नेकपा निकट मजदुर संगठनले बुझायो महानगरलाई १ करोड ५३ लाखमा बनेको भवनसहित ४ रोपनी जग्गा


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, जेठ ९

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले दुईतले भवनसहित ४ रोपनी जमिन पोखरा महानगरपालिकालाई बुझाएको छ । नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले २०६७ सालदेखि उपयोग गर्दै आएको सो भवन र जमिन शनिबार महानगरलाई फिर्ता गरेको हो । कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भवनको चावीसहित जमिनको कागजात हस्तान्तरण गरे ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पोखरा पृथ्वीचोकस्थित यातायात कार्यालय अगाडिको ४ रोपनी जमिन मौखिक सहमतीमा लिएर सो मजदुर संगठनले ५३ लाखमा दुईतले १३ कोठे भवन बनाएर उपभोग गर्दै आएको थियो । माओवादीको रापताप भएको बेलामा ओगटेको सो जमिनमा बनाएको भवनबाट उसले भाडासमेत असुल्दै आएको थियो ।

एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) र कांग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेसले जमिन लिएर कार्यालय भवन ठड्याएको देखेपछि आफूहरुले पनि त्यसै गरेको नेकपा निकट मजदुर संगठनको प्रष्टोक्ती छ । जमिन फिर्ता गरेपछि उसले उक्त भवन र जमिन सदूपयोग गर्न महानगरलाई आग्रह गरेको छ ।

नेकपा निकट मजदुर संगठनले बुझाएको सो १३ कोठे भवनमा सरकारी कार्यालय सञ्चालन गर्न मिल्ने खालको छ । पोखरा महानगरपालिका वडा नम्बर–९ को कार्यालय नभएकाले त्यसलाई प्रयोग गर्न सो संगठनको सुझाव छ ।

भवनको चावी र कागजात हस्तान्तरण गर्न शनिबार विहान आयोजित कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले श्रमिकहरुको पसिनाले बनेको सो भवन सदूपयोग गर्न आग्रह गरे । ‘यो श्रमिकहरुको पारिश्रमिक र अन्य दाताहरुको सहयोगमा निर्माण गरेका हौं । यसलाई भत्काएर फाल्नुभन्दा राज्यले नै सदूपयोग गरोस् भनेर हस्तान्तरण गरेका हौं’–उनले भने ।

भवनको चावी र कागजात ग्रहण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मजदुर संगठनले सार्वजनिक सम्पती फिर्ता गरेर उदाहरणीय कार्य गरेको बताए । सार्वजनिक जग्गा संरक्षण गर्ने पोखरा उपत्यका नगर विकास समिति पोखरा महानगरको अभियानलाई सहयोग गरेर भवन फिर्ता गरेकोमा धन्यवाद छ,उनले भने,‘यसको सिको अन्य संघ, संस्था र संगठनहरुले पनि गरेर सहयोग गर्न आग्रह छ ।’ उनले मजदुर संगठनले बुझाएको सो भवनको संरक्षण र सदूपयोग गर्ने प्रतिबद्दतासमेत जनाए ।

यसअघि नेकपा निकट सो संगठनले मुख्य भवनबाहेकका अस्थायी संरचना र सभाहल डोजर लगाएर भत्काएको थियो । पोखरा महानगरपालिकाले फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना भत्काउन पटक÷पटक सूचना निकालेपछि उसले अस्थायी संरचना भत्काउनुका साथै भवनको चाबी बुझाएको हो ।

महानगरले पछिल्लो पटक दिएको अल्टिमेटम शनिबार सकिएको छ । अब आईतबारदेखि डोजर लगाउन शुरु गर्ने तयारीमा महानगर छ । त्यसको शुरुवात फिर्केखोलाको खोलाघर क्षेत्रमा बनेको संरचना भत्काएर गरिने मेयर आचार्य निकट स्रोतले जनाएको छ । जसका लागि डोजर तयारी अवस्थामा राखिनुका साथै महानगर प्रहरी र नेपाल प्रहरीलाई तयार भएर बस्न मेयर आचार्यको निर्देशन रहेको स्रोतको दाबी छ । ‘सम्भवतः आईतबार विहानबाटै डोजर चल्छ’–मेयर निकट स्रोत भन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।