‘नेपालका कार्लमाक्स हुन् मदन भण्डारी’


     झपट बहादुर रानाभाट    
     असार १५ गते २०८१ मा प्रकाशित




नेपाली कम्युनिस्ट आन्दोलनका नवीन बिचारक,सिद्धान्तकार हुन् मदन भण्डारी । नेपाली भूगोलका कार्लमाक्स हुन् उनी। जनताको बहुदलीय जनवादका प्रतिपादक ,सबै नेपाली जनसमुदायका बराबर र प्यारा नेता मदन भण्डारी हुन् । उनको जन्म बि.स.२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाघुमा भएको थियो ।

नेपालको पूर्वी क्षेत्रमा रहेकोे ताप्लेजुङ र ढुङ्गेसाघुमा बुवा देबीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीको माइला छोराको रूपमा मदन भण्डारीको जन्म भएको हो । वहाँको बुवालाई गाउँ लेहरुले सुब्बाको मान दिएका थिए। जसले गर्दा वहाँको बाल्यकाल राम्रो वातावरणमा बित्यो । २०१५ सालमा गाउँकै हिउँदे स्कुलमा प्राथमिक तहमा भर्ना भएका थिए मदन । उनले बि.स. २०२३ सालमै गाउँको स्कुलको पढाइ सके । तेज स्मरण शक्ति भएकै कारण बाल्यकाल मै चण्डी याद गर्नसक्ने थिए उनी। यो प्रतिभा कै कारण उनको नाम गाउँभर प्रख्यात थियो । बि .स. २०२४ सालमा उनको परिवार मोरङ्गको ईटहरामा बसाइ स¥यो। उनी आफ्नो थप अध्ययनका लागि भारत गए । २ बर्ष मथुरा ,त्यसपछि देहरादून हुँदै बनारस पुगेका उनले बि.स. २०३३ मा बनारस बिश्वबिद्धालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरे ।

मदन भण्डारीको राजनीतिक जीवनको शुरूवात पुष्पलालसित भेटेपछि भयो । पुष्पलालसित भेट भएको १ बर्षमा पुष्पलालको पार्टीले गठन गरेको जनवादी सास्कृतिक मोर्चाको केन्द्रीय सदस्य भए ।

बि.स.२०३० सालमा उनी भूमिगत भए। बि.स.२०३३ सालमा मदन भण्डारी लगायतका नेताहरूले मुक्तिमोर्चा गठन गरे ।

मुक्तिमोर्चा गठन गरेका नेताहरुले पुष्पलालसित बिद्रोह गरी “को–अर्डिनेशन केन्द्र“मा आवद्ध भए,मुक्तिमोर्चालाई त्यसमा मिलाए। यो सङ्गठन बिकास हुँदै जादा ५ विभिन्न घटकहरुको सम्मेलन बि.स.२०३५ बैशाख ७–१० गते मोरङ्गको ईटहरामा भयो।

त्यो सम्मेलन पछि बैशाख १० गते नेकपा माले स्थापना भयो,उनी गौरवशाली पार्टी तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य भए ।

प्रखर वक्ता र साहित्य लेखनमा समेत बिशेष अभिरुचि राख्थे उनले । असाधारण क्षमताका उनी बि.स.२०४१ सालमा तत्कालीन नेकपा मालेको पोलिट्ब्यूरो सदस्य भए ।

२०४६ सालको जनआन्दोलन पछि भूमिगत जीवनबाट बाहिर आई होनहार युवाहरूको आकर्षणको पार्टी तत्कालीन नेकपा माले र मनमोहन अधिकारी जस्ता अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बिश्वास कमाउनु भएका पुरानो इतिहास बोकेका पाका कमरेडहरु हुनुभएको नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी एमालेको अध्यक्ष क.मनमोहन अधिकारी र महासचिव क.मदन भण्डारी भए ।

