भड्किएको जनमत फकाउन गण्डकीका मुख्यमन्त्री पाण्डे गोरखामा : कामको लिष्ट देखाउँदै कांग्रेसलाई मत माग्दै


     एभरेस्ट आवाज    
     फागुन १० गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन १०

जनता पुराना दलसँग असन्तुष्ट छन् । त्यहि भएर उनीहरु यस पटक मत परिवर्तन गर्ने मुडमा देखिन्छन् । पुराना दलहरु कांग्रेस, एमाले, नेकपालगायतका दलहरुले विकास र समृद्दिका लागि ठोस काम गर्न नसकेको उनीहरुको आरोप छ । त्यतिमात्र होईन, पुराना दलहरु भ्रष्टाचारमा डुबेको र सुशासन दिन नसकेको आरोप छ । यसैमा टेकेर नयाहरुले पुरानालाई पत्तासाफ गर्ने भन्दै कहिले ‘नो नट अगेन’ त कहिले ‘चुपचाप घण्टी छाप’को नारा घन्काईरहेका छन् । पुराना सबै एउटै ड्याङको मुला भएको र उनीहरु नसुध्रिने भन्ने भाष्य तयार गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरुले पुराना दलहरुमाथि दवाब बढाईरहेका छन् ।

नयाले लगाएको आरोपले पुराना दलहरु दवाबमा परेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे त्यसलाई चिर्न फिल्डमै उत्रिएका छन् । उनी आफू नेतृत्वको सरकारले गरेका कामहरुको फेहरिस्त लिएर भड्किएको जनमत फर्काउन गोरखामा खटिएका हुन् । निर्वाचन कार्यालयमा जानकारी गराएर चुनावी प्रचारका लागि गृह जिल्ला गोरखामा ६ दिनदेखि रहेका उनले आफू मुख्यमन्त्री भएपश्चात ल्याएको ३ फरक बजेटमा गोरखामा परेका योजना र बजेटको लिष्ट बोकेर चुनावी भाषण गर्ने गरेका छन् । नयाको पक्षमा जनमत जाने आभाष पाएका उनले गोरखामा आफ्नो नेतृत्वको सरकारले सडक, खानेपानी, सिंचाइ, सामाजिक, पर्यटन, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा गरेका कामहरुको फेहरिस्त सुनाएर मत माग्ने गरेका छन् ।

प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको योजना र बजेटको एक–एक हिसाब आफूसँग रहेको रेकर्ड फाईल देखाउँदै उनले कांग्रेसलाई मत दिन आग्रह गरेका हुन् । तपाईँहरूको सबै माग पूरा भयो त म भन्दिनँ, तर धेरै भएको छ,उनले अगाडि भन्ने गरेका छन्,‘गोरखा मेरो गृह जिल्लामा त हुने नै भयो, तर गण्डकीका प्रदेशभर भएको छ ।’

उनले आफूले गरेको काम कांग्रेसको भएकाले आगामी निर्वाचनमा पनि कांग्रेसलाई मत दिन आग्रह गरे । ‘अबकी बार गगन सरकार’ भन्दै मत मागेका उनी अगाडि भन्छन्,‘सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस् ।’
मुख्यमन्त्री पाण्डेले आफ्नो कारणले कांग्रेसजनले शीर निहु¥याउन नपरेको र आगामी दिनमा पनि शीर निहुरिन नपर्नेसमेत बताए । चुनावी वाचासमेत आफूले पूरा गरेको दाबी उनले गरे । भने,‘निर्वाचन क्षेत्रभित्रका मुख्य–मुख्य सडक बाह्रै महिना गाडी चल्ने बनाउँछु भनेको थिएँ, भएको छ, हुने क्रममा छ । हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै कांग्रेस कार्यकर्ता विचलित नहुन आग्रह गरे । शीर ठाडो पारेर कांग्रेस र रुख भन्न आग्रह गर्दै उनले भने,‘शीर ठाडो पारेर सबैले भनौं, परिवर्तनको नेतृत्व हिजो, आज र भोलि पनि कांग्रेसबाट मात्र सम्भव छ ।’

मुख्यमन्त्री पाण्डेले सुशासनको थालनी पनि आफूले गरेको दाबी गरे । कांग्रेस, एमालेको भ्रष्टाचार र कुशासनका कारण देश खत्तम भयो भन्ने भाष्य निर्माण भइरहेका बेला उनले भने,‘प्रदेशका विषयमा पनि प्रश्नहरू उठे, खर्च धेरै भयो भन्ने ! हामीले खर्च कटौतीको काम एक वर्षअघि देखि थालेका थियौँ । जेनजी युवाहरुले नारा लगाउनुभन्दा अगाडि नै हामीले सुशासनको पक्षमा काम गर्न शुरु गरेका थियौं ।’

देशको आर्थिक अवस्था नहेरी पुराना दललाई गाली नगर्न मतदातालाई उनले आग्रहसमेत गरे । पुराना दलहरुको पक्षपोषणमा लम्वेतान भाषणा गरेका उनले नयाप्रति आक्रोष र उसको अस्तित्वप्रति प्रश्नचिह्न उठाउने गरेका छन् । विचार, सिद्धान्त, दृष्टिकोण केही नभएका पार्टीहरू जनता झुक्याउँदै मत माग्न आएको उनको आरोप थियो । उनले अगाडि भने,‘लहलहैको भरमा मतदान नगर्न र खुला किताबजस्तै नीति भएको कांग्रेसलाई मतदान नगर्नूस्, बुझेर मात्रै मतदान गर्नूस् ।’ उनले आफ्नो पार्टी प्रश्नबाट नभाग्नेसमेत बताए । रास्वपा नेता बालेनप्रति लक्षित गर्दै उनले भने, ‘प्रश्नबाट भाग्ने, केही पनि भएन भन्ने भाष्य बनाएर झुटको खेती गर्नेसँग सचेत रहनुहोला र भन्नुहोला, के ग¥यो ? भन्न पाउने अधिकार नै नेपाली कांग्रेसले ल्याइदिएको हो ।’

कांग्रेसले गोरखा १ मा प्रेम खत्री र २ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।