फूल र रङ्गहरू


     डा. अनिल सुवेदी    
     भाद्र ६ गते २०८२ मा प्रकाशित




प्रकृतिले यस धरतीमा अपार उपहार दिएको छ। हामीले सुनेका, देखेका, पढेका आधारमा बिभिन्न विधाका विज्ञहरुले निकै धेरै अध्ययन अनुसन्धान, खोज, पुस्तक र लेखहरू प्रकाशन भएको हामीलाई लागे पनि प्रकृतिलाई समग्ररूपमा हेर्दा अति थोरै विधाहरूमा मात्र अध्ययन, अनुसन्धान भएका छन्। प्रकृतिका अधिकांश विधा अझै खोजी गरिनु पर्ने देखिन्छ। तर खोज अनुसन्धान गरिएका बिषयबस्तु मध्ये वनस्पति जगत भित्र फूल पनि पर्दछ। त्यस्तै रङ्ग पनि पर्दछ । यी दुई बीच अन्तरसम्बन्ध पनि जोडिएका छन्।

​फूल र रङ्ग बीच धेरै पक्षमा अन्तरसम्बन्ध छ। ती मध्ये एक पक्षको प्रसङ्गलाई मात्र समेट्दै यस लेखमा ‘फूल र रङ्गहरू’ को सम्बन्ध र महत्व बारे जानकारी दिने प्रयास गरिएको छ।

