पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि/उपन्यासकार सरस्वती प्रतिक्षा, विधा, समुदाय, भूगोल र पुस्तागत प्रतिनिधित्वको समावेशी सन्तुलन


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८३ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठानको नेतृत्व तथा सदस्यहरू मनोनयन गरेको छ।

नगर प्रमुख धनराज आचार्यले प्रतिष्ठानका नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ (भाषा तथा साहित्य), उपकुलपति तिलक पुर्जा पुन मगर (ललितकला तथा साहित्य) र सदस्य–सचिव जीवन दाहाल (लोकगीत तथा सङ्गीत) लाई जिम्मेवारीसहित नियुक्ति प्रदान गर्नुभएको हो ।

प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ (नृत्य), हरेराम जोजेजु (फाइन आर्ट/ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमिला ताम्राकार तुलाचन (नाट्य/रङ्गमञ्च तथा अभिनय) रहनुभएको छ । यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलुवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार (नृत्य निर्देशन तथा कलाकार), ज्योति गुरुङ (फाइन आर्टल ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत तथा सङ्गीत, गीतकार), भास्करध्वज श्रेष्ठ (सङ्गीत तथा ब्याण्ड), रवीन्द्र माकाजु (साहित्य तथा इतिहास), रिता पाहारी (साहित्य तथा कला), शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत–सङ्गीत) रहनु भएको छ ।
यस गठनलाई समावेशी प्रतिनिधित्व र बहुविधागत सहभागिताको दृष्टिले सन्तुलित र प्रशंसनीय रहेको भनि अर्थपूर्ण रूपमा हेरिएको छ।

पदाधिकारी, परिषद् र प्रज्ञा सभा सदस्यहरूमा साहित्य, भाषा, संस्कृति, नृत्य, सङ्गीत, नाट्य, ललितकला, लोककला, फाइन आर्ट, रङ्गमञ्च, इतिहास तथा साहित्यिक प्रतिष्ठानसम्मका प्रतिनिधिहरूलाई समेटिएको छ।

प्रतिष्ठानको संरचनामा विभिन्न जातीय तथा सांस्कृतिक समुदायका स्रष्टाहरूको पनि समावेशी सहभागिता देखिन्छ।
पदाधिकारीमा कुलपति लालचन (थकाली), उपकुलपति पुन मगर (आदिवासी जनजाती), र सदस्य सचिवमा दाहाल (खस आर्य) लाई समेटेको पोखरा प्रज्ञा प्रतिष्ठानमा गुरुङ, मगर, नेवार (जोजिजु, ताम्राकार, श्रेष्ठ,माकाजु), दलित (परियार), गन्धर्व (गायक), लालचन, छेत्री ब्राम्हण (गौतम, अधिकारी, ढुङ्गाना,पहारी, चिलुवाल) लगायत विविध समुदायका व्यक्तित्वहरूलाई जिम्मेवारी दिइएको छ। यसले प्रतिष्ठानलाई कुनै एक समुदाय वा समूहमा सीमित नराखी बहुसांस्कृतिक चरित्र दिन खोजिएको संकेत गर्छ।
भौगोलिक रूपमा पनि पोखराका विभिन्न क्षेत्र र सिर्जनात्मक वृत्तमा सक्रिय व्यक्तित्वहरूको प्रतिनिधित्व भएको देखिन्छ। पोखराको साहित्यिक, सांगीतिक, सांस्कृतिक र नाट्य/ललित कलाक्षेत्रमा लामो समयदेखि योगदान दिएका व्यक्तिहरूलाई एउटै साझा संस्थागत छातामुनि ल्याउने प्रयास भएको विश्लेषण गरिएको छ।

विधागत समावेशिताको दृष्टिले यो गठन अझ उल्लेखनीय देखिन्छ। साहित्य, भाषा, लोकगीत, भजन, आधुनिक सङ्गीत, ब्याण्ड, वाद्यवादन, नृत्य/नृत्य निर्देशन, फाइन आर्ट/ललितकला, नाट्य/रङ्गमञ्च, इतिहास र संस्कृतिजस्ता विधाहरूले संस्थागत प्रतिनिधित्व पाएका छन्। यसले प्रतिष्ठानलाई एक बिधा केन्द्रित संस्थाभन्दा व्यापक प्राज्ञिक र सांस्कृतिक संस्थाका रूपमा विकास गर्ने आधार तयार गरेको छ।

उमेर समूहका हिसाबले पनि वरिष्ठ स्रष्टा, मध्यपुस्ता र सक्रिय सिर्जनशील पुस्ताबीच सन्तुलन कायम गर्ने प्रयास देखिएको छ। अनुभव र नयाँ सोचलाई एकै संरचनामा जोड्ने उद्देश्यले विविध पुस्ताका व्यक्तित्वहरूलाई जिम्मेवारी दिइएको विश्लेषण गर्न सकिन्छ।

नगर प्रमुख धनराज आचार्यले पोखरा घरमा प्रतिष्ठानको व्यवस्थित कार्यालय, पर्याप्त कानुनी आधार र बजेट व्यवस्थासमेत गरिएकाले प्रतिष्ठानका गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ।
उपप्रमुख मञ्जुदेवी गुरुङले पनि साहित्य, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ले प्रतिष्ठानलाई नमुना प्राज्ञिक संस्थाका रूपमा स्थापित गर्दै पोखराको कला, साहित्य, भाषा र संस्कृतिको समग्र विकासमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यस गठनसँगै अब प्रतिष्ठानको सफलता केवल समावेशी प्रतिनिधित्वमा होइन, त्यसलाई प्रभावकारी कार्यक्रम, अनुसन्धान, प्रकाशन, कला प्रदर्शनी, प्रेक्षालय सञ्चालन, भाषा संरक्षण र सांस्कृतिक प्रवर्द्धनमा रूपान्तरण गर्न सक्ने कार्यसम्पादनमा निर्भर रहनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।