पोखरा, फागुन १९
पोखरामा हालै सम्पन्न नेपाल साहित्य महोत्सव (लिटरेचर फेस्टिभल)को चर्चा परिचर्चा सर्वत्र छ । फेवाताल किनार वाराहीघाटमा चारदिनसम्म आयोजित महोत्सवमा विभिन्न शीर्षकमा गर्मागर्मी बहस भए । बहसमा आर्थिक, सामाजिक, राजनीतिकसँगै साहित्यिक विषयवस्तु समेटिए ।
तर साहित्य महोत्सवमा साहित्य कम राजनीतिक, आर्थिक बहस बढी भएको चर्चा चुलिएको छ । जसले गर्दा साहित्य महोत्सव माथि नै प्रश्न उठेका छन् । खास गरेर साहित्य महोत्सव साहित्यिक बहसमा केन्द्रीत हुनुपथ्र्यो, महोत्सवको उद्देश्य नै त्यहि नै बताईएको थियो । तर आयोजकको कमजोरी हो वा कसैको चाहनामा आयोजकले घुँडा टेक्दा बिपरित हुन गई राजनीतिक बढी र साहित्य बहसचाहिं कम भयो कि भनेर टिकाटिप्पणी भइरहेका छन् ।
साहित्य महोत्सव साहित्यका विभिन्न विधाहरुमा केन्द्रीत हुनुपथ्र्यो । कथा, कविता, उपन्यास, नाटक, निवन्ध, काव्य, गीत, संगीत केन्द्रीत बहस र छलफल गरिनुपथ्र्यो । ती विधाको विगत, वर्तमान र भविष्यबारे चिन्तनमनन् गर्ने थलो बन्नुपथ्र्यो । त्यतिमात्र होईन साहित्यको अहिलेको ट्रेण्ड र भविष्यमा साहित्यलाई कता मोड्ने भन्नेबारेमा बिचारविमर्श हुनुपथ्र्यो ।
साहित्यको कथ्य, बनोट र सिर्जनाका बारेमा साहित्य महोत्सव केन्द्रीत हुनुपथ्र्यो । हाल बजारमा प्रकाशित कृतिको गुण, दोष, महत्व र स्थितिबारे छलफल हुनुपथ्र्यो । कुन प्रदेशमा कुन विधाले ‘लिड’ गरिरहेको छ ? त्यहाँको सबल र दुर्बल पक्षबारे लेखाजोखा गरिनुपथ्र्यो । नपुगेका ठाउँमा थप लाग्नका लागि प्रेरित गर्नेगरी छलफल चलाईनुपथ्र्यो ।
साहित्य यस्तो विधा हो जसलाई समाजको ऐना भनिन्छ । त्यसैले त भन्ने गरिन्छ ‘जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि ।’ साहित्यले समय र समाज बोल्नुपर्छ । यसले समाजलाई कता लैजाने भन्ने दिशानिर्देश मात्र होईन, भाषा, संस्कृति र भेषभुषाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमापनि भूमिका निर्वाह गर्न सक्नुपर्छ । त्यसैले साहित्य महोत्सवमा साहित्यको महत्व र यसले पु¥याएको योगदानको चर्चा गरिनुपथ्र्यो । शिक्षा र मनोरञ्जनका हिसाबले अहिलेका साहित्य कस्ता छन् ? कस्तो हुनुपथ्र्यो ? र आगामी दिनमा साहित्यिक विधा कता मोडिनुपर्छ भन्नेबारेमा गर्मागर्मी बहस हुनुपथ्र्यो ।
संघीयतामा साहित्यको योगदान कति छ र हुनुपर्छ ? संघ, प्रदेश र स्थानिय तहका सरकारको साहित्यमा योगदानचाहिं कति छ ? भन्नेबारमा बहस हुनुपथ्र्यो । त्यसका लागि सम्बन्धित पक्षलाई राखेर खबरदारी गरिनुपथ्र्यो र आगामी दिनमा त्यसमा योगदान गर्नका लागि जवाफदेही बनाईनुपथ्र्यो । त्यतिमात्र होईन, साहित्यको विकास, बिस्तार र उन्नयनका लागि भइरहेका प्रयास र गर्नुपर्ने कामका बारेमा लेखाजोखा हुनुपथ्र्यो ।