वनस्पति र फूलको उत्पत्ति :
​विश्वमा वनस्पतिको उत्पत्ति कहिले र कुन काल खण्डमा भएको हो भन्ने तथ्य पूर्ण रूपमा स्पष्ट भैसकेको छैन। विश्वमा दुई बर्गका वनस्पतिहरू छन् (आवृत्ति बिजी अर्थात् फूल फूल्ने (Angiosperm) वनस्पतिहरु र नग्न बिजी अर्थात् फूल नफूल्ने (Gymnosperm) बनस्पतिहरू। यी दुवैका पूर्खा एकै भएको र यिनको उत्पत्ति करिव ३० करोड ६० लाख २५ हजार बर्ष अघि भएको अनुमान छ। सो पश्चात् ती वनस्पतिहरू अनेकौं प्रजातिमा विविधिकरण हुँदै गए। फूल फुल्ने र फूल नफूल्ने वनस्पतिहरू करिव साढे तेह्र करोड बर्ष पहिले भिन्न भएको वनस्पतिविदहरू र अन्वेषकहरू बताउँछन्। एकै पूर्खाका वनस्पतिहरू कसरी फूल फूल्ने र नफूल्ने भएर छुट्टीए र फूल फूल्ने वनस्पतिहरूको वास्तविक उत्पत्ति कसरी भयो भन्ने तथ्य पनि त्यति प्रष्ट छैन। सन् २०२१ जनवरीको Nature, Ecology and Evolution भन्ने बैज्ञानिक पत्रिकामा प्रकाशित एक अनुसन्धानात्मक लेख अनुसार यी दुई बर्गका वनस्पतिहरू जुरासिक युगमा भएको उल्लेख छ। एक भिन्दै आनुवंशिक विश्लेषणका अनुसार करिब बिस करोड वर्षअघि फूल नफूल्ने वनस्पतिको अनुवंशको समुह (Genome) को संख्या दोब्बर हुँदै गयो र त्यस मध्ये एक समुहबाट अचानक फूल प्रस्फूठित भयो। तिनैका सन्ततिको आज ३,००,००० भ न्दा बढी प्रजातिका फूल फुल्ने वनस्पतिहरू अस्तित्वमा छन् भने फूल नफूल्ने प्रजातिका वनस्पतिको संख्या ३०,००० भन्दा बढी छन्।
​चार्ल्स डार्विनले यो प्रक्रियाको रहस्य पत्ता लगाउन प्रयास गरेका थिए तर उनले यो रहस्य पत्ता लगाउन भने सकेका थिएनन्। फूल फुल्ने वनस्पति अचानक ह्वात्तै प्रष्फुटन भएको भन्ने थाहा पाए पछि उनले यस प्रकृयालाई “एक आश्चर्यजनक रहस्य” (An abominable mystery) भनि वर्णन गरे। यस बारे चार्ल्स डार्विनले आँफू देहावशान हुनु अघि सन् १८८१ मा वनस्पतिशास्त्री एवम् अन्वेषक डा. जेसेफ हुक्करलाई एक पत्रमा लेखेका थिए “वनस्पति जगतको इतिहासमा अत्यन्तै असमान्य लाग्ने घटना भनेको नै मेरो लागि यी फुल फुल्ने वनस्पतिहरू स्पष्ट रूपमा अति हठात् वा द्रुत गतिमा भएर आउनु हो। कहिले काहिं मैले अनुमान गर्ने गर्दथें कि युगौं पूर्वबाट यी वनस्पति कुनै एउटा अत्यन्तै एकलासको महाद्वीप, सम्भवत दक्षिणी ध्रुब, नजिक पक्कै पनि अस्तित्वमा थिए”। तर उनको यो सोंचाइ र अवधारणा भन्दा फरक वनस्पतिको प्रष्फुटन भयो, त्यसैले उनी आश्चर्यमा परेका थिए।
​ती फूल फूल्ने वनस्पतिहरुको उदय पछि हाल सम्म पृथ्वीमा फूल फूल्ने प्रकारका अनेकौं वनस्पतिहरू र तिनका प्रजातिहरू ९फूल, खाद्यान्न वाली, फलफूल, तरकारी आदि लगायत साना र ठूला वृक्ष समेतका लाखौँ प्रजातिहरूको जन्म भै सकेको छ। कतिपय पत्ता लागिसकेका छन् भने अझै धेरै वनस्पतिहरू पत्ता लगाउन बाँकी नै छन्।
रङ्गको उत्पत्ति :
​रङ्गहरूको उत्पत्ति सायद ब्रह्माण्डको उत्पत्तिसँगै भएको हुनु पर्छ। तर मानवको उत्पत्ति र उदय पछि मात्र बिभिन्न कालखण्डमा रङ्गहरूको नामाकरण हुँदै गएको हो भन्नेमा सायद दुई मत नहोला। मानवको संस्कृति, धर्म र विश्वासको उत्पत्तिको आधारमा विभिन्न धारणा, भावना, ऋतुहरू, अनुभव र समारोहहरू परिभाषित गर्न रङ्ग प्रयोग गरिएका हुन्। प्रकाश (Light) को धेरै वा थोरै र अँध्यारो देखि उज्यालो सम्मको अवस्था हेरी विश्वमा करिव एक करोड भन्दा बढी रङ्गहरू भएको विज्ञहरू बताउँछन्। तर ८/१० वटा मात्रै प्रमुख वा सहायक रङ्गहरूमा मात्र हाम्रो ध्यान आकर्षित हुने गरेको छ। मानव जातिले करिव ७५,००० बर्ष अघि गुफामा चित्रहरू बनाउन रङ्गहरूको प्रयोग गरेको बिभिन्न लेखहरूमा उल्लेख गरिएका छन्। चालिस हजार बर्ष भन्दा पहिले त्यतिबेलाका कलाकारहरूले बिभिन्न रङ्गहरू माटो, जनावरको बोसोरतेल, कोईला, चुन आदिको माध्यमबाट रातो, पहेंलो, कालो, सेतो र खैरो रङ्ग प्रयोग गरेका थिए भन्ने खोजकर्ताहरूको भनाई छ। आइज्याक न्युटनले प्रकाश र रङ्ग सम्बन्धि एक ‘रङ्ग चक्र’  (Color Wheel) को आधारमा अनुसन्धान गरी सो कार्यबाट रङ्गको आधुनिक अवधारणको जग बसेको हो भन्ने मान्यता रहेको छ। शताब्दीयौं अघिको बिभिन्न कालखण्डमा बिभिन्न समाजहरूमा प्रारम्भिक ज्ञान, भाषा र पृथक संस्कृतिहरूले रङहरूको नामकरण हुन थाल्यो। तर संयोग नै मान्नु पर्छ कि केही अपवाद बाहेक हजारौँ मेल टाढा बसेका मानव बस्तीहरूले आ-आफ्नो तरिकाले बेग्ला बेग्लै रङहरूको नामाकरण गरे । यस्तो परिवेशमा पनि रंगको नामाकरण एकै प्रकारका हुन गए, जस्तै : विश्व भरी बिभिन्न स्थानमा कालो, सेतो, रातो, हरियो, पहेंलो, नीलो, खैरो, बैजनी, गुलाबी आदि आदिको नामाकरण भयो। यो क्रमानुकरणमा भिन्दा भिन्दै स्थानमा बसेका मानव जातिको सोंचाइ एकै हुन् की भन्ने देखिन्छ। बर्तमान समयमा प्रत्येक बस्तु रङ्ग सङ्ग जोडिएको हुन्छ, रङ्ग हरेक वस्तुको पहिचान बनिसकेको छ।

