पश्चिमाञ्चल माविमा फूड फेस्टिवल


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०८२ मा प्रकाशित




पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा फूड फेस्टिवल आयोजना गरिएको छ । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीमा प्रयोगात्मक ज्ञान दिलाउनका लागि विद्यालयमा फूड फेस्टिवल आयोजना गरिएको हो ।

कार्यक्रमको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रयोगात्मक अभ्यास गराउनका लागि फूड फेस्टिवल आयोजना गरेको उनले बताए ।‘विद्यार्थीले सैद्धान्तिक ज्ञान त कक्षाकोठामा पाएका थिए । तर उनीहरुलाई प्रयोगात्मक ज्ञानको पनि आवश्यकता थियो । त्यही ज्ञान हासिल गराउनका लागि यो अभ्यास गराएका हौं,’ उनले भने, ‘यसले विद्यार्थीलाई अझ बढी अभ्यस्त बनाउनेछ ।’ फूड फेस्टिवलमा विद्यार्थी आफैले विभिन्न परिकार बनाएर चखाउँदा उनीहरुलाई आतिथ्यतको ज्ञान बढ्ने उनले बताए ।विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यार्थीलाई किताबी ज्ञान बाहेक प्रयोगात्मक अभ्यास जरुरी रहेको बताए ।

‘विद्यालयमा होटल व्यवस्थापनका विद्यार्थीले विभिन्न होटल भ्रमण गरेर आतिथ्यता र खानाको स्वादबारे जानकारी त लिएका हुन्छन । विद्यालयमै हुने प्रयोगात्मक गतिविधिमा पनि सहभागि पनि भएका हुन्छन । तर, उनीहरुलाई पाहुनासँगको निकटता अनुभव कम हुने भएकोले आतिथ्यताको अनुभव दिलाउन यस्ता कार्यक्रम आवश्यक छ,’ उनले भने । विद्यालयमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीको सक्रियतामा फूड फेस्टिवल आयोजना गरिएको थियो । विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीले सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि विद्यार्थीलाई चाहिने बताए । क्षेत्रीले भने, ‘हामी कक्षाकोठामा पढाउँछौ, बेलाबखत भान्सामा अभ्यास पनि गराउँछौ । तर, त्यो नै पर्याप्त नभएकोले फूड फेस्टिवल आयोजना गरिएको हो,’ उनले भने, ‘फूड फेस्टिवलको तयारीको क्रममा विद्यार्थी आफैले मेनु तयार पार्नेदेखि लागत अनुमान पनि गरेका थिए । व्यवस्थापन विषय अन्तर्गतका विद्यार्थीले होटल व्यवस्थापनको मात्र नभई लेखा राख्ने अभ्यास पनि यसैसँग गर्न पाउने उनले बताए ।

विद्याथीले फूड फेस्टिवलसँगै विद्यालयमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि पस्केका थिए । पश्चिमाञ्चल माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन अभ्यापन हुदै आएको छ । आगामि वर्षमा पनि यस्तै कार्यक्रल आयोजना गर्ने प्राचार्य कोइरालाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।