‘अब मौसम क्रमिकरूपमा सुध्रन्छ’


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित




पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भो बाँकी भागमा मौसम सफा रहनेछ । पोखरामा बिहानैदेखि पारिलो घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले पोखरासहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ । आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने पनि महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र देशका बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटफुटदेखि वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । बिहीबार काठमाडौँमा तीन दशमलव छ मिलीमिटर वर्षा भएको छ । पोखरामा सात दशमलव पाँच, घोराहीमा पाँच दशमलव आठ, दिपायल र डडेलधुरामा समान तीन मिलीमिटर वर्षा भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।