थुलुङ दाइसँग माफी माग्न पाँइन !


     अनुज कुलुङ    
     चैत्र २७ गते २०७७ मा प्रकाशित



गायक तथा संगीतकार स्व.श्रीमान थुलुङ ।

चैत्रको अन्तिम हप्ता । पोखरामा पनि गर्मी बढिसकेको थियो । गर्मीले दिनभरि काम गर्न सकस हुने भएकोले प्रायः म साँझपछि कामको रफ्तारलाई बढि फोकस गर्ने गर्छु । अर्थात साँझको शीतल समयमा काममा बढि सक्रिय हुन्छु । कामको निरन्तरता कहिलेकाहीं बिहानको २÷३ बजे सम्म पनि लम्बिन सक्छ । कामै त्यस्तै किसिमको छ । त्यो दिन पनि राती अबेलासम्म काम गर्नुपर्ने अवस्था थियो ।

गर्मीले उच्चाटलाग्दो दिन ढल्किँदै गए पछि अलिकति हावाहुरी र हल्का झरी बोकेर नियमित साँझ आइपुग्यो । पोखराको केही भागहरुमा बाक्लै पानी परेको फेसबुकको भित्ताहरुमा देखिँदैथ्यो । समय साँझलाई छोडेर राततर्फ लम्कँदै थियो ।

म फेसबुकको म्यासेज र साथीभाईहरुको स्टाटस् पढ्दै आफ्नो काममा ब्यस्त भएँ । यही क्रममा किराँत सेवा समाज पोखराका अध्यक्ष लोकेन्द्र राईले आफ्नो फेसबुकवालमा समाजका साँकृतिक विभागका प्रमुख, गायक तथा संगीतकार थुलुङको स्कुटर दुर्घटना भएको जानकारी दिनु भएको थियो । अध्यक्ष राईको स्टाटस्ले मलाई कताकता अप्ठ्यारो बनायो । यथार्थ बुझ्न केही साथीहरुलाई सम्पर्क गरेँ, खै त्यै सुन्नमा आएको छ भन्ने मात्र जवाफ पाएँ । मैले आफ्नो काम बन्द गरेर थुलुङ दाईसँग सम्बन्धहरुको बारेमा सोँच्न थालेँ ।

०६६ साल मंसिरको पहिलो हप्ता जस्तो लाग्छ । यकिन समय ठम्याउन सकिरहेको छैन । तर पनि त्यो परिवेशको सम्झनाको ऐनाको तस्बीर अहिले पनि ताजै छ ।

नदिपुरमा एउटा कम्प्युटर तालिम केन्द्र थियो । जहाँ म फुल टाइम पढाउने प्रशिक्षकको रुपमा थिएँ । पढाउने मेरो पेशा भएता पनि मेरो रुचिको विषय संगीत थियो । १८ बर्षको उमेरमा मलाई कामको भन्दा पनि संगीतको भोक ज्यादा थियो ।

पढाउने तालिम केन्द्रको पारीपट्टि सानो चिया पसल थियो । जहाँ म विहान बेलुकी खाना खाने गर्थें । एक बिहान चिया पसलको दिदिले एक जना व्यक्तित्वसँग चिनाजानी गराइदिनु भयो । बोल्दा नेवारी लवजमा बोल्नु हुने अग्रज संगीतकर्मी तवला वादक श्यामलाल श्रेष्ठ हुनुहुन्थ्यो उहाँ ।

आदरले उहाँलाई म गुरु भन्छु । पोखरामा पहिलो संगीतमा प्रेरणा, हौसला र उत्साहको मुहान मैले उहाँमा नै भेटेको हो । त्यो बेला उहाँकै निवासनेर एउटा संगीत कक्षा चलिरहेको जानकारी गर्नुभयो । मैले पनि आफु संगीत सिक्नको लागि उत्सुक रहेको कुरा उहाँलाई भनेँ । उहाँले एउटा नम्बर टिपाउनु भयो र सम्पर्क गरेर भोलिबाट संगीत सिक्नजान सल्लाह दिनुभयो । र भन्नुभयो “गुरुको नामचाहिँ शिरमान ठुलुङ हो, उसैलाई सम्पर्क गर्नु” ।

कुनै समय खेर नफाली मैले नम्बर डायल गरे । र फोनमा नै कुरा भयो । त्यसरी सुरु भयो थुलुङ दाईसंगको मेरो पहिलो संवाद ।