फूल र रङ्गको अन्तरसम्बन्ध :
१) रातो रङ्ग र फूल :
​रातो रङ्ग प्रायस् प्रेम, जोश, जीवन्तता, रोमाञ्चक वातावरण सृजना गर्ने र न्यानोपनसंग सम्बन्धित छ। साथै यो रङ्गले खतरा वा सावधानीको पनि संकेत गर्दछ। यो रङ्ग अरू रङ्ग भन्दा बढी ध्यान आकर्षित गर्ने रङ्ग हो, र प्रेम जस्तो बलियो भावनासँग जोडिएको छ। रातो रङ्ग साहस, उत्साह, उर्जा र शक्तिलाई संकेतको रूपमा विश्वव्यापी रूपमा प्रयोग गरिन्छ । रातो रङ्गले कामुकता र इच्छाशक्तिलाई पनि प्रेरित गर्दछ। यसको ज्वलन्त उदाहरण हो (रातो वा गुलाबी रंगका गुलाबको फूल। त्यसैले नवविवाहित जोडीको ओछ्यानमा रातो वा गुलाबी रंगका गुलाबका पत्रहरू फैलाइन्छन् किनभने यसले दम्पतीबीच स्नेहभाव र आत्मियता बढाउँछ, र रोमान्चित वातावरण सिर्जना गर्छ। साथै पश्चिमी देशमा प्रत्येक बर्ष फरवरी महिनाको १४ तारिख मनाइने भेलेन्टाइनका दिन वा अन्य समय प्रेमीले प्रेमिकाका लागि रातो रङ्गको गुलावको फूल अर्पण गर्ने गर्दछन्। सनातन धर्मका सम्पूर्ण पूजा, शुभकार्यमा रातो रङ्गका फूलहरू अत्यन्तै शुभ मानिन्छन् भने यस रङ्गका फूल देवी कालीको प्यारो फूल मानिन्छ। देवीदेवतालाई चढाउन गुलाव फूलबाट बनाइएको ‘गुलाव जल’ पनि पवित्र मानिन्छ। अन्य धर्महरूमा पनि रातो फूल, बिशेष गरी रातो गुलाव, को बिभिन्न उत्सवमा महत्वका साथ प्रयोग गरिन्छ । गुलावको फूलको बिशेष सुगन्धका कारण बिभिन्न खानाका परिकार, पेय पदार्थ र औषधिमा पनि रातो गुलावको फूल प्रयोग गरिएको पाइन्छ।
२) निलो रङ्ग र फूल :
​निलो रङ्ग सागर र आकाशको रङ्ग हो। यसलाई प्रायस् निर्मलता, शान्तपन, स्थिरता, वफादारी, प्रेरणा, शितलता र गहिराईको प्रतीक मानिन्छ। निलो रङ्गलाई विश्वसनीयताको प्रतीक पनि मानिन्छ। यस रङ्गले आत्मविश्वास जगाउँछ र विश्वास, वफादारी, अखण्डता र जिम्मेवारीको भावनालाई प्रेरित गर्दछ। उदाहरणको निम्ति कसैलाई शान्त मन बनाउन सकोस् भन्ने कामनाका निम्ति निलो फूल उपहार दिने वा पठाउने प्रचलन रहेको, यसलाई प्रायस् शान्तिवार्ता कक्षमा अन्य आकर्षक फूलहरूका साथ मिसाएर राखिने गरिन्छ, डेमेन्सिया रोग बारे जनचेतना फैलाउने कार्यमा प्रयोग गरिने गरिन्छ, डेमेन्सिया समस्या भएका व्यक्तिलाई सान्त्वना दिन प्रयोग गरिन्छ। बैबाहिक महोत्सव वा नयाँ बच्चा जन्मेको अवसरमा पनि निलो फूल सहित उपहार दिने प्रचलन धेरै देशहरूमा रहेको पाइन्छ।
३) पहेंलो रङ्ग र फूल :
​पहेंलो रङ्ग प्रायस् घाम या आनन्द संग सम्बन्धित छ। यो रङ्ग आशावादको रङ्ग पनि हो, जसले युवापन र ताजा ऊर्जा प्राप्त भएको अनुभूति दिलाउँछ। घामको यो रङ्ग गर्मी, उज्यालो, जिबन्तता, सफलता र आत्मविश्वाससँग पनि सम्बन्धित छ। पहेंलोले मस्तिष्कको बायाँ भागलाई उत्तेजित गर्छ, स्पष्ट सोंच र छिटो निर्णय गर्न मद्दत गर्छ, र अरूको ध्यानाकर्षण गराउँछ। उदाहरणका निम्ति – पहेंलो फूल कसैलाई बधाई दिन, कृतज्ञता ज्ञापन गर्न, कसैको कुनै महत्वपूर्ण उपलब्धिको खुसियाली बाड्न, कसैको दिन राम्रो बितोस् भन्ने शुभकामना दिन, कसैको जन्मदिनमा शुभकामना दिने जस्ता अवसरमा प्रायस् पहेंलो फूलको उपयोग गरिन्छ।
