सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार बिहान ७ः३० बजेबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले पूर्वविद्यार्थीहरूको सहयोगमा न्यून शुल्कमा खाना खुवाउने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिए । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छात्रावास सञ्चालन गरिएको जनाउँदै उनले उनीहरूको सहजताका साथै अभिभावकलाई पनि आर्थिक भार कम परोस् भन्ने उद्देश्यले पूर्वविद्यार्थीको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको बताए । गत भदौबाट आफूहरूले दिवा छात्रावास सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
“विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगमा हामीले यो कार्यक्रम अघि बढाएका छौँ”, उनले भने, “कार्यक्रमका लागि पूर्वविद्यार्थीका तर्फबाट दाल, चामल, तरकारीका साथै आर्थिक सहयोग आउने गरेको छ ।” उनका अनुसार विद्यालयमा अध्ययन गर्नका लागि झण्डै डेढ घण्टा समय हिँडेर आउने विद्यार्थीसमेत रहेका छन् । विद्यालयमा भगवतीटार, नौरुङ, राम्चे, ओख्लेलगायत टाढाटाढाका स्थानबाट विद्यार्थी आउने गरेको उल्लेख गर्दै उनले हालसम्म विद्यालय बसको सुविधा उपलब्ध गराउन नसकिएको दुखेसो गरे । विद्यालय बसका लागि भारतीय राजदुतावासमा प्रस्ताव गरिएको जनाउँदै न्यौपानेले यसै आर्थिक वर्षभित्रमा बस प्राप्त हुने अपेक्षा गरिएको बताए ।
विसं २०१६ मा स्थापित विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गरेको यहाँका अभिभावक बताउँछन् । विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान विषयको पठनपाठनसमेत गराउँदै आएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा , नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी…