भोलिपल्ट विहानै म पुषको जाडोमा सयपत्री संगीत प्रशिक्षण केन्द्रमा संगीत कक्षाको लागि आफ्नो पहिलो कक्षा लिन हिँडे । र पहिलो पल्ट उक्त कक्षामै भेटेको हो, मेरो प्रिय गुरु श्रीमान थुलुङलाई । म उहाँलाई बढि जसो गुरु भन्दा पनि दाई भनेरै सम्बोधन गर्ने गर्थें । किनभने, भुगोलको हिसावले उहाँ पनि पूर्वकै, सामाजिक हिसावले उहाँ किराती मूलकै भएकोले नजिक संझेर उहाँलाई दाई भनें ।

मैले उहाँसंगै संगीतको आधारभूत केहि अलंकार सिकें । यमन राग, भूपाली, अलैया, विलावल, काफि, भैरव, विहाग आदि रागहरुको जानकारी मैले उहाँबाटै पाएँ । सिक्न सकँे या सकिन त्यो आफ्नो ठाउँको कुरा । तर कम्तिमा यी विषयहरुमा आधारभूत ज्ञान मैले उहाँबाटै पाएको हो ।
म गाउन चाहिँ सुगम संगीतका गीतहरु गाउन मन पराउने । नारायण गोपाल, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी जस्ता श्रष्टाको गीतहरु गाउन रहर गर्थें तर, पटक्कै ताल पक्रिन जान्दिनथेँ । मेरो एउटा कमजोरी त्यहि रह्यो ।

मलाई याद छ । पहिलो कक्षामा मलाई एउटा गीत गाउन लगाउनु भएको थियो । मैले भक्तराज आचार्यको “जतिचोट दिन्छौ देउ मायालु…” बोलको गीत गाएको थिएँ । जति–जति म गाउँदै गएँ, उत्ति उत्ति थुलुङ दाई आफ्नो घुडामा हातले चर्को गरी बजारी राख्नु भएको थियो । दुई लाइन गाइसकेपछि भन्नुभयो– “भाई स्वर त गज्जब लाग्यो, ताल अलि कति खुस्की रहेको छ” ।
अनि आफु गाउँदै भन्नुभयो “मलाई पछ्याउनुस् त”

कोशिष गरेँ ।… मुटुमा फुलेको विश्वासको फूल, विवशताको हुरीले झारिदिएछ… ।
ढोकाबाट श्यामदाई अचानक तालि पिट्दै भित्र आउनुभयो । भन्नुभयो–
“मान्छे सुगम संगीट मन पराउने रैछ, ठोरै मेहनत गरे भविष्य राम्रो छ ।” निरन्तर उहाँले ताल एक, दुई, तिन, चार, पाँच, छ गन्दै सिकाउनुभयो । त्यहि बेला सुनेको हो दादरा ताल भनेर ।

पछि आफैले गम्दै जाँदा पो थाहा भयो । मलाई त खाली कहरुवाको सजिलो लोकशैलीको तालमात्र मेसो मिलाएर गाउन जान्ने रहेछु ।

त्यहीबेला हो मध्यलय त्रिताल सिकेको । कहरुवा ताल, विलम्वित कहरुवा, एक ताल, रुपक, झप, दादरा, ख्याम्टा, दिपचण्डी ताल भनेर बोल सहित हातमा गन्न सिकाउने दाई उनै श्रीमान थुलुङ थिए ।

फेरि यहाँ मैले भन्नै पर्ने हुन्छ । ती ताल मैले सिक्न सकें सकिनं । आफ्नो ठाउँमा छ । अझै पनि रुपकताल, विलम्बित कहरुवा, खालिबाट उठेको गीतहरु गाउने हिम्मत मलाई आउँदैन ।
लगभग मेरो ३ बर्ष जति निकै बाक्लो संगत भो दाईसंग । त्यो समय ०६८, ०६९, ०७० साल हुन् । यी संगतबाट मैले संगीत र साहित्यको दिग्गज अग्रज व्यक्तित्वहरुसंग मिठो सम्बन्ध स्थापित गर्ने अवसर मैले पाएँ ।

यही संगतबाट आफुलाई विभिन्न समयमा प्रस्तुति दिएर अगाडि उभिने मौका पनि पाएँ । ०६८ सालतिरै हुनुपर्छ पोखरेली सांस्कृतिक परिवारको आयोजनामा आयोजित समता सांगीतिक प्रतिष्प्रर्धात्मक कार्यक्रममा मैले आफ्नो पहिलो प्रस्तुति दिएको थिएँ ।