अहिले आम सच्चाइ सहित सार्वभौम सच्चाइको नजिक पुगेको सिद्धान्त बहुदलीय जनवादको नीति प्रतिपादन गरे । उनले बि.स.२०४८ बैशाख २९ गते भएको आमनिर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १ बाट तत्कालीन बहालवाला प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरी सर्वाधिक चर्चाको शिखरमा पुगे।साथै मनमोहन अधिकारी र उनले नेतृत्व गरेको तत्कालीन नेकपा एमाले एक्लैले अरु कम्युनिस्ट पार्टी बाहेक पनि संसदमा काङ्ग्रेसको ११२ सिटको विरुद्धमा ६९ सिट सहित बिजयी तुल्याए ।

बहुदलीय ब्यवस्थाको स्थापना भएपछि बाहिर आएका उनको भाषण सुन्न टुडिखेल खुल्ला मन्चमा लाखौं जनसमुदाय हरु निकै टाढाबाट आउथे। घण्टौ उनको भाषण उत्सुकतापूर्वक सुन्न व्यग्र र धैर्यतापूर्वक रहने कुरा सामान्य थियो। सरल,मिठासपूर्ण र अनुप्रासयुक्त ठेट भाषा सहित कठोर राजनीतिक शब्दावलीमा भाषण गर्ने कमरेड मदन भण्डारीका भाषणका प्रत्येक बुदामा लाखौं जनसमुदायको ताली र सिटी बज्थ्यो।तत्कालीन समयमा राजालाई नै चुनौती र टक्कर दिन सक्ने,थरथर कमाउन सक्ने खुबी भएका प्रखर वक्ता मदन भण्डारीको भाषण जादुमयी हुन्थ्यो नै।त्यतिबेला विश्व प्रसिद्द अमेरिकी पत्रिका न्यूजविकले प्रसम्शा गर्दै “कार्ल माक्स लिभ्स ईन नेपाल “(कार्लमाक्स नेपालमा जीवीत हुनुहुन्छ ) भन्दै नेपाली जनताका सर्वाधिक प्यारा नेता कमरेड मदन भण्डारीको अन्तरवार्ता नै छाप्यो ।

क.मदन भन्थे –“हामीले त यो भनेका छौं जुन त्रिपक्षीय सम्झौता हो ,त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन,आँखा नचम्काइकन राजा यदि बसिरहन्छ्न भने अहिले हामीलाई केही आपत्ति छैन।राजा मान सम्मान पाएर बसिरहून् । यो कुरा सुन्दाखेरि,यो कुरालाई हामीले बाहिर अभिब्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिस्ट आन्दोलन भित्रकै मित्रहरूले हामीलाई भनेका छन् ,हामी राजाबादी भयौं रे ! अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति सन्तुलनको,वर्ग संघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरु जनतालाई सुम्पिएर मान सम्मानको उपभोग गर्दै त्यस ढङ्गले बसिरहन्छ्न् भने अहिले हामीलाई केही आपत्ति छैन भन्दाखेरी अर्थात राजासङ्ग सम्झौता गर्दा हामी अराजाबादी भएका छैनौ,हामी राजाबादी हैनौ,नोट गरेर राखे हुन्छ।“ कमरेड मदन बिचारमा यति प्रष्ट थिए ,मदनको यो कुराको पुष्टि ०६२÷०६३ को जनआन्दोलन र हतियार बन्दको जनयुद्धको फ्युजनबाट भयो। मदनको रहस्यमय जिप दुर्घटना हत्याको २१बर्ष पछि उनले प्रतिपादन गरेको सिद्धान्त सार्वभौम सच्चाइको नजिकैको आम सच्चाइ भएको छ ।

बि.स.२०३९ मा जननेता कमरेड मदनको बिहे अनेरास्ववियु पाँचौका तत्कालीन रा.प.स. बिद्या पाण्डेसित भयो। उनी हरुका दुई छोरीहरु उषाकिरण र निशाकुशुम छन् । क. मदनले आफ्नो राजनीतिक यात्राको सपनालाई मूर्त रुप दिन नपाउदै बि.स. २०५० जेष्ठ ०३ गते चितवनको दासढुङ्गामा षड्यन्त्रमूलक ढङ्गले भयो। यो हत्याको छानबिन यद्यपि अहिले पनि हुनै पर्दछ ।

