
नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपाल समाजवाद उन्मुख समाज निर्माण तर्फ उन्मुख हुने भन्ने कुरा उल्लेख गरिएको छ । राजनीतिक वृत्तमा संविधामा यी केही हरफहरु लेख्नुलाई महान उपब्धी र यस संविधानको विशेष विशेषता भन्ने गरिन्छ । यो किन महान हो र के कारणले यो संविधानको विशेष विशेषता हो । यो संविधान निर्माण भएपछि वनेका सरकारहरु र यस संविधान भन्दा पहिलाका सरकाहरु भन्दा के कसरी फरक भए र नागरीकले के कस्ता अनुभुती गरिए भन्ने प्रश्नले यो संविधान र यस भन्दा पहिलाका संविधानको फरक अनुभुति गराउने हो । निश्चित रुपमा नयाँ संविधानले राज्यको पुर्नसंरचना र सहभागीतामा पहिला भन्दा फरक अनुभुति गराएको छ तर राजनीति, सामाजिक, आर्थिक प्रणालीमा नागरिकले अनुभुति गराउने भन्दा केही फरक तरिकाले काम गरको छ त ? रुपमा जे भए पनि सारमा नयाँ संविधान पछि भनेका सरकार, सरकारका नीति तथा कार्यक्रम र कार्यशैलीमा कुनै परिवर्तन भएको नागरिकमा अनुभुती छैन । नयाँ संविधान पछिका सरकारहरु पनि पुरानै पञ्चायतकालिन सामन्ती संस्कार बोकेका सरकारहरुको निरन्तरता जस्तो लाग्दछ । सरकार मात्रै होइन लोकतन्त्रको संस्थापक पार्टी नेपाली काँग्रेस र नेकपाको आचरण र व्यवहार पनि कुनै कोणवाट लोकतान्त्रिक लाग्दैन । सत्ता पक्ष, प्रतिपक्ष, नवउदीयमानको दाबेदारहरु कुनै पनि राजनीतिक पार्टीहरुका आचरण, व्यवहार, नीति तथा कार्यक्रमहरुमा नयाँपन भएको महशुश गर्न सकिदैन । जव सबै तहका सरकारहरुका श्रोतको रुपमा रहेका राजनीतिक पार्टीहरुमा लोकतान्त्रिक आचरण र व्यवहार हँुदैन तव तिनै पार्टीका सहभागितामा वनेका सरकाहरुमा जिम्मेवारी र जवाफदेहीता हुने कुरा परिकल्पना पनि गर्न मिल्दैन । लोकतन्त्रमा सरकारले होइन राजनीति पार्टीहरुले राजनीतिक तथा समाजिक सँस्कारलाइ मार्गनिर्देश गर्दछन ।
हालसम्मका राजनीतिक परिवर्तनहरुले न त सामाजिक मुद्धाहरुलाई सम्बोधन गर्न सके नत आर्थिक विकासको जग नै बसाले । राजनीति क्षेत्रवाट बारम्बार व्यक्त गरिने प्रतिवद्धताका बाबजुद नेपाली समाज परिवर्तन हुन सकेको छैन । नयाँ संविधानले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणको आधार त निर्माण गर्यो तर यसको मर्म र भावना अनुरुप कुनै पनि तहका सरकारका नीति तथा कार्यक्रमहरु प्रभावकारी नहुदा नागरीकहरुले परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । हाम्रो जस्तो राजनीतिक र सामाजिक प्रणाली भएको देशमा नागरीकहरुले के कसरी परिवर्तनको आभास महशुश गर्न सक्छन र विकासको गति द्रुत हुन सक्दछ भन्ने कुरा आम नागरीहरु, राजनीति नेतृत्व तथा सामाजिक अगुवाहरुले वुझेर तदनुरुपको व्यवहार गर्न जरुरी छ । विकास के हो र कसरी हुन्छ भन्ने जानाकारी राखेर जिम्मेवार निकायहरुलाई जवाफदेही वनाउन सकृय रुपमा नागरीकहरुको तदारुकता आवश्यक पर्दछ ।