त्यो बेला एक किसिमको जोश थियो । अहिले तुलनात्मक हिसाबले अल्छे टाइपको भइसकँे । त्यहि बेला थुलुङ दाई र मैले एउटा साप्ताहिक कार्यक्रमको आयोजना गरेका थियौं । सयपत्री सांगितक साप्ताहिक कार्यक्रम । त्यो कार्यक्रमको श्रृंखला निकै पछिसम्म चल्यो । मलाई अझै पनि याद छ, त्यो सुरुवातको समयमा उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिन दुर्गा परियार, रितु लामा जस्ता कलाकारहरु आज नेपाली संगीत क्षेत्रमै स्थापित भइसकेका छन् । त्यही समयको आसपासमा सिडी विजय अधिकारी पनि पोखरामा बसेर संघर्ष गरिरहेका थिए । जो अहिले सांगीतिक क्षेत्रमा चर्चा रहेका छन् ।

थुलङ दाईले सधैं गीत संगीतमा लाग्ने प्रतिभाहरुलाई प्रोत्साहन दिने र उनीहरुको प्रतिभा प्रष्फुटन गर्ने माहौलको सिर्र्जना गरेर प्रेरणदायी भूमिकामा रहनुहुन्थ्यो ।

खासमा पेशाले संगीत प्रशिक्षक भए पनि प्रशिक्षणबाट आर्थिक सबलता हाँसिल गर्नु उहाँको आशय थिएन जस्तो लाग्दछ । उहाँले प्याशनको रुपमा गीत संगीतलाई लिनुहुन्थ्यो । विभिन्न कार्यक्रममा गाउने बजाउनेमा बढि सन्तुष्टि मान्नुहुन्थ्यो ।

मलाई याद छ माछापुछ«े एफ. एम.मा नवराज त्रिपाठीले हेल्लो नाइण्टि नाइन भन्ने मासिक कार्यक्रममा संचालन गर्नुहुन्थ्यो । त्यसमा विभिन्न प्रतिभाहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्नु पर्दथ्यो, त्यसमा थुलुङ दाईले निर्णयकको भूमिका निभाउनुहुन्थ्यो । म पनि कहिलेकाहीँ त्यस कार्यक्रममा हार्माेनियम बजाउन पुग्थेँ । मलाई हार्माेयिमको पर्दामा औंला राख्न सिकाउने पनि थुलुङ दाई नै हुनुहुन्थ्यो । त्यही समय एक÷दुइवटा गीतमा कम्पोज गर्ने अवसर पनि पाएको थिएँ । त्यस्तो विधि पोख्त त हुन नसके पनि एउटा काम चलाउ हार्माेनी बादक हुनुमा पनि थुलुङ दाइकै हात छ । कम्तिमा अरुको सामु आफैं हार्माेनियम बजाएर गीत गाउन सक्ने सामथ्र्य भरिदिनुहुने थुलुङ दाई नै हुन् ।

२०६९ को आसपासमा मैले पहिलो चोटी एउटा सांगीतिक प्रोजेक्टमा काम गर्ने अवसर पाएको थिएँ । उक्त प्रोजेक्टको परिकल्पना, ब्यवस्थापन, संयोजन चर्चित गीतकार, सांगीतिक अभियन्ता अनुराग अधिकारी दाइले गर्नुभएको थियो ।

अनुराग दाईको परिकल्पना अनुसार श्रीमान थुलुङ दाईको एकल संगीत र “सयपत्री संगीत प्रशिक्षण केन्द्र” का प्रशिक्षार्थीहरुको स्वरमा गीत रेकर्ड गरेर “अनुरोध” नामको सांगीतिक एल्बम बजारमा ल्याउन सफल पनि भयौं । त्यसमा मैले पनि थुलुङ दाईको संगीतमा एउटा गीत गाउने मौका पाएको थिएँ ।

मेरो आफ्नो कम्पोजको केही गीतहरु रेकर्ड भइसकेको भएता पनि अरुको संगीतमा मैले पहिलो चोटी थुलुङ दाइकै संगीतमा “पछ्यौरिले मुख छोपी…” बोलको गीत रेकर्ड गर्ने सौभाग्य पाएको थिएँ । उक्त अवसर म लगायत तमन्ना गुरुङ, सिडी विजय अधिकारी, उमेश राई, विनिता अधिकारी, प्रकाश गौतम लगायतले त्यो अवसर पाएका थिए । त्यो समय थुलुङ दाइले “सयपत्री संगीत प्रशिक्षण केन्द्र” छोडेर “तराना म्युजिक सेण्टर” स्थापना गर्नु भएको थियो । त्यहि “अनुरोध” एल्बमका गीतहरुको धुनहरु बनाउने, डमी भ्वाइस भर्ने क्रममा थुलुङ र अनुराग दाइसँग अझ नजिक रहेर काम गर्ने मौका मिलेको थियो । उक्त एल्बमको रिलिज पनि भब्यताका साथै भएको मान्नुपर्छ । त्यहि एल्बमबाट मैले पनि मेरो आफ्नो परिचय फराकीलो बनाएँ भन्ने लाग्छ ।

