के तपाईंलाई आङ्नै सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्ने मन छ ? यदि तपाईंलाई मन छ भने अब तपाईंले चाहेजस्तै आङ सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्न पाउनु हुने भएको छ । किनकी कालीगण्डकीको खोंचमा पर्ने पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते शनिवारदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । ०७३ सालदेखी पुलको निर्माण शुरु गरेको प्रालिले कात्तिक १५ गते शनिबारदेखि सेवा सञ्चालनमा ल्याउने जनाएको छ । यसअघि पुलसँगै रिसोर्ट निर्माण गरेर गत २०७६ को अन्तिम सम्ममा काम सकेपनि लकडाउनका कारण सञ्चालनमा आउन सकेको थिएन । तर अब कोरोना कहरकाबीचपनि कम्पनीले सेवा सञ्चालनमा ल्याउन लागेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठीक माथी बञ्जी र स्वीङको लागि जम्प गर्ने प्लेटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । यो विश्वकै दोश्रो अग्लो बञ्जी हुने कम्पनीले दाबी गरेको छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा आफुलाई दर्ज गर्ने छ भने यो स्वीङ बिश्वकै अग्लो बनेको कार्कीको दाबी छ । बञ्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ । पोखरादेखी कुश्माको दुइतर्फी गाडीको सुबिधासहित बञ्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ । टेण्डम (जोडि) स्वीङको १२ हजार रहेको जनाइएको छ ।
गुलेली शैलीको पिङ
बञ्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटरको रहेको कम्पनीले जनाएको छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक रहेको कम्पनीका अध्यक्ष कार्कीले दाबी गरे । गुलेलीको शैलीमा निर्माण गरिएको अन्य ठाउँको पिङ सामान्यतया अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा भने खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिदिएपछि पिङ मच्चिन्छ ।
चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ । पिङ खेल्न प्रतीब्याक्ती २ सय ५० रुपैयाँ लाग्ने कार्कीले बताए ।
स्काइ साइक्लीङ
सञ्चालनमा आउन लागेको स्काई साईक्लीङ स्टील कोर केबल प्रयोग गरि तयार गरिएको कम्पनीले जनाएको छ । विश्वकै सबैभन्दा ऊचाईमा सञ्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर रहेको कार्कीले जानकारी दिए । दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने कार्कीले बताए ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लीङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अप्नाइने कार्कीले जानकारी दिए । साइक्लीङका लागि आवस्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए।
साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ भने लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ । स्काइ साइक्लीङको सञ्चालन भने केहि महिनापछि मात्रै गरिने कार्कीले बताए ।
रिसोर्टः
कम्पनीले बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ’द क्लिफ रिसोर्ट’ पनि निर्माण गरेको छ । २१ वटा सफारी टेण्ट रहेको रिसोर्टमा ७० जना अटाउने क्षमता रहेको कम्पनीले दाबी गरेको छ ।
कम्पनीले बञ्जी, स्वीङ, साईक्लीङ र रिसोर्ट सञ्चालनका लागि हालसम्म २८ करोड खर्च गरेको कार्कीले जानकारी दिए । २० करोडको लागत अनुमान गरिएपनि लकडाउनले लागत खर्च बढेर २८ करोड पुगेको कार्कीको भनाई छ ।
अध्यक्ष कार्कीसँगै युवराज जोशी, नेत्रप्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मालगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग रहेको कम्पनीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






