मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ ।
नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ ।
“मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ तर लगातारको वर्षा भने हुने देखिदैन”, मौसमविद् महर्जनले भने । काठमाडौँ उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । मङ्गलबार बिहान काठमाडौँमा भारी वर्षा भएको थियो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
अहिले काठमाडौँको उत्तरपूर्वी र दक्षिणभेगतिर हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।…






