बलेवा । लगातारको वर्षात्का कारण आएको बाढीले बागलुङको गलकोट क्षेत्रमा किसानको खेतबारी बगाएर बगर बनाएको छ । खेतबारी बगाउँदा किसानको करोडौँको बालीनाली नष्ट भएको छ । गत असारमा आएको बाढीबाट पशुचौपाया बगाए क्षति पु¥याएको थियो ।
त्यसको एक सातामा आएको बाढी पहिराले दुई सय रोपनी बढी जमिन बगर बनाएको स्थानीय पीडितले गुनासो गरे । बाढीपछिको पहिरोले किसानको घरगोठ बगाउँदा पशु चौपायाकोसमेत क्षति भएको छ । मध्यपहाडी लोकमार्गमा व्यवस्थित नाली नभएकाले सडकमै बगेको पानीले बाढीको रुप लिएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।
उक्त बाढीले सडक र खेतीमा व्यापक क्षति पुगेको हो । दर्जनौँ स्थानमा खसेका पहिरोले किसानको धानबाली नष्ट भएको छ । नरेठाँटीस्थित धँैसेमारे भन्ने स्थानमा मध्यपहाडी लोकमार्गबाट खसेको पहिरो र नालीको बाढीले दुई सय रोपनी जमिन बगर बनाएको हो ।
गत असारमा रोपेको धान सबै नष्ट भएको र तत्काल मर्मत गर्न नसकिने गरी खेत सबै बगर बनाएको किसानले गुनासो गरे । काठेखोला गाउँपालिका–५ को बिहुँदेखि गलकोट नगरतर्फको सबै सडकमा बग्ने पानीले बाढीको रुप लिँदा सडकका विभिन्न स्थानमा ठूलठूला पहिरो पनि खसेका छन् ।
नाली व्यवस्थापन नगरेकै कारण वडा नंं १ को झाँक्रीस्थान, काफलढुटा र रगेनीलगायतका स्थानमा घुम्ती नै खसेका छन् । मध्यपहाडी लोकमार्गले गत वर्ष नै रु ५० करोड बढी रकम विनियोजन गरेर नाली र घुम्ती व्यवस्थापन गर्ने काम ढिला गरिँदा सडक छियाँछियाँ भएको हो ।
समयमा धान रोप्न नपाए पनि जसोतसो रोपेको धानखेती सबै बगाएको स्थानीय यामबहादुर भण्डारीले गुनासो गरे । सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा आउन नसकेको र पैदलयात्रासमेत कठिन रहेको स्थानीय विष्णु विश्वकर्मले बताए । वर्षात्कै कारण मध्यपहाडी लोकमार्गको बागलुङदेखि हटियासम्मको ४५ किमी सडक छियाछिया भएको छ ।
वर्षात्कै कारण कालोपत्र तयारी भएको दुई सय ५० मिटर सडक बग्दा गत वर्षको झण्डै रु दुई करोड लगानी खेर गएको वडा नंं ४ का अध्यक्ष बलबहादुर खत्रीले बताए । केही समयअघिको वर्षात्ले भत्केको तोरी खोलादेखि ठाना जाने सडक, तथा घामपानी जाने सडकसमेत अझै बन्न सकेको छैन ।
ती सडकमा सवारी चल्न नसक्दा स्थानीय दैनिक उपभोग्य सामान बोकेरै लैजान बाध्य छन् । बाढीपीडितको राहतका लागि नगरपालिकाले सामान्य राहत दिने योजना बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






