागको पहिलो नम्बरमा तालाबन्दी रहेको हुन्छ । तालामाथी ताला, तालामाथी ताला झुडिएका हुन्छन् एक दिनको तालाबन्दिले कति क्षति हुन्छ त्यसको हिसावकिताव रहँदैन फेरी तालाबन्दिको क्षतिपुर्तीको लेखाजोखा भन्दा पनि जिम्मेवार निकायहरू बाँसुरी बजाउनमा नै मस्त रहेका हुन्छन् ।

पृथ्वीनारायण क्याम्पसमा अनौठो तालाबन्दीको परम्परा देखिएको छ । ढोकामा ताला नभएको त प्राय देख्न सकिँदैन । ताला लगाउनमा पनि प्रतिस्पर्धा रहेको हुन्छ । कहिले आंशिक शिक्षकहरूको हातमा ताला हुन्छ भने कहिले अस्तित्वमा रहेका विद्यार्थी सङ्गठनहरू ताला बोकेर ढोकामा उभिन्छन् । मास्टर लेवलमा पढ्ने विद्यार्थीहरू किन र के उद्येश्यले भर्ना भएको भन्दा जागिर नपाएर भर्ना भएको भन्दछन्, यसरी उद्देश्यविहीन तरिकाले कक्षाकोठामा आउनेलाई पढाई भन्दा हुल दंगा र तालाबन्दि नै मन पर्दछ । कुनै बेलाको एउटा चर्चित गीत थियो । माझधारमा अल्झिएको एउटा डुङ्गा हुँ म लान्छ जता हुरीले त्यतै बहन्छु मु कुनै उद्देश्यविना कक्षाकोठामा आउनेको हालत यही नै हो । अनि शिक्षण संस्थाहरूमा कतिपय राजनैतिक प्रतिशोध र अस्तित्वका मागहरू रहेका हुनछन् । केन्द्रले विश्वविद्यालयलाई एउटा सेवाप्रदाय संस्थाका रूपमा लिन भन्दा पनि लागत आपुरण विश्लेषण(ऋयकत द्यभलभाष्त ब्लबथिकष्क) को रूपमा लिएर कुन सिफ्टमा कति र कसरी चलाएमा कति नाफा र घाटाको तर्क प्रस्तुत गर्न लाग्यो र यसले केही विद्यार्थी जो परम्परागत सेटिङ्मा थिए उनीहरूले विरोध गरे र ताला झुन्ड्याए ।

केही समय पहिला आंशिक शिक्षकका नाममा महिनौ तालावबन्दि भयो । त्यतिवेला केही अशिष्ट र अभद्र व्यवहार पनि नदेखिएका हैनन् । जसो तसो आंशिक शिक्षकको समस्याबाट पार लागेर ताला त खोलियो त्यसपछि तालाको अर्को श्रृङ्खलाको शुरूआत भयो विद्यार्थीको अनि त्यसमा पनि केही समाधान निकालेर खोलियो । त्यो ताला खुलेपछि नयाँ भर्ना भएका विद्यार्थीले हामी त्रि.वि.को नियम मान्दैनौ हामीले भने अनुसारका सिफ्टमा पढ्न पाउनु पर्दछ भनेर तालाको अर्को एपिसोड शुरू भयो त्यसको पनि सेफ लेन्डिङ् भई सकेपछि फेरि प्रतिपक्षी अखिल र ने.वि.संघले तालालाई निरनतरता दिए । ताला लगाउने क्रममा कतिपयचोटी अभद्र र अशिष्ट व्यवहारको पनि प्रदर्शन भयो यसले क्यामपसमा नराम्रो संस्कारको श्रृङ्खलालाई निरन्तरता दिएको पनि देखिन्छ ।

कुनैवेला हामीले Q.A.A. ल्यायौ भनेर सामाजिक सञ्जालका भित्ता भरिभराउ भएको क्यामपसमा Q.A.A. पस्चात केही जर्नल र लघुअनुसन्धानमा हुङ्कार देखिनु बाहेक कक्षाकोठाको संस्कारमा परिवर्तन आउन सकेको देखिदैन । मास्टर्ड डिग्री सञ्चालन भएको विल्डिङ नेट विहिन भएको लगभग एक वर्ष नै भइसक्यो । त्यहाँ जोडिएका मल्टिमिडियाहरू खियालागेर जाम हुने अवस्थामा पुगिसके । अनुगमन, निरीक्षण तथा दण्ड र पुरस्कारको प्रभावकारी प्रणाली त यो क्याम्पस मात्र हैन समग्र विश्वविद्यालयमा नै सुन्य जस्तै रहेको छ । आंशिक शिक्षक भर्ना गर्दा वैज्ञानिक प्रणाली नअपनाई केही भनेर विज्ञापन गरी राजनैतिक भागबन्डा र पदाधिकारीका नजिक भएकाहरूलाई पछाडिको ढोकाबाट छिराउने काम गरिन्छ । महिनौ सम्मको तालावन्दिले नवप्रवर्तनका कामहरू हुदैनन् अनि तालाावन्दिले काम गर्न नपाएको बहाना बनाउने एउटा गतिलो सांचो पनि फेला परेको छ ।

भगवद्गीताको (३,३५) मा श्रीकृष्ण भन्नुहुन्छ —श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् । स्वधर्माे निधनं श्रेयः परधर्माे भयावहः ।। मनुष्यले अर्काको कर्तव्य तिर भन्दा आफँलाई तोकिएको काम र कर्तव्यतिर लाग्नु नै श्रेयकर हुन्छ र त्यसबाट कहिल्यै विचलित हुनु हुँदैन । शिक्षकको स्वधर्म पढाउने, विद्यार्थीको अनुशासनमा रहेर पढ्ने, क्याम्पस प्रशाशनको स्वधर्म निष्पक्षपूर्वक प्रशाशन चलाउने र केन्द्रको स्वधर्म उपयुक्त नीति निर्माण र निर्देशन गर्ने जव यीनिहरू स्वधर्मबाट विचलित हुनछन् तव भयावह शुरू हुन्छ, त्यसैले आफ्नो स्वधर्मबाट कोही पनि विचलित हुनु हुँदैन ।

कसैले कसैसंँग आफ्ना माग राख्नु र बार्गेनिङ्ग गर्नुलाई बर्तमान प्रजातान्त्रिक प्रणालीमा कुनै अनौठो मानिदैन । एक ताला लगाउनु उपयुक्त हैन दोस्रो तालालाई महिनौ सम्म झुन्ड्याई राख्नु पनि राम्रो हैन । प्रशाशक तथा जिम्मेवार निकायले त्यसबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिमा सचेत रही बाँसुरी बजाएर बसेर रमाउनु भन्दा विद्याको मन्दिरमा ज्ञान आर्जन गर्न चाहनेका लागि अवसर प्रदान गर्नु पर्दछ । टाढा टाढाबाट केही गराँैला भनेर ऋण काढेर पढ्न आउने गरिबका छोराछोरीलाई पढ्ने मौकाबाट बन्चित गरिनु हुदैन । ताला लगाउनेका पनि निश्चित केही मागहरू रहेका होलान् तिनको विन÷विन दर्शनका आधारमा समाधान चाँडो निकाल्न सम्बन्धित निकायले चासो दिनुपर्दछ र माग राख्नेले पनि समय र परिस्थिलिाई बुझेर मेरो गोरूका बाह्रै टक्का भन्न तिर लाग्नु हुँदैन । यही नै स्वधर्म हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।