सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो । तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो ।
महोत्सवमा साँझ सांस्कृति प्रस्तुती र पंचैबाजाको रमाइलो रहने छ । पप कन्सर्टका कार्यक्रम पनि समेटिने छन् । सोमबार भने खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पंचैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पंचैबाजा समूहले भाग लिएको महोत्सव आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पंचै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उनले जानकारी दिए । पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने छ ।
महोत्सवको उद्घाटन गर्दै प्रजिअ शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रुपमा संचालन हुँदै आउनु नै यसको सफलता भएको बताइन् । पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसावले महत्वपुर्ण शहर रहेको भन्दै उनले पर्यटनको राजधानीको उपमा समेत पाउनु पोखराका लागि सकारात्मक पक्ष भएको भनाई राखिन् । महोत्सवमा प्रस्तुत कलात्मक झाँकी र प्रस्तुतीले जनताविचको एकता झल्किएको उनले सुनाइन् । पोखरालाई सुरक्षित र सुन्दर सहरको रुपमा निरन्तर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा बढी जोड दिन सुझाव राखे । पोखराका लागि आन्तरिक पर्यटक तथा भारतीय र चिनिया पर्यटकले ठूलो योगदान दिन सक्ने उनले बताए । कार्यक्रमको संचालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै भएको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






