पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आजदेखि कार्तिक ३ गते महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन हुने जनाईएको छ । महोत्सवको पुर्वसन्ध्यामा आज नवदुर्गा शोभायात्रा निकालिएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।विन्ध्यवासिनी मन्दिरको प्राङ्गणबाट सुरु भएको शोभायात्रा सहरका विभिन्न भाग परिक्रमा गरि पुन मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो । शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिंगारिएका नवकन्यासहितको रथ, झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूहहरु, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक वित्तीय तथा सहकारी, शैक्षिक सङ्घसंस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत सङ्घलगायत सर्वसाधारणको उपस्थिति रहेको समितिले जानकारी दिएको छ ।
शोभायात्रामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपि नविन कार्की, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेललगायतका बिशिष्ट व्यक्तिको सहभागिता रहेको थियो । विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ः ०० देखि प्रारम्भ भई भक्तजनहरूको दर्शनका लागि मन्दिर ५ः ०० बजेदेखि खुला गरिनेछ । साथै प्रत्येक साँझ ६ः ०० बजे आरती गरिनेछ । अढाई शताब्दीअघि देखि नै पूजाआजा हुँदै आएको मानिने यस मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको भनाइ छ ।
बडादशैंका ९ दिन पोखराका तालबाराही, लामाचौरस्थित अकला, बाटुलेचौरको कालिका मन्दिर लगायतका शक्तिपीठमा दर्शनार्थीको घुईचो लाग्ने गर्दछ । त्यस्तै कास्कीकोटको गुप्तकाली मन्दिरमा पनि नवदुर्गा महोत्सव सुरु भएको छ । आज विहान विधिपूर्वक कोतघरमा प्रवेश गरी विशेष चण्डीपाठ तथा दुर्गाकवच पाठ सुरु गरिने समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए ।उनका अनुसार नवमीसम्म पाठ परायणको कार्य जारी रहनेछ । विजयादशमीसम्म पुजारीहरू मन्दिरमै बसेर गुप्तकालीको आराधना गर्ने धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा…