विकास निरन्तर चलिरहने प्रक्रिया हो । प्राकृतिक श्रोतहरुको सन्तुलनता कायम राखेर जीवनलाई सहज र उत्साहवर्धक वनाउनु नै विकासको उद्धेश्य हो । अर्थशास्त्री अमात्र्य सेनका अनुसार विकास भनेको नागरीकहरुको दक्षताको अभिवृद्धि हो । नागरीक दक्षताले स्वतन्त्रताको प्रत्याभुति गराउदछ र स्वतन्त्रताले नागरीकहरुलाई मनपराएका वस्तुहरु प्राप्ती गर्ने अवसरमाथीको पहुँचलाई वढाउदछ । अनेकौ मौलिक विविधताका वावजुद हाम्रो समाज एक अर्कामा अन्तरनिर्भर छ र यो समाज समृद्ध, शान्त र गतिशिल हुनका लागि प्रत्येक व्यक्तिका आधारभुत आवश्यकता, सामाजिक सरक्षा र आत्मसम्मानको सुनिश्चिता भएकै हुनु पर्दछ । विगतको पञ्चायत र बहुदलले यी तिनै कुराहरुको व्यवस्थापन गर्न नसक्दा गाउँदेखी शहर सम्म असन्तुष्टी र विद्रोह सिर्जना भएको कारण नै यो नयाँ र परिवर्तित अवस्था सिर्जना भएको हो
मानिसको चेतना नै सिर्जनाको मुहान हो र व्यक्तिको दक्षतासँग सगै नयाँ नयाँ आविस्कार र सिर्जना हुन थाल्दछ । आज हिजो जस्तो होइन र भोलि आज जस्तो रहँदैन त्यसकारण विकासले जनताको जिवनमा सकारात्मक परिवर्तनको महशुस गराउने गरि समयको गति र नियमलाई बुझेर योजना, नीति तथा कार्यक्रमहरु बनाउनु पर्दछ । समयको नियम के हो भने प्रत्येक भोलि आज बनेर जीवनमा आउदछ र हिजो बन्दछ । त्यसकारण हिजो, आज र भोलिमा हामीले कहाँ के कसरी प्रभाव पार्न सक्दछौ भन्ने कुरा पत्तालगाउन जुरुरी हुन्छ । एकछिन समयको नियम र त्यसको प्रभावको बारेमा कुरा गरौ । विगत भनेको बितेको समय हो । यो यस्तो अवस्था हो न त फिर्ता ल्याउन सकिन्छ न मर्मत गर्न नै सकिन्छ । यसवाट दुईवटा सिकाई हुन्छन । एक सफलताका सिकाई अर्को असफलताको सिकाई । सफलतका कारण र प्रभावहरुको व्याख्या र विश्लेषणले मानिसलाई उत्साहित र सिर्जनशिल बनाउदछ, एक आपसमा जोड्दछ र थप उत्साह र सिर्जनशिलताको लागि प्रेरित गर्दछ । असफलताका कारण र परिणामको व्याख्याले दोषारोपण, निराशा र निरुत्साहित बनाउँदछ ।
बर्तमान भनेको हिजोका निर्णयहरुको परिणाम हो जुन पविर्तन हुँदैन । हिजो गरिएका निर्णयहरुले नै आजलाई निर्धारण गर्दछ । भविष्य भनेको नै सकारात्मक रुपान्तरणको भण्डार हो । यदि यो भण्डारलाई नयाँ तरिकाले परिभाषित गरेर नयाँ नयाँ योजना निर्माण गरेर ती योजनामा आधारीत भएर कार्यक्रम सञ्चालन गरीयो भने भविष्य वर्तमानमा आउँदा रुपान्तरणको अनुभव र महशुश गर्न सकिन्छ । प्रसिद्ध वैज्ञानिक अल्वर्ट आन्सटाईनका अनुसार परिकल्पना ज्ञान भन्दा शक्ति शाली हुन्छ त्यसकारण चाहे जस्तो वर्तमान प्राप्तीको लागि भविष्यको परिकल्पना गरेर सो अनुसारको आचरण व्यवहार, नीति तथा कार्यक्रम वनाउनु पर्दछ । तर यदि भविष्यलाई विगतका असफलताका कारण र परिणामसँग जोडेर अगाडी वढ्यौ भने भविश्य पनि विगत जस्तै वनेर जीवनमा आउदछ । त्यसकारण नेपालीका अगाडी दुईवटा अवसरहरु विद्यामान छन । १. विगत लामो समय देखी चल्दै आएको विगतका गल्ती तथा कमजोरीहरुको सुधार २. नयाँ र रुपान्तरणकारी भविष्यको निर्माण । यी दुई मध्ये सही विकल्पको छनौटले मात्रै नेपाल र नेपालीको भाग्य र भविष्यको फैसला गर्दछ ।
