कोरोना प्रभाव : राष्ट्रपति, प्रधानमन्त्री र पूर्व राजाले सर्वसाधारणलाई टीका लगाई दिएनन्


     एभरेस्ट आवाज    
     कार्तिक १० गते २०७७ मा प्रकाशित




राष्ट्रपतिले सर्वसाधारणलाई लगाई दिदै गरेको तस्बिर (फाईल तस्बिर)

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को प्रभाव दशैंको टीकामा पनि परेको छ । आम नेपालीले घर भित्रै सिमित भएरै दशैंको टीका लगाएका छन् भने देशका उच्च पदमा रहेका राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राजालगायत सबैले टीकालाई घर परिवारमै सिमित गरेका छन् ।

कोरोना कहरका कारण यसअघी सर्वसाधारणलाई टीका लगाई दिने गरेका राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक सर्वसाधारणलाई टीका लगाई दिईनन् । उनले यस पटक आफूले गुरु र आमाको हातबाट टीका लगाईन् । शुरुमा बिजयादशमीको मूख्य साईत १० बजेर १९ मिनेटमा उनले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी थिईन् । त्यसपछि मात्रै उनले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरिन् । आफूले टीका लगाईसकेपछि बल्ल राष्ट्रपति भण्डारीले आफ्ना छोरी तथा ज्वाईंहरुलाई टीका लगाई दिएकी थिईन् । कोरोना कहरका कारण सर्वसाधारणलाई भने टीका लगाई दिने कार्यक्रम स्थगित गरिएको राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि आज आफ्ना बृद्ध बुबाको हातबाट टीका ग्रहण गरे । यसअघीका वर्षहरुमा आफूले टीका ग्रहण गरिसकेपछि आफ्नो हातबाट टीका ग्रहण गर्न आएकालाई प्रधानमन्त्री ओलीले टीका लगाई दिने गरेका थिए । उनकोमा पार्टीका कार्यकर्ताहरु टीका लगाउन जान्थे । उनलाई केहिले ‘बा’ भनेर सम्बोधन गर्छन् भने उनीहरु हरेक वर्ष ओलीको हातबाट टीका थाप्न प्रधानमन्त्री निवास जान्थे । तर यस वर्ष कोरोनाका कारण टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री निकट श्रोतले बताएको छ ।

उसो त पूर्व राजा ज्ञारेन्द्र शाहलेपनि राजा हुँदाजसरी नै पछिल्ला वर्षहरुमापनि सर्वसाधारणलाई टीका लगाईदिने गर्दथे । राप्रपा तथा पूर्व पञ्चहरु उनको हातबाट टीका ग्रहण गर्न जान्थे । टीकाको दिन उनकोमा टीका लगाउनेको बाक्लै भीड हुन्थ्यो । कतिपयले यहि मौका छोपेर राजा आउ देश बचाउ’ भन्दै नाराबाजीसमेत गर्थे । तर यसपटक कोरोना कहरले यो मौका खेर गएको छ । अर्थात पूर्व राजा ज्ञानेन्द्र शाहलेपनि यसपटक सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।