अर्जेन्टिना र मेरो विश्वकप संस्मरण


     उदय खड्का "राजु"    
     असार १९ गते २०८३ मा प्रकाशित




तस्बीरः गुगलबाट

विश्वकप: फुटबलभन्दा माथि उठेका जीवनका अविस्मरणीय सम्झनाहरू
पोखरा। विश्वकप मेरो लागि केवल फुटबल प्रतियोगिता होइन, जीवनभर सँगै हिँड्ने अनगिन्ती सम्झनाहरूको अमूल्य संग्रह हो। बाल्यकालमा साथीहरू, दाइहरू र अंकलहरूसँग रातभर जाग्राम बसेर विश्वकप हेरेका ती दिनहरू आज पनि मानसपटलमा ताजै छन्।
मेरो विश्वकप यात्राको सुरुवात सन् १९९० बाट भयो। पहिलो पटक टेलिभिजनमा विश्वकप हेर्ने अवसर मैदान बाबु अंकलको घरमा जुरेको थियो। धेरै साथीहरूसँग बसेर अर्जेन्टिना र इटालीबीचको सेमिफाइनल हेरेका थियौँ। त्यो समय विश्व फुटबलमा डिएगो माराडोनाको दबदबा थियो। विद्यालयका हेड सर शालिग्राम सरले २२ वर्षीय क्लाउडियो क्यानिजियाको गति र खेलप्रतिको समर्पणको खुलेर प्रशंसा गर्नुभएको अझै सम्झन्छु। माराडोना–क्यानिजियाको जोडीले अर्जेन्टिनालाई नयाँ उचाइमा पुर्‍याएको थियो। तर फाइनलमा जर्मनीसँग १–० ले पराजित भएपछि माराडोनासँगै म पनि भावुक भएर रोएको थिएँ।
चार वर्षपछि सन् १९९४ को विश्वकपमा फेरि अर्जेन्टिनाप्रतिको मोह झन् बढ्यो। मैदान दीपु दाइको घरमा अर्जेन्टिना र ग्रीसबिचको खेल हेर्दा माराडोनाले एक गोल र गाब्रिएल बाटिस्टुटाले ह्याट्रिक गर्दै ४–० को शानदार जित दिलाएका थिए। त्यही विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदा रोबर्टो बाज्जियोको निर्णायक पेनाल्टी बारमाथि गएको दृश्य आज पनि विश्व फुटबलकै सबैभन्दा चर्चित क्षणमध्ये एक मानिन्छ।
सन् १९९८ को विश्वकप झन् विशेष रह्यो। अर्जेन्टिनाले जमैकालाई ५–० ले हराउँदा एरियल ओर्टेगाले दुई गोल र बाटिस्टुटाले अर्को ह्याट्रिक पूरा गरेका थिए। लगातार दुई विश्वकपमा ह्याट्रिक गर्ने पहिलो तथा हालसम्मका एकमात्र खेलाडी बनेका बाटिस्टुटाको ठूलो पोस्टर लामो समयसम्म मेरो र भाइ रामको कोठाको भित्तामा टाँसिएको थियो।
त्यही विश्वकपका क्रममा बाँटुलेचौरमा लोडसेडिङ हुँदा असारको झमझम वर्षालाई बेवास्ता गर्दै राम रवि मामा, मिनकुमार अंकल, दीपु दाइ, डा. सुभाष भाइलगायत करिब २० जना साथीहरू घर्मी खोला पार गरेर अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल हेर्न गएका थियौँ। त्यतिबेला न इन्टरनेट थियो, न मोबाइलमा लाइभ हेर्ने सुविधा। फुटबलप्रतिको प्रेमले सबै कठिनाइलाई सहज बनाएको थियो। त्यसै समय सुभाष, सञ्जय र राजीव भाइको घरमा पनि विश्वकपको छुट्टै माहोल बन्न थालेको थियो।
१९९८ को फाइनल महेन्द्र मामाको घरमा हेरेका थियौँ। राजेन्द्र (गोविन्द) दाइलाई अवश्य सम्झना होला, जहाँ जिनेदिन जिदानको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले ब्राजिललाई ३–० ले पराजित गरेको थियो।
त्यतिबेलाको बाँटुलेचौर साँच्चिकै फुटबलमय थियो। गंगा दाइ (इटाली), प्रकाश मामा, गान्धी भाइ, डा. सुवास, सञ्जय भाइ, रामु केसी (ब्राजिल), रुद्र दाइ (नेदरल्यान्ड्स), भुवन दाइ, सुमन दाइ, राजु, गणेश बस्नेत, यजेन्द्र दाइ, भाइ राम, मोहन, हरिस, बैकुण्ठ सर, मानबहादुर सर, नवीन दाइ, Roshan (अर्जेन्टिना), सुन्दर मामा, केशव मामा, निक्की, लेख दाइ, रमेश बस्नेत गुफा, विक्रम बस्नेत, जीवन, योगेन्द्र, विश्वमोहन पौडेल, भरत, श्याम, श्रीराम गुरु, आर.