विकासको सन्दर्भमा विगतका वर्षहरुसम्म पोखरा महानगरपालिकाका नीति तथा कार्यक्रमहरु पुरानै ढाँचा र शैलिमा निर्माण हुने गरेका थिए भने शहरी योजना आयोगको गठन पश्चात यस वर्ष केही नयाँ स्वरुप प्रस्ताव गरेर कार्यपालिकाले पारित गरेपनि रातो कितावमा कतिपय पुरानै कार्यक्रमहरु प्रतिविम्वीत भएका छन । कार्यपालिकाले पारित गरेको तर संघिय सरकारको सुत्रमा समावेश गर्ने नाममा निर्वाचित जनप्रतिनिधीहरुको जानकारी विनानै कार्यक्रमहरु परिवर्तन हुने प्रवृत्तिले नीति तथा कार्यक्रममाथी निर्वाचित जनप्रतिनीधिहरुको नियन्त्रण नभएको कुरा प्रष्ट हुन्छ । अषाढको १२ गते महानगर सभाले नीति तथा कार्यक्रमहरु पारित गरेर प्रशासनलाई हस्तानान्तरण गर्दा पनि रातो किताव छापेर कार्यक्रमहरु भदौको २५ गते मात्रै सार्वजानीक भए । छ लाख नागरीक तथा हजारौ व्यसायीहरुको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने नीति तथा कार्यक्रम छाप्न मात्रै २ महिना लगाउने प्रवृत्तिले के महानगरको यस वर्षको कार्यप्रगती शत प्रतिशत हुन सक्ला ? यो २ महिनाको शुन्य कार्य प्रगतीको जिम्मेवारी कसले लिने हो ?
जनप्रतिनिधीहरुको दौडधुप, कर्मचारीहरुको हतारो जस्ताको त्यस्तै छ । श्रावण, भाद्र र आश्विनमा विकासका गतिविधिहरु ठप्प भए । यस्तो अवस्थामा यसवर्ष पनि महानगरपालिकाले विकासका लक्ष्य कसरी प्राप्त गर्दछ भन्ने प्रश्न पेचिलो बनेकोछ । गत चैत्र महिनामा अत्यन्तै उत्साहबद्र्धक रुपमा कार्यपालिकाले एकस्वरले पारित गरेर सबै वडाहरुको तथ्याँक संकलन गरेर पाश्वचित्र तयार गर्न शुरु गरिएको अभियान कोरोनाको कहरका बाबजुद जनप्रतिनिधिहरु, सुपरिवेक्षक र गणकहरुको जोखिमपूर्ण कार्यका कारण अधिकाँश वडाहरुमा उत्साहजनक तरिकाले सफल भयो । कार्यपालिकाले पारित गरेर वार्षिक नीति तथा कार्यक्रमले स्वीकार गरि रातो कितावमा उल्लेखीत कार्यक्रम हुँदा पनि आर्थिक वर्षको तीन महिना पुरा हुँदा पनि गणक तथा सुपरिवेक्षकहरुको पारिश्रमीक भुक्तानीमा नभएको तथा संकलित तथ्याँकहरुलाइ प्रयोग गरी डिजिटल प्रोफाइल बनाउने काम अलपत्र परेकोछ । महानगरपालिकामा थोरै लगानी र छोटो समयमा धेरै र द्रुत विकास गर्न महानगरको पाश्वचित्र तयार गरी त्रिवर्षिय योजना निर्माण गर्ने कार्यपालिकाको संकल्प अलपत्र परेको छ भने समग्र महागनरको विकास दिशाहिन भएको छ यस्तो अवस्थामा जनप्रतिनिधीहरुले कसरी आफना प्रतिवद्धता पुरा गर्ने र महानगरवासीहरुले विकासको प्रतिफल कसरी प्राप्त गर्ने प्रश्न निकै पेचिलो छ ।