४) हरियो रङ्ग र फूल :
​हरियो रङ्गलाई प्रकृति, वृद्धि, बिबेक र सुस्वास्थ्यको रंगको प्रतीक मानिन्छ। हरियो रङ्ग स्फूर्तिदायी र शान्तिमय रङ्गको रूपमा पनि लिइन्छ। यसले आरामदायी र सुरक्षित, स्वच्छ वातावरणको भावना जगाउँछ। यस रङ्गले विश्वसनीयता, स्थायीत्व, बसन्त, बिश्राम, ताजगीपन र इमान्दारिता पनि जनाउँछ। यस रङ्गका फूलहरू प्रायस् शैक्षिक सफलताका अवसरमा, गृह सजावटमा, प्रकृति पूजामा, नविन कार्यको थालनीमा, बैबाहिक उत्सवमा, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा, पश्चिमा देशमा ‘वेवी सावर’ ९द्यबदथ क्जयधभच० का अवसरमा, सुस्वास्थ्यको कामना गर्दाका अवसरमा, फूल गुच्छामा मिसाउन आदिमा प्रयोग गरिन्छन्।
५) कालो रङ्ग र फूल :
​कालो रङ्ग सामान्यतया अन्धकार, रात, नकारात्मकता, शोक वा मृत्युको प्रतीक मानिन्छ। कालो रङ्ग रहस्यको रङ्ग पनि हो। यस रङ्गले अभाव, गोप्यता, वास्तविकताको ढाक्छछोप, बाधा, डर, निराशावाद, अबैधता र रोगलाई संकेत गर्छ र आसाको अभावलाई बुझाउँछ। यस रङ्गले शक्ति र नियन्त्रणलाई पनि संकेत गर्छ। कालो रङ्गका फूलहरू प्रायस् धेरै कम हुन्छन्। कालो गुलावको फूल अति दुर्लभ र महंगा हुन्छन्। प्राप्त भए सम्म कालो फूल प्रायस् मृत्यु अन्त्येष्टिमा, दुस्ख र समवेदना दर्शाउनमा प्रयोग गरिन्छन्।
६) सेतो रङ्ग र फूल :
​सेतो रङ्गले प्रायस् शान्ति, पूर्णता, विश्वास, निर्दोषता, सफापन, कोमलता, कुमारीत्व, सादकीपन, चिसोपनको प्रतिनिधित्व गर्दछ। शुद्धताको प्रतीकको रुपमा धेरैले सेतो वस्त्र लगाउँछन्। सनातन धर्ममा सेतो रङ्गका फूलहरू पितृ कार्यमा, शोकसभामा प्रयोग गरिन्छन्। हिन्दु धर्ममा कुनै परिवारको आमाबुवाहरू स्वर्गारोहण भए पश्चात् परिवारका सदस्यहरूले सेतो बस्त्र लगाउँने मान्यता छ। त्यसै गरी पति को स्वर्गारोहण पछि उनकी बिधवा भएकी श्रीमतीले पनि प्रायस् सेतो बस्त्र पहिरन गर्नु पर्ने सामाजिक मान्यता रहेको थियो। सेतो कमलको फूल देवी लक्ष्मीको प्यारो फूल हुनुका साथै लक्ष्मीलाई अन्य सेतो फूल पनि चडाउने गरिन्छ। सेतो कमलको फूल ब्रह्माको पनि प्रिय फूल हो। त्यस्तै बौद्ध धर्ममा सेतो कमललाई आध्यात्मिक उँचाईको संदर्भमा कमललाई ज्ञानको रूपमा लिइन्छ भने कमलको फूललाई मानिस पुग्न सक्ने सम्भवतस् उच्चतम स्तरको प्रतिकको रूपमा समेत लिने गरिन्छ। बिभिन्न बौद्ध कलाकृतिमा बुद्धको प्रतिनिधित्व गर्न कमलको फूल उपयोग गर्ने गरिन्छ। क्रिश्चियन धर्ममा सेतो फूल बैबाहिक उत्सवमा, बच्चाको नामाकरण आदिमा प्रयोग गर्ने गरिन्छ।
७) गुलाबी रङ्ग र फूल :
​गुलाबी रङ्गलाई कोमलता, स्त्रीत्व, मिठास, सम्बेदनशील, प्रेम, सुरक्षाको भावना र पालनपोषणको रङ्गको प्रतिक मानिन्छ। यस रङ्गका फूलहरू विभिन्न सुखद उत्सवहरू, घर सजावट, नयाँ कार्यको थालनी, उपहार, फूलको गुच्छा सङ्ग मिसाउन, सनातन धर्मका पूजा कार्यहरू आदिमा प्रयोग गरिन्छन्।