सी. गोविन्द, विजय बाबु, विदुर, कृष्ण कार्की दाइ, विशाल भट्टराई, सुमन कार्की, शङ्कर थापा क्षेत्री भाइ, कृष्ण, विशाल, मनोज, सन्तोष, नारन, विजय/सुशील प्रदीप भाइ, राजीव भतिज, ओम् सर, टीएन अंकल, तीर्थ अंकल, खेम, ज्ञाने दाइ, कुमार अंकल, नारायण सर, अर्जुन अंकल, दुर्गा अंकल, जगत अंकल, गुन्जमान, अम्बरमान, विकास, विकास, समीर, राजन, हरि, हरि खड्का, सुशील, दीपक, दिपेन्द्रलगायत बडहरबोटका धेरै साथीहरू विभिन्न टोलीका समर्थक थिए। विश्वकप मात्र होइन, कोपा अमेरिका, युरो कप र क्लब फुटबलका खेलहरू पनि सँगै बसेर हेर्ने परम्परा थियो।
युरो–२००० को फाइनल नवीन/रोशनको घरमा मध्यरातमा हेरेका थियौँ, जहाँ फ्रान्स विजेता बनेको थियो।
सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा बाटिस्टुटाको कप्तानीमा अर्जेन्टिना मैदानमा उत्रिएको थियो। अर्जेन्टिनाका समूह चरणका खेलहरू मोहन सर, हरिस, मिनकुमार अंकल र हामी सबैले घण्टीघरस्थित मिनकुमार अंकलको घरमा बसेर हेरेका थियौँ। फाइनलमा ब्राजिलले जर्मनीलाई २–० ले हराउँदा रोनाल्डो नाजारियो, रिभाल्डो, रोनाल्डिन्हो र रोबर्टो कार्लोस सम्मिलित टोलीले विश्व फुटबलमा स्वर्णिम इतिहास रचेको थियो।
२००० पछि क्लब फुटबलका अधिकांश खेलहरू हाम्रो घरमा प्रत्येक सप्ताहन्त हेर्ने चलन बस्यो। खेल हेर्न नारायण थापा, युवराज प्रिन्स भाइ, किशोर, कुण्डहरदेखि राजु कार्की भाइ र लामाचौरदेखि ईश्वरी प्रसाद गौतम आउनुहुन्थ्यो। खेलसँगै मोहन सरले बनाउने स्वादिलो खाजा र पोर्क मासु तथा बिरालोको कथालाई मेरी आमाले अझै पनि रमाइलो प्रसंगका रूपमा सम्झाइरहनुहुन्छ।
सन् २००६ को विश्वकप हिमालयन क्लबको कार्यालयमा करिब १०० जना साथीहरूसँग बसेर हेरेका थियौँ। क्लबमा नियमित आउने पत्रपत्रिकाले खेलकुदप्रतिको ज्ञान र रुचि अझ बढाएको थियो। हिमालयन क्लब स्थापना गर्ने सम्पूर्ण व्यक्तित्वप्रति आज पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।
त्यही विश्वकपमा दीपक बस्नेतको सीडी पसलमा अर्जेन्टिना र सर्बिया–मोन्टेनेग्रोबीचको खेल हेरेका थियौँ। इंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका समर्थक दीपकसँग फुटबलबारे हुने बहस पनि उत्तिकै रोचक हुन्थ्यो। अर्जेन्टिनाले ६–० ले जितेको त्यो खेलमा लियोनेल मेस्सीले विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए। त्यही प्रतियोगिताबाट क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो पहिलो विश्वकप यात्रा सुरु गरेका थिए, र दुवै महान् खेलाडी २०२६ सम्म पनि अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय रहन सफल भए।
२००६ को फाइनलमा इटालीले फ्रान्सलाई टाइब्रेकरमा पराजित गरेको खेल, हरि नारायण हरि अंकलको घरमा हेरेको अर्जेन्टिना–मेक्सिको खेलमा म्याक्सी रोड्रिगेजको अविश्वसनीय गोल, २००२ मा बेनी अंकलको घरमा हेरेको इंग्ल्यान्ड–ब्राजिल खेलमा रोनाल्डिन्होको शानदार गोलजस्ता क्षणहरूले विश्वकपलाई मेरो जीवनको अविस्मरणीय अध्याय बनाइदिएका छन्।
आज पनि विश्वकप सुरु हुनेबित्तिकै ती रातहरू, ती साथीहरू, ती घरहरू, ती बहसहरू र ती खुसी–निराशाका क्षणहरू एक–एक गर्दै स्मृतिमा फर्किन्छन्। त्यसैले मेरो लागि विश्वकप केवल फुटबल होइन, मित्रता, आत्मीयता, पुस्तौँसम्म बाँड्न सकिने सम्झना र जीवनको अनुपम उत्सव हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।