पोखराको पालिखेचोकस्थित प्रतिभा माविले गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । आइतबार आयोजित कार्यक्रममा पोखरा र कास्की आसपासका गरेर २९ वटा विद्यालयका टिमले सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा अक्सिजन टिम प्रथम भएर ३० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । त्यस्तै दोश्रो भएको नाइट्रोजन टिमले २० हजार रुपैयाँ पुरस्कार पायो । प्रतिश्पर्धामा नियन टिम तेश्रो भएर १० हजार रुपैयाँ पुरस्कार पायो । चौथो भएको हेलियम टिमले पाँचहजार तथा पाँचौ भएको आर्गन र छैठौ भएको हाइड्रोजन टिमले दुईहजार रुपैयाँका दरले सान्त्वना पुरस्कार पाए ।विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयमा हुने यस्ता प्रतिश्पर्धाले विद्यार्थीले कक्षा कोठामा पढेको ज्ञानको परीक्षण हुने बताए । एसइइको परिणाम आउनै लाग्दा त्यसपछिको अध्ययनको बारेमा विद्यार्थीले विशेष ख्याल गर्नुपर्ने प्राचार्य सापकोटाको भनाई छ । ‘अबको यात्रा ११ कक्षाको मात्र होईन । अबको केही दिनमा जिन्दगीको महत्वपूर्ण बाटोमा हिड्ने बेला भएको छ । म कुन बाटोमा हिड्ने होला भनेर सोच्नुपर्छ,’ उनले भने ।
विद्यार्थीले आफु र आफ्नो अभिभावकले देखेको सपनाको बाटोमा लाग्ने बेला भएको उनले बताए । ‘कक्षा ११ र १२ मा पढ्ने बिषयले विद्यार्थीको भविष्य कोर्ने हो । त्यसैले सोचेर मात्र विषय चयन गर्नुपर्छ । के विषय पढ्ने भन्ने महत्वपूर्ण छ,’ उनले भने, ‘हरेक विद्यार्थीमा कुनै न कुनै सम्भावना रहन्छ । त्यसैले सोचविचार गरेर सम्भावना पहिल्याउन सक्नुपर्छ ।’ प्राचार्य सापकोटाले विद्यार्थीलाई जर्बजस्त सपना देख्नुपर्ने सुझाव पनि दिए । ‘सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य देख्नुस । तर, चुचुरोसम्म पुग्न नसके पनि आधारशिविर त पुग्न सकिन्छ,’ उनले भने, ‘सपना नै नदेख्ने हो भने आधारशिविरसम्म पनि जान सकिन्न । त्यसैले टाढासम्मको लक्ष्य पहिचान गरेर विषय चयन गर्नुपर्छ ।’
विद्यालयले एसइइ दिएका विद्यार्थीलाई अध्ययनमा जोडिराख्नका लागि विज्ञान हाजिरीजवाफ प्रतियोगिता राखेको उनले बताए । ‘विद्यार्थी झन्डै एकमहिना देखि फुर्सदिला छन् । उनीहरुलाई कुनै न कुनै माध्यमबाट अध्ययनमा जोड्ने प्रयास प्रतिभा माविले गरेको हो,’ प्राचार्य सापकोटाले भने, ‘कामविहीन भएर विद्यार्थी बस्नु नपरोस भन्ने उद्देश्य हो ।’ यस्ता प्रतिश्पर्धाले नयाँ साथी पहिचान, क्षमताको अभिवृद्धि तथा अध्ययनमा सक्रिय बनाईराख्ने उनले बताए । कार्यक्रमका संयोजक मदन लामिछानेले अघिल्ला वर्ष यस्ता कार्यक्रम गर्दै आएको र आगामि वर्ष पनि निरन्तर हुने बताए ।
उनले पनि विद्यार्थीलाई पढाईमा सक्रिय बनाईराख्न प्रतिश्पर्धा आयोजना गरेको बताए । विद्यालयले शनिबार प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख २७ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन पोखरामा…