अल्पायुमै जीवन गुमाउनु परे पनि जननेता क.मदनले नेपाली क्रान्तिको बाटो देखाइछोडे,कम्युनिस्ट पार्टी त्यही जनताको बहुदलीय जनवादको प्रकाशमा लोकतान्त्रिक प्रक्रियामा उच्चतम श्रेष्ठता हासिल गर्दै सामाजिक परिवर्तन, बिभेदहरुको अन्त्य सहित सुखी नेपाली र समृद्द नेपालको महान अभियानमा विभिन्न घेराबन्दी र तिकडम अनि षड्यन्त्रहरुको सामना गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

जनताको बहुदलीय जनवादको प्रतिपादनमा सङ्गै मदन भण्डारीसित सङ्गसङ्गै रहेका कमरेडहरुको साथमा यो अभियानको नेतृत्व क.केपी ओलीले गरेका छन् । जे–जे नामले सम्बोधन गरे पनि जनताको बहुदलीय जनवाद जडसूत्रबाद हैन,समयनुरुप गतिशील छ,जसले बिसर्जनबादलाई स्वीकार्दैन, जनताको बहुदलीय जनवाद र जनताको जनवादमा तथ्यीय हिसाबले ,सार हिसाबले हामी फरक देख्न सक्दैनौं ।

क.मदन हाम्रो पार्टीको मात्र नेता थिएनन् ,उनी त सबै नेपाली जनसमुदायका प्यारो जननेता थिए। असाधारण क्षमताको सर्वाधिक प्रिय नेता थिए उनी। दूरदृष्टि भएको सिद्धान्तकार थिए उनी । समग्र नेपाली राजनीतिको लोकतान्त्रिकरणमा उनको योगदान अतुलनीय र अबर्णित छ । सन् १९९० को दशकमा लेनिनले बिश्वमा सबैभन्दा पहिले स्थापना गरेको सोभियत समाजबाद लगायत पूर्वी यूरोपका धेरै देशहरुमा समाजबादी ब्यवस्था ढलेपछि विश्वभरिका प्रतिक्रियावादीहरु एक गठ भएर अब कम्युनिस्टहरु सङ्ग्रहालयमा राख्ने वस्तु जस्ता भए, डाइनोसर झैं भए भनेर कोकोहोलो मच्चाइरहेको बेलामा ,रोईलो गरिरहेको बेलामा सगरमाथाको देश नेपालमा ब्यालेटको माध्यमबाट कम्युनिस्ट पार्टीको शक्तिशाली झण्डा सगरमाथाको टुप्पोमा फहराउने क्रान्तिका महान नायक,सिद्धान्तकार मदन भण्डारी थिए ।उनले प्रतिपादन गरेको सिद्धान्तकै प्रकाशमा नेपाल अहिले निरन्तर समृद्दिको अबिश्रान्त यात्रामा छ। सबै कम्युनिस्ट पार्टीको मत जोड्ने हो भने त २०४८ सालकै चुनावमा कम्युनिस्ट पार्टी नेपालको सबैभन्दा ठूलो पार्टी थियो।

यसकारण क.मदन भण्डारी मार्क्सवादको सृजनात्मक प्रयोग गर्दै नेपाली क्रान्तिलाई अगाडि बढाउने युगपुरुष थिए । उनको अभाव हामीले जहिल्यै महसुस गरिरहने छौं । छोटो समयमै कमरेड मदनले देखाएको इच्छाशक्ति ,दृष्टिकोण ,बिचार र साहसले उनको भौतिक शरीर नभए पनि सदा अमर रहनेछ्न्।उनको अस्वाभाविक मृत्यु हिमालय पर्वत भन्दा गह्रौं छ ।

७३ औं जन्मजयन्तीमा जननेता कमरेड मदन भण्डारी प्रति उच्च सम्मानपूर्वक भावपूर्ण श्रद्धाञ्जली ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।