आँगनको बलेनीसंगै त्रसित मन


     रामप्रसाद पौडेल‘घर्मेली’     
     असाेज ९ गते २०८३ मा प्रकाशित




अन्यत्रसंगै खुलेको छैन, मेरो गाउँको आकाश हिजोदेखि
निरन्तर झरिरहेछ बलेनी, मानौँ आकाशले आफ्ना सबै पीडा पोखिरहेको छ।

अविरल झरीले भिजेको भुँई, अविच्छिन्न बगिरहेको भल
हिजोसम्म मान्छेका पाइला र आवाज बज्ने बाटाहरु ,आज सुनसान छन्
सुनसान छ गाउँ ।

गाउँका कमै देखिन्छ चुल्होको धुवाँ, आँगनहरू खाली छन्,
खालीछन् बाटाहरू, उडेका छैनन् ढुकुर र धोविनीहरु
ठप्प छ जनजीवन, घरभित्र थुनिएर मानिसहरू
झ्याल र ढोका खोल्दै, आँगन हेरिरहन्छन् पटक—पटक
केही देखिँदैन पानी, पानी बाहेक।

वर्षा त प्रकृतिको स्वाभाविक भाषा हो, तर जब त्यो भाषा लगातार र कठोर बन्छ, मनभित्र कोरिन थाल्छन्
डरका अक्षरहरू,कतै पहिरो नजाओस्,
कतै बाटो नबगाओस्,कतै कुनै घर–आँगनमा विपत्ति नपसोस्। कतै कुनै अनिष्ट नहोस्,
कुनै दैवी प्रकोपले नछोओस्, त्रत्रसित छन् मनहरु।

हे प्रकृति, तिमी कति वर्षिरहेकी छौ,
तिम्रा आँखामा यति धेरै आँसु कहाँबाट आए
हामीलाई थाहा छ— तिमी बिना जीवनको अस्तित्व छैन
माटो अधुरो छ तिमी बिना, खेतले तिमी खोज्छ,
बारीले बारीले खोज्छ, वनले तिमी खोज्छ,
तिर्खाएको धरतीले तिमी माग्छ,तर यति धेरै पनि न होउ,
कि यही तिमी, जीवनका लागि डर बन्न पुगोस्
केही त मन्थर बन अब।

यतिधेरै अविरल रूप होइन प्रकृति, यी भिजेका बाटाहरूमा फेरि बालबालिकाका पाइला सुनिन देऊ।
गाउँमा फेरि जीवनहरु सलबलाउन देऊ, आँगनमा फेरि घाम फैलिन देऊ
बलेनीका थोपाहरु बिस्तारै रोकिएर, भलहरू थामिन देउ
बादलहरू बिलिन् बनुन्, चरीहरुले खेलन देउ,गाउँको मझेरीबाट आकाश देखिन देउ ।

रोकेर आफ्नो अविरलतालाई,हावामा फेरि शान्तिको सास भर,
बादलका भारी आँसुहरूलाई उज्यालोको बाटो देऊ, धर्ती भिजाऊ, तर नडुबाऊ,
माटोलाई तृप्त पार, तर जीवन नबगाऊ।

चुल्हाहरु निभ्न नदेऊ, बाटाहरू हराउन नदेऊ
भयो भो प्रकृति, कलिला मुटुहरु र त्रसित मनलाई
झन् झन् त्रास नदेउ, अब त केही मस्तर बन ।
(लेखक पौडेल शुक्ला साहित्य प्रतिष्ठानका सचिव हुन् )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।