तर लहडका भरमा शीर्षक राखेर साहित्यको नाममा राजनीतिक गफ गरेर चर्चा बटुल्ने प्रयास महोत्सव भयो भन्ने गुनासो आएको छ । यसले कतै साहित्यको धज्जी त उडाएको छैन ? प्रश्न उठेको छ । किनकी महोत्सवमा कुल ५० वटा बहस भए । त्यसमा केवल १६ वटा मात्र साहित्यसँग सम्बन्धित छन् । अन्य ३४ वटा सत्र भने गैरसाहित्यिक छन् । ती १६ वटा साहित्यिक सत्रपनि नितान्त साहित्यमा केन्द्रीत नभई गैरसाहित्यिक विषय प्रवेश गराइएको छ ।

यसैलाई लक्षित गर्दै लेकसिटी कलेज पोखराका उप–प्राध्यापक तथा साहित्यकर्मी उमेश रेग्मीले आयोजकप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा साहित्य महोत्सवप्रति रोष व्यक्त गर्दै उनले लेखेका छन्,‘एक दिन गएँ, तर मजा आएन । साहित्य भन्दा धेरै राजनीतिक गफ ।’
आखिर किन यस्तो भयो त ? आयोजक निकटकाहरु आर्थिक पाटोले घेरिदा यस्तो अवस्था आएको स्वीकार्छन् । आर्थिक रुपमा परनिर्भर भएर हात पसारेर मागेपछि उनीहरुलाई प्लेटफर्म दिनैपर्ने र उनीहरुको आसेपासेलाई पनि ठाउँ उपलब्ध गराउँदा साहित्य महोत्सव साहित्यिक नभई अन्य केहितर्फ बहकियो कि भन्ने उनीहरुको बुझाई छ ।
पोखरामा आयोजित साहित्य महोत्सवमा पोखराको विकास र समृद्धिमा साहित्यको महत्वबारे छलफल हुनुपथ्र्यो । यहाँको पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिकाबारे बहस हुनुपथ्र्यो । तर त्यसबारे एउटापनि बहस भएन । त्यतिमात्र होईन, महोत्सवमा पोखरा र आसपासका बाजा, धुन र संस्कृति प्रदर्शन गरेर महोत्सवलाई थप रौनकता थप्न सकिन्थ्यो ।
बरिष्ठ साहित्यकार एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ पोखरामा साहित्य महोत्सव हुनु सकारात्मक भएको बताउँछन् । तर कमीकमजोरी देखिएको स्वीकार्दै उनले भने, ‘निश्चित रुपमा केहि कमीकमजोरी देखिएका छन् त्यसलाई सुधार्दै, सुध्रिदै लैजानुपर्छ ।’
पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)का कार्यवाहक अध्यक्ष लक्ष्मण थापा पनि साहित्य महोत्सव बहकिएर गैरसाहित्यिक बहसमा केन्द्रीत भएको टिप्पणी गर्छन् । बास्तवमा भन्ने हो भने यो साहित्यिक महोत्सव नै होईन कि भन्ने भान हुन थालेको छ,उनले भने,‘त्यहि भएर हामी साहित्यिक शत्रमा सहभागी हुन्छौं । अन्य गैरसाहित्यिक सत्रमा सहभागी पनि हुँदैनौं र चासोपनि राख्दैनौं ।’ साहित्य महोत्सव नितान्त साहित्यिक विषयमा केन्द्रीत हुनुपर्ने आफूहरुको चाहना भएपनि आयोजकले आफूहरुलाई महत्व नदिएको उनको भनाई छ ।
नीजि क्षेत्रबाट भएको साहित्य महोत्सवले गैरसाहित्यलाई प्रोत्साहन गरेपछि साहित्यकर्मीहरु असन्तुष्ट छन् । उनीहरु यस्ता कार्यक्रमहरु सरकारी निकायबाट हुँदा प्रभावकारी हुने बताउँछन् तर खुलेर भने बोल्दैनन् । साहित्य, संगीत, नाटकलगायतको विकासका लागि भनेर तीनवटै तहका सरकारले प्रज्ञा प्रतिष्ठान गठन गरेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठान अहिलेपनि अस्तित्वमा छन ।
