कास्कीमा निर्वाचन आचारसंहिता उल्लघंनका घटना न्युनःमुख्य निर्वाचन अधिकृत बेल्वासे


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले स्वच्छ, निष्पक्ष र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघले पोखरामा आयोजना गरेको निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताका विष्यमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्ने दायित्व सबैको भएको बताए । कास्की जिल्ला अदालतका माननीय न्यायधिश समेत रहेका बेल्वासेले लोकतन्त्रको मेरुदण्ड नै निर्वाचन भएको बताउँदै, निर्वाचन बिथोल्ने कार्यले लोकतन्त्र धरापमा पर्ने संकेत गरे । सामाजिक संजालको भरमा परेर गलत सुचना सम्प्रेषण नगर्न आग्रह गदै उनले निर्वाचनलाई सफल बनाउन पत्रकारको भुमिका पनि सबल रहने स्पष्ट पारे ।न्यायधिश बेल्वासेले अन्य जिल्लाको तुलनामा कास्कीमा निर्वाचन आचारसंहिता उल्लघंनका घटना न्युन रहेको बताउँदै, माईकिङ्ग गरी प्रचार प्रसार गर्ने उमेद्वारलाई सचेत गराउने कार्य भईरहेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले निर्वाचन आचारसंहिताको पालना गरी रिपोर्टिङ गर्न आग्रह गरिन् । पत्रकारले दिने सत्य तथ्य जानकारीले नागरिकलाई जिम्मेवार बनाउने उनले बताईन् । संचार माध्ययम संकटमा रहेको स्वीकार्दै अध्यक्ष शर्माले संकटबाट माथि उठेर पत्रकारले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिईन् । प्रदेश निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले प्रदेशका ११ वटै जिल्लामा निर्वाचन सामाग्री प्राप्त भएको जानकारी दिदैं, प्राप्त सामाग्री मतदानस्थलमा पठाउने तयारी भईरहेको बताए । उनले समाचार संकलनका लागि पत्रकारलाई कुनै अवरोध नहुने स्पष्ट पार्दै, पत्रकारले पनि आचारसंहितामा रहेर सत्य तथ्य रिपोर्टिङ गर्न आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य कृष्ण केसी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्कीका अध्यक्ष माधवप्रसाद बराल,पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्मालगायतले गलत र भ्रामक समाचारले पत्रकारिताको विश्वसनियता नै संकटमा पर्ने बताए ।

गण्डकी प्रदेश भित्रका पत्रकार महासंघका जिल्ला अध्यक्ष र पोखराका क्रियाशील पत्रकारको सहभागिता रहेको कार्यक्रममा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताका बिषयमा जानकारी गराईएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।