छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !- मिना ढकाल


     मिना ढकाल    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित





जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचाररत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन् । तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन् । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतिले मात्रै मेरा सन्तान सलामत छन-म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन् भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन्..। तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ-हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !

-उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!

(साभार: कलाकार मनोज गजुरेलकी पूर्व अर्धाङ्गीनी मिना ढकालले गजुरेलको रिकभरको कामना गर्दै पोस्ट गरेको स्टाटस ढकालको फेसबुक वालबाट)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।