पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्री नाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन् । समितिलाई दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन, घटनाको कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र सुझावसहित प्रतिवेदन पेस गर्न कार्य अधिकार दिईएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्यतथ्यसहित ५ दिन भित्र प्रतिवेदन पेस गर्नेछ। साथै, विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत प्रस्तुत गर्नेछ।
नगर प्रमुख आचार्यले विद्यार्थीको सुरक्षा साझा जिम्मेवारी भएको बताउँदै, घटना पुनः दोहोरिन नदिन विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका आचार्यले घटनामा परि ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
पोखरा २८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा विद्यार्थी, चालक तथा सहचालक गरी २२ जना सवार रहेकोमा ५ जनाको ज्यान गएको र अन्य घाइतेहरू उपचार भईरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कालिका बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल…