यहि मात्रै घटनालाइ विश्लेषण गर्दा पनि महानगरभित्रका गतिविधी, व्यवहार र शैलिले दैनिक कति नागरिकहरुलाई र जनप्रतिनिधीहरुलाइ अपमानित बनाएको होला त्यसको सहजै अनुमान लगाउन सकिन्छ यसका अलावा, प्रयाप्त वजेटका उपलब्धता, नगरप्रमुख र जनप्रतिनिधिहरुका प्रतिवद्धताका बाबजुद किन महानगरको विकास द्रुत गतिमा हुन सकेको छैन भन्ने कुरा बुझ्न यहि एउटा घटनाको विश्लेषण गरेर प्रयाप्त हुन्छ । गत वर्ष लक्षित बजेटको ५० प्रतिशत हाराहारी मात्रै खर्च भएको थियो । यसवर्षको तीन महिना त्यसै खेर गइसक्यो भने मासिक कार्ययोजना तयार छैन । अत्यन्तै हचुवा र अवैज्ञानिक रुपमा कार्यक्रमहरु सञ्चालन गरिन्छन् । यसवर्ष २ लाख वृक्षारोपण गर्ने भन्ने कार्यक्रम पास भएको छ तर श्रावणदेखि असोजसम्म एक विरुवा पनि नरोपी समय खेर गयो । यस वर्षका कार्यक्रमहरु निकै महत्वकांक्षी छन यदि मासिक कार्ययोजना बनाएर निरन्तर कार्यक्रमहरु सम्पन्न गर्ने र प्रभावकारी अनुगमन गरेर कार्यक्रमहरुलाई सुधार गर्दै नजाने हो भने यस वर्षपनि कार्यप्रगती लक्ष्य अनुरुप हुन सक्दैन । कस्तो विडम्वना विनियोजित बजेट अनुसार कार्यक्रम कार्यान्वयन नहुदा न कसैले नागरिकलाई जवाफ दिनु पर्दछ नत कसैलाइ कार्यवाही नै हुन्छ । गरे नि हुने नगरे नि हुने सुविधाका कारण विकास योजनाहरु अलपत्र पर्दछन । स्थानीय पाठ्यक्रम, सबै सरकारी विद्यालयहरुको वेबसाइट निर्माण, आर्थिक विकास निगमको स्थापना, उद्योगहरुको स्थापना, शिक्षक तालिम, नागरीकहरुको स्वास्थ्य प्रोफाइल, कृषकहरुको वार्षिक उत्पादन तथा व्यवसायिक योजना, समानताको प्रत्याभुति, कुमाल भाषाको शब्दकोष, गुरुङ भाषाको व्याकरण निर्माण, पर्यटन व्यवसायको प्रवर्धन, युवा सशक्तिकरण जस्ता कयांै सिर्जनात्मक कार्यक्रमहरु त्यसै अलपत्र पर्ने लक्षणहरु देखिएका छन् । जति तिव्र गतिमा हुईंकिन चाहे पनि जनप्रतिनिधीहरु अधिकारविहिन् छन । जनप्रतिनिधीहरुलाइ एकदमै निरीह र अधिकारविहिन बनाएर विकासका गतिविधिहरु अगाडि बढ्न सक्दैनन् भन्ने कुराको सबैभन्दा राम्रो उदाहरण पोखरा महानगरपालिका भएकोछ । नागरिक समाज निदाएको छ भने सञ्चारमाध्यमहरु राजनीतिक सनसनी मच्चाउने खबर बाहेक विकासका खबर र स्थानीय सरकारले कसरी सुसासन दिन सक्दछ र नागरिकलाइ सामाजिक चासो र विकासका सवालमा कसरी सहभागी बनाउने भन्ने ऐजेण्डमा मौन भइदिदा समाज स्थिर बनेको छ । आशा गरौँ दुर्गा भवानीले सबैलाइ सत्बुद्धि प्रदान गरुन् र पोखरा महानगरको विकास विधुतीय गतिमा अगाडी बढोस् । शुभकामना ।
डा.लामिछाने सहरी योजना आयोग पोखराका उपाध्यक्ष तथा ईम्याजिन नेपालका पूर्व कार्यकारी अध्यक्ष हुनुहुन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






