कास्की–२ : कांग्रेसका वागी उम्मेदवार पौडेलले बास्तोलालाई समर्थन गर्दै त्यागे उम्मेदवारी


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन १२

कास्की–२ का वागी उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेवारी त्यागेका छन् । कांग्रेसबाट विद्रोह गरेर वागी उम्मेदवारी दिएका उनले एक विज्ञप्ती निकाल्दै उम्मेदवारी त्यागेका हुन् ।

जेनजी आन्दोलनपछि पनि कांग्रेसले नचेतेको भन्दै उनले वागी उम्मेदवारी दिएका थिए । कास्कीका ३ वटै क्षेत्रमा युवा र महिलालाई उम्मेदवार नबनाएको प्रति उनी आक्रोषित थिए । उम्मेदवारी त्यागेका उनको उम्मेदवारी निस्कृय हुनेछ । उम्मेदवारी फिर्ता गर्ने समय घर्किएकाले उम्मेदवारी कायम रहने प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । उहाँको चुनाव चिह्न यथावत रहन्छ,उनले भने,‘मतपत्र छापिएर आइसकेको छ, मत आयो भने गणना पनि हुन्छ ।’ तर पौडेलले अबदेखि आफ्नो लागि मत भने नमाग्न पाउँछन् ।

उम्मेदवारी त्यागेका पौडेलले कांग्रेस–२ का आधिकारिक उम्मेदवार मधु बास्तोलालाई समर्थन गरेको जनाएका छन् । समसामयिक राजनीतिक परिस्थिति, लोकतन्त्रको रक्षा र दीर्घकालीन हितलाई मध्यनजर गर्दै आफूले कांग्रेसका आधिकारिक उम्मेदवार बास्तोलालाई समर्थन गर्दै उम्मेदवारी त्यागेको जनाएका छन् । बास्तोलाको प्रतिबद्दता र आफ्नो एजेण्डा मिलेकाले उनलाई समर्थन गर्दै उम्मेदवारी त्यागेको उनले प्रष्ट्याएका छन् । साझा उद्देश्यका लागि सहकार्य आवश्यक रहेको जनाउँदै उनले भनेका छन्,‘युवाको सम्मान, अवसर र सुरक्षित भविष्यका लागि राजनीतिमा सकृय हुनेछु ।’ उनले पार्टी नसुध्रिए आगामी दिनमा पनि विद्रोह गर्ने चेतावनी दिएका छन् । जनताको आवाज उठाउने दायित्वबाट पछि नहट्ने उल्लेख गर्दै उनले भनेका छन्,‘जनताको आवाज नसुने, युवामाथि खेलवाड गरियो वा भ्रष्टाचार र सत्ता मोह हावी भयो भने खबरदारी गर्न पछि हट्दिनँ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।