गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन् । “बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे र पक्की पुल, विद्युत्का खम्बा तथा टेलिफोन टावरमा क्षति पुर्याएको छ”, प्राधिकरणका प्रवक्ता शान्ति महतले भनिन, “धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठ वटा घर बगाएको छ ।” महतका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको उनले जानकारी दिईन् ।
“सैगरी, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ”, उनले भनिन, “माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको र त्यहाँका २० देखि २२ घर जोखिममा छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ । बाढीका कारण दुई वटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ ।” बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन् । सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ४३७ जना सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले नेपाली सेनाका चार वटा हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए । “सेनाको हेलिकप्टरबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ”, उनले भने ।
“बाढी गएको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो र त्यस्तै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएकोे छ”, उनले भने । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा…







