पोखरा — पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय बिक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ पालुङटारका ३९ वर्षीय राजु कुमाल छन्।
घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा दुवै जना पुरिएका थिए। घटनाको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजित कुमार यादवको कमान्डमा १३ जनाको विपद् व्यवस्थापन टोली उद्धार सामग्रीसहित दिउँसो ३:१० बजे घटनास्थलतर्फ खटिएको थियो।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र स्काभेटरको सहयोगमा खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो। उद्धार टोलीले क्रमशः दिउँसो ४:३० बजे र साँझ ६:०५ बजे दुवै युवकलाई पुरिएको अवस्थामा अचेत फेला पारेको थियो।
नेपाल प्रहरीले उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कालिका बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल…







