विजयादशमीको अवसर पारेर सेफर्ड कलेज काठमाडौंले असहाय सेवा सदनमा रहेका ज्येष्ठ नागरिकसँग खुसी, आत्मीयता र सद्भाव साटासाट गरेको छ ।
दशैँ विशेष कार्यक्रम अन्र्तगत चाडपर्वको खुसीलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई सहयोग प्रदान गर्नुका साथै सांगीतिक प्रस्तुति गरिएको थियो । कलेजको बीआईटी र बीएमटी कार्यक्रमका विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आश्रममा रहेका ज्येष्ठ नागरिकसँग भेटघाट गर्दै दशैँको शुभकामना आदानप्रदान गरेका थिए । यस क्रममा विद्यार्थीहरूले ज्येष्ठ नागरिकबाट टीका तथा आशीर्वाद ग्रहण गरेका थिए भने उनीहरूलाई सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियो । विद्यार्थीका सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो । चाडपर्वको समयमा परिवार र आफन्तसँग खुसी साट्ने परम्परालाई सामाजिक सेवासँग जोड्दै आयोजित कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान, माया र आत्मीयता अभिव्यक्त गर्ने अवसर प्रदान गरेको थियो ।
विद्यार्थी र ज्येष्ठ नागरिकबीचको भेटघाटले पुस्ताबीचको सम्बन्धलाई नजिक बनाउनुका साथै सामाजिक संवेदनशीलता र मानवीय सेवाको महत्व उजागर गरेको थियो ।कार्यक्रममा असहाय सेवा सदनका प्रशासनिक अधिकृत प्रेमराज उप्रेतीले दाताहरूको सहयोगबाट संस्थाले आफ्नो सेवा निरन्तर अघि बढाउन सकेको बताए । दाताहरूबाट प्राप्त सहयोग अमूल्य रहेको उल्लेख गर्दै उनले विद्यार्थीहरूको अग्रसरतामा आयोजित यस्ता कार्यक्रमले नयाँ पुस्तामा सेवाभाव, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । सेफर्ड कलेजका सहायक क्याम्पस प्रमुख प्रेम पुन्थोकीले दशैँको पूर्वसन्ध्यामा मनोरञ्जन र सांस्कृतिक गतिविधिसँगै सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । चाडपर्वलाई व्यक्तिगत खुसीमा मात्र सीमित नराखी समाजका विभिन्न वर्गसँग खुसी बाँड्नु आवश्यक रहेको उल्लेख गर्दै उनले कलेजले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।
कार्यक्रममा कलेजका कोअर्डिनेटर जयराज खड्का, डीभी ग्रुपका एड्भाइजर अभिषेक रोयलगायतको उपस्थिति थियो । आश्रममा आयोजित कार्यक्रमपछि कलेज परिसरमा दशैँ विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिमार्फत चाडपर्वको उल्लास र उमङ्ग साटेका थिए ।शैक्षिक गतिविधिसँगै सामाजिक सेवामा विद्यार्थीको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले दशैँको खुसी, सद्भाव र मानवीय सम्बन्धको महत्वलाई उजागर गरेको कलेजले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कालिका बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल…