यहि संगतले गर्दा मैले अर्काे एल्बम “आँचल” पनि त्यो समयको चर्चित गायीका मिलन आमात्यको आवाजमा एउटा गीत कम्पोज गर्ने अवशर पनि पाएको थिएँ । त्यहाँसम्म पुग्नमा मेरा लागि थुलुङ दाई र अनुराग दाईको योगदान महत्वपूर्ण रह्यो । त्यसपछि बाहिरबाट पनि मलाई कम्पोजको लागि अनुरोधहरु आउन थाले । एउटा सामान्य गीताङ्गे हुने रहर मात्र पालेको मलाई त्यहाँ सम्म पु¥याउनमा थुलुङ दाईको ठूलो भूमिका थियो ।

थुलुङ दाईको संयोजकत्व “सयपत्री सांगीतिक साँझ” निकै भब्यताकासाथ सफल बनाएका थियौं । म आफैं त्यसको सह–संयोजक थिएँ । उहाँसँग छोटो समयमा धेरै नजिक भएर काम गर्ने मौका मिलेको थियो । उहाँकै माध्यमबाट म किरात सेवा समाज जस्ता सामाजिक संस्थाहरुको नजिक पुग्ने मौका पनि मिलेको थियो ।

तर, बीचमा आएर मैले सांगीतिक क्षेत्रमा क्रियाशिल भएर काम गर्ने वातावरण भएन । फाट्टफुट्ट एलबमहरुमा रहरको रुपमा कम्पोज गर्न बाहेक मेरो संग्लनता कम हुँदै गयो । साहित्यमा उत्तिकै रुची भएको हुनाले केहि समय साहित्यीक कार्यक्रमहरुमा मेरो सक्रियता रह्यो ।

पछिल्लो समय म साहित्य र संगीत भन्दा अलि टाढा रहेर ब्यक्तिगत कार्यमा ब्यस्त रहे पनि दाइसँग बेला–बेलामा भेट हुँदा नेपाली गीत संगीतको बारेमा धेरै चर्चा परिचर्चाहरु हुन्थ्यो । दाइको चाहाना म सांगीतिक क्षेत्रमा सक्रिय रहोस् भन्ने थियो । पछिल्लो समय २०७५ पौषमा होला जस्तो लाग्छ, हाम्रो भेट भएको थियो । मैले कुलुङ जातिहरुको चाड चाक्चाकुर तथा नयाँ वर्ष पौष १५ गते अत्रपूर्ण– ८ बिरेठाँटीमा हुने कार्यक्रममा निम्तो दिएको थिएँ । थुलुङ दाई मेरो मौखिक निम्तोकै भरमा कार्यक्रममा पुग्नु भएछ । विविध कारणले म आफैं त्यस कार्यक्रममा पुग्न सकिनं । त्यो खबर सुनेर मनमा लाग्दै थियो दाइसँग भेटेर माफी माग्ने छु । तर हाम्रो भेट भएको थिएन । म व्यवहारिक कामका ब्यस्तता बढिरहेको थियो ।

तर, एक्कासी थुलुङ दाईको स्कुटी दुर्घटनामा परेको सुन्दा एक किसिमको डर उत्पन्न भएर आयो । मैले कसैलाई फोन गरेर सोेध्न पनि सकिरहेको थिइनँ । म थुलुङ दाइको अवस्थाको बारेमा अरुले के भन्दैछन् सुन्न आतुर थिएँ । नराम्रो सुन्न नपरोस् भन्दा भन्दै कसैले भन्यो श्रीमान थुलुङ रहेनन् ! मलाई भाउन्न भएर आयो । मैले केहि प्रतिक्रिया पनि जनाउन सकिँन ।

पूर्वी पहाडी जिल्ला सोलुखुम्बुबाट पोखरा आएर नेपाली गीतिसंगीतको श्रीबृद्धिमा लागिरहेका एउटा सांगीतिक योद्धाको अवशान यसरी अप्रत्यासित रुपमा भयो । यसले पोखरामा मात्रै होइन सिंगो नेपाली सांगीतक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । आज हार्माेनियम देख्ने बित्तिकै थुलुङ दाइसँग विताएका ति दिनहरुको झलझली याद आउँछ । थुलुङ दाइले दिनु भएको सांगीतिक ज्ञान म जस्तै उहाँका चेलाहरुसँग रहुञ्जेल तिनै संगीतका धुनहरुमा थुलुङ दाईलाई भेटिरहने छौं । थुलुङ दाईको आत्मालाई शान्ति मिलोस् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।