पोखरा उद्योग वाणिज्य संघ रियाक्टिभ होईन, प्रोएक्टिभ बनोस् ? पोखरेल

- 'संघको नेतृत्वले संस्था चलाउने मात्र होईन, संस्थाले पोखराको अर्थतन्त्र चलाउने बेला भएको छ'


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८३ मा प्रकाशित




पोखरा, भदौ २०

नेपाल पर्यटन वोर्डका कार्यकारिणी सदस्य सन्तोष पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई रियाक्टिभ नभई प्रोएक्टिभ बन्न सुझाव दिएका छन् । संघको ३६ औं महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले भने,‘पोखरा उद्योग वाणिज्य संघ समस्या आएपछि समस्या आयो भनेर खबरदारी गर्दै बस्ने होईन, त्यो समस्या आउनुअघि नै समाधानको उपायका लागि सरकारसँग नीति बनाउन टेबलटकमा बस्नुपर्छ ।’

पोखरेलले संघले पोखराको अर्थतन्त्र बदल्न भूमिका खेल्नुपर्ने बताए । पोखराको अर्थतन्त्रको खाका बदल्ने बेला आएको छ,उनले भने,‘अहिलेको सरकार व्यवसायमैत्री छ, यस्तो बेला संघको नेतृत्वले संस्था चलाउने मात्र होईन, संस्थाले पोखराको अर्थतन्त्र चलाउने बेला भएको छ ।’

पोखरेलले प्राकृतिक विपत्ती गएको क्षेत्रबाहेक अन्य क्षेत्र खुल्ला रहेको सन्देश दिनुपर्नेमा जोड दिए । विपदका कारण पोखराको पर्यटन क्षेत्र खस्किएको बताउँदै उनले भने,‘पोखरासहित समग्र नेपाल खुल्ला छ भन्ने सन्देश दिनुपर्छ, यसका लागि म सबैमा आग्रह र अपिल पनि गर्दछु ।’ उनले पोखराको विकास र पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि आफूले पर्यटन वोर्डदेखि संघ सरकारसँग समन्वय गर्नेसम्मको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरेलले नया नेतृत्वका लागि चुनाव हुने निश्चित भएकोतर्फ संकेत गर्दै यो चुनावलाई कसैको हार र कसैको जितमा सिमित नगर्न आग्रह गरे । भने,‘यो चुनाव हार र जितको विभाजन नकोरियोस्, यो चुनाव कसैको हारजित नभई सबैले जित्ने बनोस्, त्यसतर्फ सबैले ध्यान दिनुहोला ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।