गण्डकी प्रदेश सभामा कांग्रेसले दियो, बराललाई प्रमुख सचेतकको जिम्मेवारी


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०८३ मा प्रकाशित




गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रमुख सचेतकको जिम्मेवारी प्रकाश बराललाई दिएको छ ।

यसअघि सचेतक रहेका बराललाई पदोन्नति गर्दै प्रमुख सचेतकको जिम्मेवारी दिईएको हो । यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि यो पद रिक्त थियो । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार बराललाई उक्त जिम्मेवारी दिएका हुन् ।बरालले प्रमुख सचेतकको जिम्मेबारी पाएसँगै अब उनले सम्हाल्दै आएको सचेतक पद रिक्त भएको छ ।केही दिनभित्रै सचेतकको पनि टुंगो लाग्ने नवनियुक्त प्रमुख सचेतक बरालले जानकारी दिए । वैशाखको पहिलो सातामै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।

पाण्डेले एमालेसहितको सरकारका मन्त्री हेरफेर गर्दा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद ऊर्जा मन्त्री बनेका हुन् ।एमालेले भने प्रमुख सचेतक नियुक्त गरेको छैन । यसअघिका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएपछि प्रमुख सचेतक रिक्त रहेको छ । एमाले सचेतकमा भने देवका पहारी छिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।