सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् ।
दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ । यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ । सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ । पूर्ववत् प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचर नै पुनः प्रयोग गरिएको छ । थोरै नयाँ थपिएका छन् । खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणाअनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका लागि गरेको आग्रहअनुसार व्यवस्थापन गरिएको कर्मचारी बताउँछन् ।
बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्षसमेत तयार पारिएको छ । यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी , श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ । यद्यपि ती कक्षहरूमा रङ्गरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ । नेपाली कांग्रेस र नेकपा एमालेलाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ । सांसद सङ्ख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएका छन् ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्था अल्पकालीन भए पनि संसद् सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पु¥याउन परमादेश जारी…






