सन्देश श्रेष्ठ
पोखरा, बैशाख १७
नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा बसपार्कमा रहेको सुकुम्बासी बस्तीबारे पहिलो पटक औपचारिक रुपमा मुख खोलेको छ । महासंघ गण्डकीले १३७ औं अन्र्तराष्ट्रिय मजदुर दिवस (मई दिवस)को अवसरमा विहीबार पत्रकार सम्मेलन गरेर वैकल्पिक व्यवस्था नगरी पोखरा बसपार्कमा रहेको सुकुम्बासी बस्तीमा डोजर नचलाउन पोखरा महानगरपालिका र सरकारलाई आग्रह गरेको छ ।
पोखरा महानगरपालिकाले पोखरा बसपार्कमा रहेको सुकुम्बासीलाई घर, टहरा खाली गराउन ३५ दिने सूचना निकालेको छ । एक हप्ताअघि निकालेको सूचनामा अबकाृ ३५ दिनभित्र सो ठाउँ खाली गरिसक्न भनिएको छ । सो सूचनापश्चात स्थानिय सुकुम्बासी त्रसित अवस्थामा छन् । त्यहाँका सुकुम्बासीलाई दलहरुले ब्याक सपोर्ट गर्दै आएका छन् । तर काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलिरहँदा पोखरा महानगरपालिकाले पनि सुकुम्बासी बस्ती खाली गर्न भन्दै सूचना निकालेपछि नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलहरुले अब के गर्छन् भन्नेबारेमा स्पष्ट छैन ।
यहि सेरोफेरोमा नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले वैकल्पिक व्यवस्था नगरी पोखरा बसपार्कको सुकुम्बासी बस्ती खाली नगराउन महानगरलाई सचेत गराएको छ । पोखरा बसपार्क निर्माणमा सुकुम्बासी बाधक नबन्ने बताउँदै उसले त्यसका लागि पोखरा महानगरपालिकाले बसपार्क निर्माणको ज्ञारेन्टी गर्नुपर्ने तथा सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने जनाएको छ । महासंघ गण्डकीका अध्यक्ष गौतमले बसपार्क पूर्व निर्धारित २०५ रोपनी क्षेत्रफलमै बन्नुपर्ने र त्यसको ज्ञारेन्टी पोखरा महानगरले गर्नुपर्ने बताए । सुकुम्बासी विकासको बाधक कहिल्यै नबन्ने अध्यक्ष गौतमले बताए । हिजो जसले हजारौं विघा जमिन सत्ता र शक्तिको दुरुपयोग गरेर हडपेर धनी बन्यो आज त्यसैले गरीबलाई विकासको बाधक भन्दै डोजर चलाएको उनको आरोप छ । ‘सुकुम्बासी विकासको बाधक हिजो पनि थिएन, आज पनि होईन र भोलि पनि हुँदैन’–उनले भने ।
बसपार्क निर्माणका लागि सरकारले २०३२ सालमा २०५ रोपनी क्षेत्रफल छुट्याएको थियो । त्यसबेला पोखराको पृथ्वीचोकको करीब दुई सय मिटर पूर्वपट्टी रहेको सेती डिल किनारबाट पश्चिमतर्फ, पृथ्वी राजमार्ग हाईवेबाट दक्षिणतर्फ, पुरानो एयरपोर्टबाट उत्तरतर्फ र पुरानो ट्राफिक कार्यालयबाट पूर्व तर्फको भाग बसपार्क बनाउनका लागि भनेर छुट्याएकाले त्यो सबै क्षेत्र खाली गरेर बसपार्क बनाउनुपर्नेमा महासंघ गण्डकी रहेको अध्यक्ष गौतमले बताए । सो २०५ रोपनी जमिनमध्ये हाल करीब १९ रोपनीमा मात्रै बसपार्क छ । सत्ता र शक्तिको आडमा त्यहाँको अधिकांश जमिन हडपेर व्यक्तिको नाममा लालपूर्जा बनेको गौतमको दाबी छ । पहिला सो जग्गामा डोजर चलाउनुपर्नेमा महासंघ गण्डकी रहेको उनले प्रष्ट्याए । गरीबको उठीबास लगाउने र धनीले हडपेकोचाहिं छाड्ने कदापी स्वीकार्य नहुने बताउँदै उनले भने,‘हामी बसपार्क बनाउनुपर्छ भन्नेमै छौं । तर बसपार्क कति क्षेत्रफलमा बन्छ र घरटहरा भत्काउन कहाँबाट शुरु गरिन्छ भन्ने हामी हेरिरहेका छौं ।’
महासंघ गण्डकीले सुकुम्बासी बस्ती खाली गर्ने नाममा आतंक सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गरेको छ । वैकल्पिक व्यवस्था नगरी पोखरा बसपार्क क्षेत्रमा बसेको सुकुम्बासी बस्ती खाली गर्नेबारे पोखरा महानगरपालिकाको ३५ दिने सूचनाले स्थानियमा आतंक सिर्जना गरेको उनको भनाई छ । बास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्रै त्यहाँ डोजर चलाउन उनको आग्रह छ । अन्यथा महानगरले निकालेको ३५ दिने सूचनाको हदम्याद सकिएको भोलिपल्ट ३६ औं दिनमा आफूहरु पनि दश हजार मजदुर र सुकुम्बासी डोजर लिएर सडकमा निस्किने उनले चेतावनी दिए । तपाईंहरु डोजर देखाएर गरीब, निमुखा जनतालाई देखाएर डर, त्रास देखाउने काम बन्द गर्नूस्,उनले भने,‘डोजर हामीसँग पनि छ, हामीसँग डोजर चलाउने पनि छन् र डोजर पनि छन् । कहाँकहाँ डोजर चलाउनुपर्छ हामीलाई पनि थाहा छ ।’
महासंघ गण्डकीका बरिष्ठ उपाध्यक्ष भोजराज खत्रीले आफूहरु पनि पोखरा बसपार्क बनाउनुपर्ने पक्षमा रहेको बताए । ‘तर त्यहाँ बस्दै आएका भुमिहीन सुकुम्बासीलाई बेहाल र बेघर बनाएर होईन, वैकल्पिक व्यवस्था गरेर बसपार्क बनाईनुपर्छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