८) सुन्तला रङ्ग र फूल :
​पहेंलो र रातो रङ्गको संयोजनको सुन्तला रङ्गलाई न्यानोपन, प्रफुल्लता, खुसीपन, आनन्दपन, रचनात्मकता, प्रोत्साहन र उत्साहको रङ्ग मानिन्छ। यसले भोकलाई र राम्रो स्वस्थको संकेत गर्छ। सुन्तला रङ्गका फूलहरू कसैलाई उत्साहित गराउन, सफलताको कामनाको लागि, मित्रताको न्यानोपन दर्शाउन, साथीहरूलाई जन्मदिनको उपहारको रूपमा दिन, सफलता र उपलब्धिका उत्सवहरूमा, कसैको मुड उज्यालो बनाउन दिइन्छ भने सनातन धर्ममा पूजा वा शुभाकार्यहरूमा प्रयोग गरिन्छन् ।

९) खैरो रङ्ग र फूल  (Brown color) :
​यस रङ्गले पृथ्वीको रङ्गलाई जनाउँछ, स्थिरताको आधार, शरद ऋतु, प्राकृतिक, स्वस्थता, सुरक्षा, आत्माबिश्वास र ईमानदारीतलाई प्रतिनिधित्व गर्दछ। तर खैरो रङ्ग धेरै मानिसलाई कम मनपर्ने रङ्गहरू मध्येमा पर्दछ। यस रङ्गका फूलहरू प्रायस् कुनै कार्य स्थायी बनोस् भनी अर्पण गर्ने वा उपहारको रूपमा दिने, अन्य फूलहरूका साथ फूलको गुच्छामा मिसाउने, सनातन धर्ममा पूजामा वा पितृ कार्य आदिमा प्रयोग गरिन्छन्।