तर ती तीनवटै प्रतिष्ठानलाई मात्र होईन पोखरामा भएका अन्य दर्जनौं साहित्य सम्बन्धि संघसंस्थालाई बाइपास गरेर साहित्य महोत्सव आयोजना गरिदै आएको उनीहरुको भनाई छ । जसले गर्दा साहित्यिक महोत्सव गैरसाहित्यिक महोत्सवमा परिणत भएको टिप्पणी हुन थालेको छ । राज्यका निकायलाई नै जिम्मेवार बनाउनुपर्छ,ती साहित्यकारले भने,‘तबमात्र यो प्रभावकारी बन्छ । र खोजेजस्तै बहस र छलफल हुन्छन् ।
पोयुसाँपका अध्यक्ष थापा आफूहरुलाई बाईपास गरेर कार्यक्रम भएको स्वीकार्छन् । ‘हामीसँग खासै छलफल हुँदैन । हामीलाई सहकार्य गरौं पनि भन्दैनन् र कार्यक्रमको तालिकाबारे सरसल्लाहपनि लिदैनन्,’ उनले भने ।
पोखरामा भएको साहित्य महोत्सवमा पोखराको पर्यटन, विकास र समृद्धिबारे चर्चा नहुनु कमजोरी भएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी बताउँछन् । साहित्यको माध्यमबाट पोखराको पर्यटनमा टेवा पुगोस् भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘त्यसमा तपाईंहरुको अपेक्षा के हो ? साहित्यले कसरी सघाउन सकिन्छ भन्नेबारेमा एउटा सत्र चलाईनु पथ्र्यो, तर त्यस्तो भएन ।’ आयोजकसँग पर्यटन व्यवसायीको पहुँच नपुग्दा यो विषय छुटेको हो कि भन्ने लागेको उनको बुझाई छ ।
हुन त साहित्य महोत्सवमा काठमाडौं हाबी भएको आरोप पनि लागेको छ । केन्द्रीत मानसिकताबाट ग्रसित आयोजकले अधिकांश वक्ता र सहजकर्ता काठमाडौंबाट ल्याउँदा मोफसलकालाई ‘खाली ठाउँ भर’ भने जसरी प्रयोगमात्र गरिएको टिप्पणीपनि हुने गरेको छ । महोत्सवमा पोखराका मुर्धन्य व्यक्तित्वहरु झलकमान गन्धर्व होस् वा धर्मराज थापा लगायतलाई आयोजकले बिर्सियो ।
त्यतिमात्र होईन आयोजकले पोखराका वरिष्ठ साहित्यकार सक्तभक्त, तीर्थ श्रेष्ठ अनि रमेश श्रेष्ठदेखि व्यंग्य साहित्यका बादसाह भनेर चिनिने वात्स्यायनसम्मलाई महोत्सवमा सहभागी गराएनन् । ‘यसले आयोजकमाथि प्रश्न उठेको छ,’ एक साहित्यकर्मीले भने, आयोजक साहित्यको विकास र प्रवद्र्धनमा भन्दा व्यापार केन्द्रीत हुँदा साहित्य कम, राजनीतिक बहस बढी भयो ।’ आयोजक बुकवर्म फाउण्डेसनले नितान्त आफ्नो व्यापार हेरेर बहस केन्द्रीत गरेको उनको आरोप छ ।
तर आयोजक बुकवर्म फाउण्डेसनका अजित बराल भने सो आरोपको खण्डन गर्छन् । विषय र व्यक्तिमा विविधता खोज्दा त्यस्तो देखिएको हुनसक्छ,उनले भने, ‘साहित्यिक महोत्सव भएपनि तात्कालीक मुद्धामा बहस गर्ने पनि उद्देश्य हो । त्यसैले कसैकसैलाई गैरसाहित्यिक सत्र बढी भयो भन्ने लागेको हुनसक्छ ।’ तर आगामी दिनमा यसलाई सुधार्दै लैजान सकिने उनले बताए । अहिले नपुगेका कुराहरु अर्को महोत्सवमा थप्न सकिन्छ,उनले भने,‘यसलाई सुझाव मानेर सुधार्ने प्रयत्न गर्छौं ।’ उनले पोखराको विषय र व्यक्ति नपरेको भन्ने गुनासोकोपनि खण्डन गरे । आरोपलाई अन्यथा मान्नुपर्छ भन्ने मलाई लाग्दैन,उनले भने,‘तर हामीले करीब करीब एक तिहाई व्यक्ति पोखराकै राखेका छौं । कार्यक्रममा गुणस्तर कायम गर्ने प्रयत्न गर्दा पोखराको श्रोत, साधन प्रयोग भने कम प्रयोग भएको हुनसक्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