१०) फुस्रेरखरानी रङ्ग र फूल (Grey color) :
​यो रङ्ग सम्झौता, परिपक्वता र सुरक्षाको रङ्ग हो तर यसलाई प्रायस् भावनाबिहींन, उदासीपन, र निराशापन रङ्गको रूपमा मानिन्छ। यसलाई रुढिबादी, परम्पराबाद, गम्भीर, तर स्थिर र विश्वासनीय रङ्गको रूपमा पनि लिइने गरिन्छ । यस रङ्गका फूलहरू प्रायस् उद्योग स्थापनाका अवसरमा वा उद्योग सङ्ग सम्बन्धित कार्यहरूमा, कुनै ब्यबसायको प्रारम्भमा, नयाँ कार्यको शुभारम्भमा, वा अन्य फूलहरूका साथ गुच्छामा मिसाउन प्रयोग गरिन्छन्। धुस्रेफूल, खैरो रङ्गको पाती आदि जस्ता खरानी वा फुस्रे फूलहरू सनातन धर्मका बिभिन्न पूजा वा पितृ कार्यमा पनि प्रयोग गरिन्छन्।

११) बैजनी रङ्ग र फूल Purple/Violet color) :
​यो रङ्ग शक्ति, राजसी, कुलिनता, भव्यता, बिलासिता र रहस्यमयी मानिन्छ। यस प्रकारका रङ्गका फूलहरू प्रायस् बैबाहिक कार्यक्रम, रोमान्चित बनाउने अवसर, बिभिन्न प्रकारका सुखद उत्सवरमहोत्सवहरूमा र शान्त वातावरणका लागि प्रयोग गरिनुका साथै सनातन धर्ममा बिभिन्न देवीदेवताका पूजा वा कार्यमा अर्पण गरिन्छन्।

अन्तमा,
​फूलहरू सुन्दर हुन्छन्, तिनले प्राणीलाई हावा दिन्छन्, शान्ति प्रदान गर्छन्, तिनमा औषधीय गुण हुन्छन्,परागसेंचनमा महत्वपूर्ण योगदान गर्छन, मौरीबाट मह उत्पादन मा योगदान गर्छन र वातावरण स्वास्थ्य राख्न योगदान गर्छन्। वास्तुशास्त्र र चीनको फेङशुई (अर्थात् चाईनिज वास्तुशास्त्र) अनुसार वास्तुदोष निवारण वा घर परिवारको सुख, शान्ति र समृद्धिका लागि पनि वास्तुले निर्देश गरे अनुसारका फूलरवनस्पति बिभिन्न दिशामा लगाए वा राख्नेमा उपयोगी हुन्छन्। एकै शब्दमा भन्नु पर्दा फूल बहुउपयोगी बस्तु हुन्। साथै रङ्ग पनि एक महत्वपूर्ण बिज्ञान हो जस बारे धेरै अध्ययन भएको छ। फूल र रङ्ग विचको गहिरो अन्तरसम्बन्ध बारे विश्वका बिभिन्न धर्म, संस्कृति, परम्परा र आस्थाका आधारमा प्रशस्त ज्ञान सृजित भएका छन्। यस लेखमा उल्लेखित रङ्ग र फूलहरू उदाहरणका लागि मात्र प्रस्तुत गरिएका हुन्, बिस्तृत विवरण भने होइनन्। फूल र रङ्ग बारे अझै गहन खोज अध्ययन हुन आवश्यक छ।

………….. इति …………..


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।